संवाददाता, नेपालगंज ।
बाँकेमा आजदेखी कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउन शुरु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार फाइजर खोप सेवा यही असोज १० गते सम्म सञ्चालन हुनेछ ।
बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर, राप्तिसोनारी, बैजनाथ, डुडुवा, नरैनापुरमा स्थानीय तहले तोकेका स्वास्थ्य संस्था तथा खोप केन्द्रहरुमा १२ बर्ष देखि माथीका नागरिकहरुलाई कोभिड–१९ विरुद्धको फाइजर खोपको पहिलो, दोस्रो बुस्टरको पहिलो र दोस्रो मात्रा लगाईनेछ ।
स्वास्थ्य कार्यालयले खोप लिनुपर्ने १२ बर्ष माथिका सबै नागरिकहरुले सम्बन्धित स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा गई सेवा लिनहुन अनुरोध गरेको छ । फाइजर खोपको पहिलो मात्रा १२ बर्ष उमेर देखि माथिका सबै नागरिकहरुलाई लगाउने गरिएको छ ।
दोस्रो मात्रा पहिलो मात्रा लगाएको २१ दिन पछि लगाउन मिल्छ भने बुस्टर पहिलो मात्रा, दोस्रो मात्रा लगाएको ३ महिना पछि लगाउन मिल्छ । र बुस्टरको दोस्रो मात्रा पहिलो बुस्टर लगाएको ६ महिना पछि लगाउन मिल्छ ।