सञ्चारमन्त्री शर्मासँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

  ।   २०८० आश्विन २, मंगलवार १८:४५

काठमाडौ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यान नेतृत्वको प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग शिष्टाचार भेटवार्ता गरेको छ ।

भेटवार्ताका क्रममा मन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कनेक्टिभिटीको क्षेत्रमा महत्वपूर्ण निर्णय हुने विश्वास व्यक्त गर्नुभयो ।उहाँले भृकुटी र अरनिकोदेखि सुरु भएको नेपाल–चीन सम्बन्ध असल छिमेकी र विश्वासिला सहयोगी राष्ट्रको रुपमा विकास हुँदै गएको पनि बताउनुभयो । राज्यस्तर र जनस्तर दुबै क्षेत्रमा नेपाल र चीनबिचको सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गर्दै उहाँले बेलाबेलामा हुने उच्चस्तरीय भ्रमणबाट सम्बन्ध अझै सुदृढ हुने स्पष्ट गर्नुभयो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि दुई देशबिचको सम्बन्ध थप उचाइँमा उठेको उल्लेख गर्दै मन्त्री शर्माले प्रधानमन्त्रीको चीन भ्रमणपछि आपसी सहयोग आदान प्रदान अझ बढेर जाने विश्वास व्यक्त गर्नुभयो ।

चीनले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा गरेको प्रगतिबाट नेपालले पनि लाभ लिइरहेको उल्लेख गर्दै उहाँले चिनियाँ कम्पनीहरुले पनि नेपालको सूचना प्रविधिको विकासमा राम्रै भूमिका निर्वाह गरिरहेको बताउनुभयो । सूचना प्रविधिका जनशक्ति उत्पादन, साइबर सुरक्षलगायतका सवालमा दुई देशबिच सहायता आदानप्रदान बढाउनुपर्ने उहाँले बताउनुभयो । मिडिया र कनेक्टिभिटीको क्षेत्रमा युनान प्रान्तसँग पनि सहयोग आदानप्रदान गर्न सकिने उहाँले बताउनुभयो । नेपालको मिडिया क्षेत्रको अवस्थाबारे चिनियाँ प्रतिनिधिमण्डलको जिज्ञासामा मन्त्री शर्माले आफूहरुले प्रेस स्वतन्त्रतालाई केन्द्रमा राखेर मिडिया प्रवर्धनको काम गरिरहेको बताउनुभयो । अहिले केही पुराना कानुनको संशोधन र नयाँ कानुन निर्माणका लागि मस्यौदा गरिरहेको उल्लेख गर्दै उहाँले त्यसमा प्रेस स्वतन्त्रता, मिडियाको सवलीकरण र पत्रकारको भौतिक तथा पेशागत सुरक्षालाई ध्यान दिइएको बताउनुभयो ।

सिपिसी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यानले नेपाल र चीनबिचको लामो सम्बन्ध रहेको उल्लेख गर्दै युनान प्रान्त र नेपालबिच भूगोल, वातावरण र बहुजातीय संस्कृतिमा समानता रहेको बताउनुभयो । आफ्नो प्रान्तमा पर्यटनको राम्रो विकास भएको उल्लेख गर्दै उहाँले नेपालमा पनि पर्यटन प्रवर्धनको महत्वपूर्ण संभावना रहेको बताउनुभयो । जनस्तरको सम्बन्ध विस्तार गर्दै एक आपसको सूचना आदानप्रदान सहज गराउन सके विकासमा योगदान पग्ने उहाँले बताउनुभयो । प्रचार विकासको राम्रो माध्यम भएको औल्याउँदै यानले मिडिया क्षेत्रसँग सम्बन्धित सहयोग आदानप्रदानमा आफूहरु इच्छुक रहेको बताउनुभयो । युनान चीनको दक्षिण एशियाली केन्द्र भएकाले यही प्रान्तमार्फत विश्वब्यापीरुपमा सांस्कृतिक आदानप्रदान गर्न सकिने पनि उहाँले बताउनुभयो । भेटमा दुबै पक्षका अधिकारीहरुको सहभागिता थियो ।

Next Post

तस्करको गोदाममा भैरहवा भन्सारको छापा

२०८० आश्विन २, मंगलवार १८:४५
नेपालगन्ज  । भैरहवा भन्सार कार्यालय रुपन्देहीले तस्करको घरमा छापामारी ठुलो परिणाममा कपडा र अन्य मालवस्तु बरामद गरेको छ । जिल्लाको पुर्व दक्षिण पर्ने रोहिणी गाउँपालिका वडा नम्बर ५ तरकुल्लाहमा रहेको महेन्द्र यादव र इश्वर यादवको घरमा आईतवार छापामारी उक्त परिणामको मालवस्तु बरामद गरेको भैरहवा भन्सार कार्यालय रुपन्देहीले जनाएको छ । […]