काठमाडौं । वामपन्थी लेखक नरेन्द्रजङ्ग पिटरको संस्मरण–किताब ‘बकपत्र : जीवन दर्शन र संघर्ष’ प्रकाशित भएको छ ।
सोमबार काठमाडौंमा एक कार्यक्रममा किताब सार्वजनिक गरिएको हो । किताबमा आत्मकथात्मक शैलीमा पिटरले आफ्नो जीवनका अनेक आरोह-अवरोह लेख्नु भएको छ ।कार्यक्रममा आख्यानकार नयनराज पाण्डेले लेखक नरेन्द्रजङ्ग पिटर राजनीतिका एक निष्ठावान पात्र भएको बताउनु भएको छ । ‘यो किताब निष्ठावान व्यक्तिको बकपत्र हो । समाजमा इमानदार मान्छे अत्यन्तै कम पाइन्छ ।
अहिले कस्ता मान्छे सत्तामा पुगेका छन् भन्ने विषय लेखक पिटरको जीवनशैलीले पनि देखाएको छ,’ किताबमाथि बोल्दै पाण्डेले भन्नू भयो, ‘यदि पिटरले चाहेको भए अहिले हामी उनलाई सत्ताका माथिल्लो तहमा देख्न सक्थ्यौं र आर्थिक रुपमा पनि उनी समृद्ध हुन्थे ।’
यसैगरी समीक्षक विन्दु शर्माले युद्धमा लागेर पनि पिटरले युद्धका नकारात्मक पक्षलाई संक्षेपमा उतारेको बताउनु भयो । उहाँले भन्नू भो, ‘अत्यन्तै सरल भाषामा आफूले देखे–भोगेका जिन्दगीका पुरानारनयाँ तस्विर किताबमा लेख्नु भएको छ पिटरले ।’
पूर्वप्रशासक शारदाप्रसाद त्रितालले लेखक नरेन्द्रजंगको किताब एक बुद्धिजीविको इमानदार आत्मकथात्मक बकपत्र भएको बताउनु भयो। ‘पूरै किताब पढिरहँदा यो एक कम्युनिष्टले लेखेको गैरआख्यानजस्तो लाग्दैन’, त्रितालले भने, ‘कम्युनिष्टभित्रका विकृतिको व्यापक आलोचना उनका किताबमा छन् ।’
जीवन स्वयं एउटा महाआख्यान भएको बताउनु भयो लेखक पिटरले । ‘प्रत्येकको जीवन विश्वविद्यालय हो,’, उहाँले भन्नू भयो, ‘यो किताब मेरो जीवनको एक बकपत्र हो । मलाई ठक्करको दर्शन सिकाएकोको छ, दगुर्न नसके पनि हिँड्न सिकाएकोमा जिन्दगीलाई धन्यवाद ।’



