राजर्षिजनक विश्वविद्यालयको सातौँ सभामा सम्माननीय प्रधानमन्त्री तथा कुलपति श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको निर्देशनात्मक सम्बोधन

  ।   २०८० माघ १८, बिहीबार ११:५२

काठमाडौ । माननीय शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपतिज्यू,
माननीय मुख्यमन्त्री एवं सहकुलपतिज्यू,
विश्वविद्यालयका उपकुलपतिज्यू,
विद्वान् सभासदज्यूहरू,
उपस्थित सम्पूर्ण महानुभावहरू ।
ज्ञानको तपोभूमि प्राचीन विदेह राज्यको राजधानी जनक नगरी जनकपुरधाममा स्थापित यस राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई सम्बोधन गर्न पाउँदा खुसीको महशुस गरेको छु । यो अवसर विश्वविद्यालयका लागि कोसेढुङ्गा मात्र होइन, ज्ञान, समर्पण र उत्कृष्टताको अथक प्रयासको उत्कर्ष पनि हो ।

जुन भूमिमा राजा जनकले ज्ञानी ऋषिमुनीहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेका थिए, आज त्यही भूमिमा ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यले उनै राजर्षिजनकको नाममा विश्वविद्यालय खोलिनु एकातिर प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको हाम्रो अगाध आस्था र विश्वासको द्योतक हो भने अर्कोतिर संघीय संरचनाअन्तर्गत मधेश प्रदेशमा समाहित रहेको सम्पूर्ण मधेश प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीतिको पनि सम्पुष्टि हो ।
यस अवसरमा म सर्वप्रथम यस राजर्षिजनक विश्वविद्यालयका उपकुलपति एवं सम्पूर्ण सभासद्हरूलाई विश्वविद्यालयको जिम्मेवारी कुशलतापूर्वक वहन गर्दै विश्वविद्यालयलाई एक उत्कृष्ट उच्च शैक्षिक संस्थाको रूपमा विकास गर्न सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

यहाँसम्मको यात्रा तय गर्दा हामीले हाम्रो दूरदर्शी नेतृत्व र प्राज्ञिक संस्थापकहरूप्रति उच्च सम्मान व्यक्त गर्नैपर्दछ, जसले यस विश्वविद्यालयको आवश्यकता र औचित्यबोध गर्दै नीतिगत र प्राज्ञिक मार्गदर्शन गर्नुभएको छ । वर्तमान नेतृत्वले समेत विश्वविद्यालयले गरिमा र प्राज्ञिक छवि निर्माणका निम्ति अनवरत पहल लिइरहनुभएको छ । तसर्थ, तपाईहरूको अथक प्रयास, अटल प्रतिवद्धता, प्राज्ञिक कर्मका निम्ति म हृदयदेखि नै आभार प्रकट गर्दछु ।

विश्वविद्यालयका उपकुलपति लगायतका पदाधिकारीज्यूहरू, प्राध्यापक एवं कर्मचारी साथीहरूको भूमिकासमेत जिम्मेवारपूर्ण रहेको मैले पाएको छु । विद्यार्थीहरूको बौद्धिक पोषणका निम्ति तपाईहरूको साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट बौद्धिक पलायनको भयावह परिस्थिति रोक्न महत्वपूर्ण योगदान पुग्नेसमेत मैले आशा लिएको छु ।

यस संस्थाको पवित्र हलबाट बाहिर निस्कने प्रत्येक स्नातकको उपलब्धि र सफलताहरूमा नै हाम्रो शिक्षाको वर्तमान तस्वीर र भविष्यको दिशा अन्तर्निहित रहन्छ । प्राचीन ज्ञान भण्डारका दृष्टिले विश्वमै अनुपम हाम्रो शिक्षा र शिक्षा पद्धतिलाई यगानुकूल परिस्करण गर्दै राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको हाम्रो प्रमुख कार्यभार र चुनौती पनि हो । विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको वर्तमान परिप्रेक्ष्यमा यही यथार्थलाई आत्मसात गर्दै विश्वविद्यालयको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा गुणात्मक सुधारसहित नवप्रवर्तनमा आधारित प्रतिस्पर्धी शिक्षामा जोड दिनुहुनेछ भन्ने मेरो अपेक्षा छ ।

यस विश्वविद्यालयले स्थापनाको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि विषयहरूमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकोमा आभार प्रकट गर्दै अपेक्षित सफलताका निम्ति क्रियाशील हुन अनुरोध गर्दछु । विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि प्राच्य दर्शन विषयमा एमफिलको कार्यक्रम र गौशाला इन्जिनियरिङ क्याम्पसमा स्नातक तहमा सिभिल इन्जिनियरिङको कक्षा सञ्चालन गर्ने तयारी गरेको जानकारी पाउँदा विश्वविद्यालयले प्राज्ञिक उनन्नयनका साथमा प्राविधिक शिक्षामा जोड दिएको महशुस भएको छ ।

विश्वविद्यालयको आफ्नै भौतिक सम्पत्तिको कमि हुँदा शैक्षिक कार्यक्रमहरू सञ्चालनमा कठिनाइ भएको विषयमा म जानकार छु । आफ्नै जग्गा र भवन पूर्वाधारको अभावमा तपाईहरूले झेल्नुपरेका कठिनाइहरू अर्थतन्त्रमा आउने सुधारसँगै क्रमशः सम्बोधन गरिने विश्वास पनि दिलाउन चाहन्छु ।

विश्वविद्यालयका अन्य प्राज्ञिक कार्यक्रमहरू व्यवस्थित तुल्याउन सरकारको तर्फबाट गर्नुपर्ने नीतिगत र व्यवस्थापकीय सहयोगमा कमि आउन नदिने समेत प्रतिबद्धता व्यक्त गर्दछु ।
अन्त्यमा, सातौँ सभाले लिएका महत्वपूर्ण निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि निर्देशित गर्दछु । धन्यवाद ।

Next Post

सुशासन अभियानमा कर्मचारीको सहयोग महत्वपूर्ण छः प्रधानमन्त्री दाहाल

२०८० माघ १८, बिहीबार ११:५२
काठमाडौँ,  : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारीको योगदान धेरै नै महत्वपूर्ण रहेको बताउनुभयो । सरकारले सुशासन, सामाजिक न्याय र […]