सदनको गतिरोध अन्त्य गर्न सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण

  ।   २०८० श्रावण २६, शुक्रबार १२:३८

संवाददाता ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा रहेका सबै राजनीतिक दललाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गर्नुभएको छ ।

राष्ट्रपति पौडेललाई भेट्न आज बिहान सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना राष्ट्रपति कार्यालय शीतल निवास जानुभएको थियो । बिहान १० बजेदेखि आधा घण्टा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले ‘संसदमा देखा परेको राजनीतिक गतिरोध फुकाउन के भइरहेको छ ?’ भनी चासो राख्नुभएको थियो ।

जवाफमा सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले सदन खुलाउन गरेको पहल र आन्तरिक छलफलबारे राष्ट्रपतिलाई जानकारी गराएको सभामुखमा प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिनुभयो ।

साथ–साथै सभामुख घिमिरेले ‘अविभावकको नाताले पहल हुन्छ भने गरिदिनुस्’ भनेर राष्ट्रपतिसमक्ष सदन खुलाउने प्रयासका लागि सहयोग माग्नुभएको थियो ।

त्यसपछि राष्ट्रपति पौडेलले सबै राजनीतिक दललाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते यता संघीय संसदको दुवै सदनको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन ।

Next Post

नक्कली शैक्षिक प्रमाणपत्रवाला डाक्टरहरु पक्राउ

२०८० श्रावण २६, शुक्रबार १२:३८
संवाददाता । नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंबाट थप एक जना चिकित्सकलाई पक्राउ गरेको सिआइबीका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सुमेरू सिटी हस्पिटलका डाक्टर पुनम थापा चौधरी पक्राउ परेकी हुन् । उनलाई काठमाडौंस्थित घरबाट […]

सम्बन्धित शीर्षक