काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक आह्वान गरेको छ । सचिवालय बैठक शुक्रबार बिहान ११ बजे जनसंगठनहरूको कार्यालय रहेको स्थान पेरिसडाँडामा बस्नेगरी तय भएको एक सदस्यले बाह्रखरीलाई जानकारी दिनुभयो ।
नेकपाको सचिवालय बैठक पहिलोपल्ट पेरिसडाँडामा बस्न लागेको हो ।
पार्टी एकतालगत्तै नेकपाले धुम्बाराहीलाई मुख्यालय र पेरिसडाँडामा जनसंगठनहरूको कार्यालय राख्ने निर्णय गरेको थियो ।
स्थायी कमिटी बैठकले प्रचण्डलाई पूर्ण कार्यकारी अधिकार प्रत्यायोजन गरेपछि पहिलोपटक पेरिसडाँडामा सचिवालय बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको काम र अरू विषयमा छलफल हुने बताइएको छ ।