कोहलपुर ।
मंगलबार अपराह्न्न बाँकेको कोहलपुर स्थित बेस्त चोकमा रहेको कपडा बैंकमा एक जना सर्वसाधारण देखिनुभयो । कपडा बैंकमा राखिएका कपडा उल्टाई पल्टाई गरी आफुलाई चाहिने कपडा छान्दै हुनुहुन्थ्यो ।
उहाँले निकै बेर छान्दा पनि आफुलाई मिल्ने खालको कपडा पाउनुभएन । अन्तिममा एउटा रातो टिशर्ट फेला पर्यो । अनि त्यो टिशर्ट समाउनु भयो, र अलि केही पर गएर सडक छेउको रेलिङ्गबारमा अडिनु भयो ।
उहाँको निलो हापपाइट, खैरो टिशर्ट, काँधमा सेतो गलबन्दी, शिरमा नेपाली ढाँका टोपी थियो, तर सबै पुरानो । सडक छेउको रेलिङ्गबारमा एक छिन उभिएर यता उता पल्याग पुलुक हेर्नुभयो ।
अनि त्यही खैरो टिशर्टमा कपडा बैंकबाट निकालेको रातो टिशर्ट पहिरिइनु भयो । त्यसपछि कतै नहेरी सिधै चौराहतिर लम्कीनु भयो । यो त एउटा उदाहरण मात्रै हो । अहिले पनि कति जना ब्यक्ति कपडाको अभावमा छन ।
कपडा विहीनहरुलाई पुरानो होस अथवा नयाँ सक्नेले सार्वजनिक ठाउँमा बनाईएका कपडा बैंकमा लगेर राखिदिँदा खाँचो परेकाले आफै लिन सक्छन । यसले थोरै भए पनि कपडा विहीनहरुलाई राहत पुग्छ, नाङगो शरीर लिएर हिँड्नु पर्ने बाध्यता रहँदैन ।
बाँकेको कोहलपुर र नेपालगंजको गणेशमान चोकमा रहेका कपडा बैंकहरुलाई अझै ब्यवस्थित गर्न आवाश्यक देखिन्छ । र त्यहाँ राखिएका कपडाहरु राम्ररी धोइ, पखाली, र्निमलीकरण गरिएका मात्र राखिदिँदा कुनै रोग, संक्रमण सर्ने, फैलने संम्भावना पनि रहँदैन ।
केही महिना अघि सम्म नेपालगंजको धम्बोजी चोकमा राखिएको कपडा बैंकबाट पनि धेरै सर्वसाधारणले लाभ लिएका थिए । तर अहिले त्यो कपडा बैंक हटाएको छ । किन हटाईयो, त्यसको जानकारी त्यहाँ सम्बद्ध कसैले, कतै राखेको को देखिन्न ।
अहिले कोभिड–१९ को विश्वब्यापी माहामारीका बेला खाद्य बैंकको चर्चा पनि भइरहेको छ ।
यस्ता कार्य संञ्चालन गर्दा सम्बद्ध सरोकारवाला ब्यक्तिहरुले स्थान छनौट, लक्षित ब्यक्तिहरु आउजाउ, बसाई लगायतका बारेमा ध्यान दिन सके अझ प्रभावकारी बन्ने संम्भावना रहँन्छ ।