नेपालगन्ज । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव मातृकाप्रसाद यादवले जनजनमा माओवादी मनमनमा माओवादी हुनुपर्नेमा पछिल्लो समयमा माओवादीका नेताहरु जनतासँग डराउन थालेको बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीको विस्तारित वैठकलाई सम्बोधन गर्ने क्रममा शनिवार नेपालगन्जमा माओवादी नेता यादवले यस्तो बताउनु भएको हो ।
माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज समेत रहेका केन्द्रीय उपमहासचिव यादवले नेताहरुले चुनाव जित्ने बेलामा जनताको मतले जित्ने, चुनाव जितेर पदमा पुगिसकेपछि जनतालाई बिर्सने गरेको बताउनु भयो । ‘जनताले नै चुनाव जिताए, नेता बनाए, सांसद बनाए, मन्त्री बनाएर कुर्सीमा पुर्याए तर माओवादी नेताहरु अहिले जनता र कार्यकर्तासँग डराउन थालेका छन् । जनता र कार्यकर्ताले केही माग्छ कि ! कतै जागिर लगाइदे ! भन्छ कि भनेर ।’ – यादवले भन्नुभयो ।
नेता यादवले सर्वप्रथम नेता आफैवाट रुपान्तरण हुनुपर्ने बताउनु भयो । नेताहरु अब सच्चिएर जनतासँगको समन्वय र सम्बन्ध सधै कायम राख्नु पर्ने बताउदै उहाँले माओवादी सधैभरी जनताप्रति समर्पित हुनुपर्नेमा जोड दिनुभयो । होटलमा कार्यक्रम राखेर नेताले भाषण गर्दैमा माओवादी रुपान्तरित नहुने भन्दै उहाँले जनताको घरमा जाने, जनताको घरमा बस्ने, जनताको घरमा खाने र जनताकै बिचमा कार्यक्रम गर्नुपर्ने बताउनु भयो ।
नेता यादवले अहिले माओवादीको जात नै नभएको भन्न समेत छुटाउनु भएन । ‘हामीले कहिले एमालेसँग संगत गर्यौं, कहिले को सँग गर्यौं ? अहिले काङ्ग्रेससँग संगत गरेका छौँ, जोसँग संगत गरिन्छ फल उस्तै मिल्छ । अहिले हाम्रो जात छैन, हामीले हाम्रो जात बिर्सिएका छौँ ।’ उहाँले भन्नुभयो – ‘सर्वप्रथम हामी आफैबाट आत्मालोचना गरौं, हामी आफै सच्चिऔं र माओवादीको विचार तथा नीति लगेर जनतासम्म गाउँ गाउँ घर घर पुगौं ।’
नेकपा माओवादी केन्द्रले यहि भदौ १६ गतेदेखि देशैभर ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ मूल नाराका साथ तीन महिने “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान” सञ्चालन गर्दैछ । त्यसैको तयारी स्वरूप नेपालगन्ज उपमहानगरपालिका कमिटीले शनिबार नेपालगन्जमा विस्तारित बैठकको आयोजना गरेको हो ।