-फोटो प्रेम विश्वकर्मा ।
संवाददाता, नेपालगंज ।
भान्सामा तरकारीका रुपमा प्रयोग हुर्दै आएको च्याउको मूल्य यतिबेला केही घटेको पाईएको छ । केही महिना अघि सम्म एक किलो च्याउको २ हजार ४ सय रुपैयाँ सम्म विक्री गरेका च्याउ व्यापारीले आइतबार साँझ सम्म एक किलोको ६ सय रुपैयाँदेखी ८ सय रुपैयाँसम्म विक्री गरेका छन ।
च्याउ सिजनमा प्राय : दैनिक जसो नेपालगंज स्थित स्थानीय त्रिभुवन चोक र शिव मन्दिर बीचको खुला सडकमै च्याउको विक्री हुने गरेको छ । हिजोआज दैनिक जसो १२–१५ जना सम्म पुरुष च्याउ व्यापारीले करिब एक लाख रुपैयाँ सम्मको च्याउ विक्री गर्ने गरेका छन ।
-फोटो प्रेम विश्वकर्मा ।
च्याउ भुईँमा राख्न साथ किन्नेहरुको भीड नै लाग्ने गरेको छ । बाँकेको हिरमिनीया, राप्ती आसपासका जंगलबाट च्याउ ल्याउने गरिएको च्याउ व्यापारीले बताउने गरेका छन । माछा, मासु नखाने ब्यक्तिहरुको रोजाईमा धेरै च्याउ पर्ने गरेको व्यापारीको बताउँछन ।
च्याउमा भिटामिन र खनिज पदार्थहरु पाइन्छ तर, सबै च्याउ खानयोग्य भने हुँदैनन् । कतिपय च्याउमा मानव शरीरलाई हानी पु¥याउने विषालु तत्व पनि पाइन्छ । विशेषगरी, जंगली च्याउ खाँदा वा टिप्दा ध्यान पु¥याउनुपर्छ । विषालु च्याउ खाएपछि बेलैमा उपचार नपाए बिरामीको मृत्यु समेत हुन सक्छ ।
-फोटो प्रेम विश्वकर्मा ।
कस्तो च्याउ विषालु हुन्छ ?
प्रायःजसो जङ्गलमा पाइने च्याउ विषालु र हानिकारक हुन सक्छन् । नेपालमा पाइने साढे पाँच सय प्रजातिका जङ्गली च्याउमध्ये ५६ प्रजातिका च्याउ विषालु रहेको तथ्याङ्क छ । केही जङ्गली च्याउ खान मिल्ने पनि हुन्छन् । तर केही जङ्गली च्याउ विषाक्त प्रजातिका च्याउसँग मिल्दोजुल्दो हुन्छन् । विष भएका र नभएका जङ्गली च्याउ उस्तै देखिने भएकाले पहिचान गर्न गाह्रो हुन्छ । विषाक्त च्याउ हो-होइन भनेर थाहा पाउन विज्ञलाई पनि गाह्रो हुन्छ ।
च्याउको विषाक्तता भौगोलिक स्थान र वातावरणीय आधारमा भिन्न हुन सक्छ । एउटा क्षेत्रमा खान हुने च्याउ अर्को क्षेत्रमा विषाक्त हुन सक्छ । कुनै बेला विष नभएको च्याउमा पनि उमेर, अवस्था, र स्थान अनुसार परिवर्तन भएर विषालु गुण थपिन सक्छन् ।
विषालु च्याउबाट चोप निस्किन्छ । हेर्दा गाढा रङ्गीन हुन्छ । विषालु च्याउमा घण्टीको आकार वा तराजू जस्तो समतल टोपी हुन्छ । च्याउको तल्लो भागमा सेतो, गुलाबी, वा टोपीसँग विपरीत रङ हुने गिलो हुन्छ । विषालु च्याउ पकाउने बेलामा प्याजसँग मिसाउँदा वा चाँदीका भाँडाले छुँदा कालो भएर आउँछ भनेको पनि सुनिन्छ । केही विषालु च्याउमा यी विशेषता हुन पनि सक्ला, तर सबै विषालु च्याउमा लागू हुँदैन ।
कुनै जङ्गली च्याउलाई किराले खाइरहेका छन् भने त्यो विषालु च्याउ होइन । केही जङ्गली च्याउ काट्दा रङ परिवर्तन भयो भने त्यो विषालु हो भनेर बुझ्ने पनि गरिन्छ । यी केवल सामान्य दिशानिर्देशहरू हुन् र धेरै अपवादहरू ।
विषालु च्याउ खाँदा के हुन्छ ?
कतिपय जङ्गली च्याउ खाँदा स्वादिष्ट भए पनि अन्य धेरै विषाक्त हुन्छन् । जसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउने वा मृत्यु समेत हुन सक्छ ।
विषालु च्याउ खाएको केही सममदेखि २४ घण्टा र एक हप्तासम्म पनि यसको असर देखिन सक्छ । च्याउको विषाक्तताका लक्षणहरू च्याउमा रहेको विष कस्तो हो भन्ने कुरामा भर पर्छ । विषाक्त च्याउको सेवन गरेपछिको केही घण्टा वा केही दिन भित्र लक्षण देखिन सक्छ ।
विषालु च्याउ खाएपछि पेटको तल्लो भाग दुख्ने, चक्कर आउने, बेहोस हुने, छटपटी हुने, आँखा वरिपरि अँध्यारो भएको महसुस हुने, कतिलाई पखाला लाग्ने र बान्ता हुने जस्ता लक्षण पनि देखिन्छन् ।
च्याउमा विषको मात्रा धेरै भए कलेजो र मृगौला र अरु अङ्गहरुमा पनि असर पर्न सक्छ । विषाक्त च्याउको सेवनपछि मुटुको धड्कन अनियमित हुने, रक्तचाप घट्ने, सास फेर्न गाह्रो हुने वा श्वासप्रश्वास रोकिने, अत्यधिक पसिना आउने, ¥याल आउने, शरीर कमजोर हुने, दृष्टि कमजोर बन्दै जाने लगायतका जटिल समस्या देखिन सक्छ ।
कस्तो च्याउ खाने ?
च्याउ खाँदा स्वादिलो हुनुका साथै यसमा शरीरलाई चाहिने भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट जस्ता पोषक तत्वहरु पनि हुन्छन् । च्याउ कम क्यालोरी, फ्याट रहित हुन्छन् ।
किसानले व्यवसायिक तरिकाले उत्पादन गरेर बजारमा बेच्न राखिएको च्याउ किनेर खान सुरक्षित हुन्छ । तर वर्षाको बेला बजारमा केही जङ्गली च्याउ पनि बेच्न राखिएको हुन्छ । त्यसैले बजारमा बेच्न राखिएका च्याउ किन्दा सधैँ ध्यान दिनु पर्छ । आफूलाई शङ्का लागेको च्याउ नकिन्ने वा कस्तो च्याउ हो थाहा नभए व्यापारिलाई सोधपुछ गरेर मात्रै च्याउ किन्नु पर्छ ।
कन्ने अथवा पाते च्याउ, गोब्रे च्याउ, सिताके च्याउ, मिल्की मसरुम लगायतका च्याउको नेपालमा धेरै व्यवसायिक खेती गरिन्छ । यी च्याउलाई सजिलै चिन्न सकिन्छ ।
विषाक्त च्याउ खाएको शङ्का लागे वा लक्षण देखिए के गर्ने ?
विषालु च्याउ खाएपछि लक्षण देखियो भने बिरामीलाई शान्त राख्ने प्रयास गर्नुपर्छ । समय खेर नफाली तुरुन्तै स्वास्थ्य संस्था लैजानुपर्छ । केही विषालु च्याउको असर ढिलो देखिन सक्छ, त्यसैले विषालु च्याउ खाएको शङ्का लागे जति सक्दो चाढो उपचारको लागि स्वास्थ्य संस्था जानु पर्छ ।
घरमै च्याउको विषाक्तताको उपचार गर्ने प्रयास गर्नु हुँदैन । विषाक्त पदार्थ हटाउन बिरामीलाई बान्ता गराउनेतिर लाग्नु हुँदैन । च्याउको विषाक्तताको अवस्थामा, बान्ता प्रभावकारी नहुन सक्छ र थप जटिलताहरू निम्त्याउन सक्छ । डाक्टरको सल्लाहबिना कुनै पनि खानेकुरा वा पेय पदार्थको सेवन गर्न हुँदैन ।
विभिन्न सञ्चारमाध्यमको सहयोगमा…