नेपालगन्ज । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित तीनवटा परियोजनाहरुको त्रैमासिक समिक्षा तथा योजना तर्जुमा बैठक गुलरियामा सम्पन्न भएको छ ।
बर्दियामा सञ्चालित शसक्त बालिका परियोजना, ग्रिन इकोनोमि परियोजना र सुरक्षा परियोजनाको तीन महिने समिक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।
सो बैठकको समापन गर्दै बाँके युनेस्को क्लबका कोषाध्यक्ष फिर्दौस जहाँले परियोजनाको योजना तर्जुमा गर्दा त्यसको प्रभावकारिता, पारदर्शिता र दिगोपन सुनिश्चित गर्न बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले परियोजनाको सफलताका लागि गरेको कामको समिक्षा सबैभन्दा अहम भएको जनाउँदै सही समिक्षा भएमा आगामी दिनमा सुधार गर्न र झन राम्रो नतिजा दिन सकिने बताउनुभयो ।
परियोजनालाई प्रभावकारी बनाउन उचित दस्तावेजीकरण र सेट मापदण्ड तथा सूचकहरूको कडा पालना पनि अति आवश्यक रहेको कोषाध्यक्ष जहाँको भनाई थियो । उहाँले परियोजना अगाडि बढ्दै जाँदा गुणस्तर र जवाफदेहिता कायम राख्न सबै कर्मचारीले बिशेष ध्यान दिनुपर्नेमा पनि जोड दिनुभयो ।
बैठकमा सहभागि हुनुभएका बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दीकी, अध्यक्ष रवि कुमार तुलाधर, कार्यकारी निर्देशक गुलामगौस कादरी र कार्यवाहक कार्यकारी निर्देशक गोविन्द लामिछाने लगायतले पनि परियोजनाको समिक्षा र योजना तर्जुमाको बारेमा बिभिन्न सुझावहरु दिनु भएको थियो । सो बैठकमा परियोजनाको ढाँचा भित्र रहेर हालसम्म गरिएका गतिविधिहरू, परियोजनाको उद्देश्य पुरा गर्ने गुणात्मक उपलब्धिहरू, विभिन्न कार्यान्वयन स्तरहरूमा सामना गरिएका चुनौतीहरू तथा सिकेका मुख्य पाठहरू र सहयोगी अनुभवहरूका बारेमा बिस्तृत रुपमा छलफल र बिचार आदान प्रदान गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । सो अवसरमा शसक्त बालिका परियोजनाको योजना तर्जुमाबारे परियोजना संयोजक तथा क्लबका कार्यवाहक कार्यकारी निर्देशक गोविन्द लामिछाने, ग्रिन इकोनोमि परियोजनाको योजना तर्जुमा बारे परियोजना संयोजक राधेकृष्ण थारु र सुरक्षा परियोजनाको योजना तर्जुमा बारे परियोजना संयोजक ईश्वर विकले प्रस्तुतीकरण गर्नु भएको थियो । परियोजनाको समिक्षा फिल्डमा काम गर्ने कर्मचारीहरुले गर्नुभएको थियो ।
संस्थाको संस्थागत विकासका लागि कार्यवाहक कार्यकारी निर्देशक लामिछानेले विभिन्न फिडबैकहरु प्रस्तुत गर्नुभएको थियो । शसक्त बालिका परियोजना बर्दियाको गुलरिया र मधुवन नगरपालिका तथा बढैयाताल गाउँपािलकामा, ग्रिन इकोनोमि परियोजना ठाकुरबाबा र राजापुर नगरपालिकामा तथा सुरक्षा परियोजना राजापुर र मधुवन नगरपालिकामा सञ्चालन भइरहेको क्लबले जनाएको छ ।