नेपालगञ्ज, बैशाख २० गते । दोस्रो लहरको कोरोना संक्रमणका कारण हटस्पट बनेको बाँकेमा संक्रमितको उपचारमा सहज होस भन्ने उदेश्यले प्लान नेपालले बाँकेका दुई वटा गैर सरकारी संस्था मार्फत ठुलो परिमाणमा स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
बाँके युनेस्को क्लब र गेरुवा ग्रामिण समाज संघ मार्फत प्लान नेपालले सोमवार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सो सामाग्री हस्तान्तरण गरेको हो ।
पश्चिम नेपालका अधिकांश गम्भीर संक्रमितको उपचार गर्दै आएको भेरी अस्पताल र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित एक समारोहमा सो सामाग्रीलाई क्लबका अध्यक्ष राजेन्द्र चौधरी, गेरुवा ग्रामिण समाज संघका अध्यक्ष कृष्ण जंग शाह र प्लान नेपालका संयोजक जनक गिरीले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी गेलाललाई हस्तान्तरण गर्नुभयो भने प्रजिअले भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापालाई हस्तान्तरण गर्नुभयो ।
प्रदान गरिएका सामाग्रीहरुमा पीपीई ५५० सेट, सर्जिकल मास्क, एन ९५ मास्क, सेनिटाइजरका बोतल तथा जारहरु, थर्मामिटर, सर्जिकल ग्लोब्स, फेसशिल्ड, स्प्रे ट्यांक र डिगनीटी किट गरेर २४ लाख १८ हजार रुपियाँ भन्दा बढी मूल्यका सामानहरु रहेका छन् ।
सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी गेलालले संक्रमित एक्कासी ठुलो संख्यामा बढेकोले समस्या भएको जनाउँदै तर अहिले आएर चारैतिरबाट सहयोग प्राप्त हुन थालेकोले केही राहात महसुस भएको बताउनुभयो । उहाँले यस संकटको घडीमा सहयोग गर्ने सबै संघसंस्थाप्रति आभार पनि प्रकट गर्नुभयो ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सञ्चालन गर्नु भएको सो कार्यक्रममा प्लान नेपालका संयोजक गिरीले प्लानले कोभिड विरुद्धको अभियानमा गैर सरकारी संस्थासंग मिलेर अस्पताललाई सहयोग गर्दै यो लडाईमा एकेबद्धता जनाएको बताउनुभयो ।
यसैगरि गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले कोभिड १९ विरुद्धको अभियानमा जिल्लाका गैर सरकारी संस्थाहरुले शरुबाटै सहयोग गर्दै आएको बताउनुभयो ।
सो अवसरमा बाँकेका प्रहरी प्रमुख एसपी ओम राना, शसस्त्र प्रहरीका एसपी अशोक बम, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहलगायतको उपस्थिति रहेको थियो ।