खरिद संरचनामा फेरबदल

राप्ती, भेरी र खजुरा स्थित क्यान्सर अस्पतालका स्वास्थ्य उपकरणमा ९१ करोड बढीको अनियमित्ता

  ।   २०८० असार २७, बुधबार ११:२७

  • प्रेम विश्वकर्मा, बाँके ।

स्वास्थ्य उपकरणको लागत अनुमान तयार गर्दा चलखेल गरी ९१ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको अनियमित्ता भएको पाईएको छ । लागत अनुमान यर्थात परक बनाउनुपर्नेमा नियममा भएको ब्यवस्था विपरित लागत अनुमान तयार पारी अनियमित्ता गरेको पाईएको हो ।

जसमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्ग, भेरी अस्पताल नेपालगंज र सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा रहेका छन । यी अस्पतालले स्वास्थ्य उपकरण खरिद गर्दा आपूर्तिकर्ता सँग माग गरेको औसत दररेटलाई आधार लिई लागत अनुमान तयार गरेका छन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लान्ट, एमआरआई मेसिन र डीआर एक्सरे मेसिनको लागि १९ करोड ४४ लाख ८३ हजार रुपैयाँ, भेरी अस्पताल नेपालगंजले एमआरआइ मेसिनको २३ करोड ९३ लाख ६९ हजार रुपैयाँ र सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा बाँकेले लिनियर मेसिनको २४ करोड ९९ लाख ९० हजार रुपैयाँको लागत अनुमान तयार गरेका हुन ।

महालेखापरीक्षकको साठिऔं वार्षिक प्रतिवेदन २०७९ ले पनि यस बिषयमा टिप्पणी गरेको छ । यसैगरी भेरी अस्पताल नेपालगंजले एमआरआइ मेसिन आपूर्ति नहुर्दै पेश्की समेत नजनाई एउटा आपूर्तिकर्ता सँग सम्झौता गरी २२ करोड ८९ लाख ५५ हजार रुपैयाँ खर्च गरेको पाईएको छ ।

खरिदमा भएको ब्यवस्था :

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११ मा सार्वजनिक निकायले मालसमानको लागत अनुमान तयार गर्दा निकाय वा त्यस्तो सार्वजनिक निकाय रहेको जिल्लाको अन्य सार्वजनिक निकायले चालू वा अघिल्लो बर्षमा सोही प्रकृतिको खरिद गर्दा लागेको वास्तविक लागत, स्थानीय बजारमा प्रचलित दरभाउपत्र, अन्य बजारको प्रचलित दरभाउपत्र र मालसमान आपूर्ति गर्ने स्थान सम्म लाग्ने अनुमानित ढुवानी खर्च र उद्योग वाणिज्य संघले जारी गरेको दरभाउपत्रलाई आधार मानी लागत अनुमान गर्नुपर्ने तथा विदेशबाट आयत हुने वस्तुको अन्र्तराष्ट्रिय बजार मूल्य लिई लागत अनुमान तयार गर्नुपर्ने ब्यवस्था रहेको छ ।

न्यूनतम सेवाको मापदण्ड :

प्रभावकारी नियमनको अभावले देशका धेरै सरकारी अस्पतालमा अहिले पनि न्यूनतम सेवाको मापदण्ड पुरा हुन सकेको छैन । सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड, २०७५ ले तोकेको न्यूनतम मापदण्ड पुरा गरी अस्पताल सञ्चालन गर्नुपर्ने ब्यवस्था छ ।

जसअनुसार भेरी अस्पतालले न्यूनतम सेवा मापदण्ड अंक ६७ प्रतिशत प्राप्त गरेको छ । देशका ११ वटा सरकारी अस्पतालको अनुगमन गरी तयार गरिएको नतिजा फाइललाई अध्ययन गर्दा भने भेरी अस्पतालले सबैभन्दा बढी अंक प्राप्त गर्न सफल भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले न्यूनतम सेवा मापदण्डमा उपचार गर्न आवाश्यक मेसिन, औजार, कोठा, अपरेशन गर्ने ठाउँको आधारमा उपचारात्मक सेवाको सूचकलाई ६० प्रतिशत भार, फोहोर व्यवस्थापन, औजार उपकरणको निर्मलीकरण, बिजुली बत्ति, स्वच्छ खानेपानीको आधारमा अस्पताल सहयोग सूचकलाई २० प्रतिशत भार र सुशासन तथा व्यवस्थापन अन्र्तगत आवाश्यक जनशक्ति, जिम्मेवारी, लेखा प्रणालीको सूचकलाई २० प्रतिशत अंक भार दिई त्यसैको आधारमा अनुगमन गरेको थियो ।

मोबाइल अस्पताल :

मोबाइल अस्पताल सञ्चालन सम्बन्धि कार्यविधि बन्न नसक्दा मोबाइल अस्पतालका स्वास्थ्य उपकरणहरु पनि त्यसै थन्कीएका छन । नेपाली सेनालाई २०७२ को भूकम्प पछि प्राप्त २ वटा मोबाइल अस्पताल सैनिक स्वास्थ्य महानिर्देशनालयले फिल्ड अस्पताल नेपालगंज र वीरेन्द्र अस्पताललाई हस्तान्तरण गरेको थियो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा वैदेशिक सहायतामा प्राप्त जिन्सी मालसमान, सवारीसाधान, उपकरण समेतको आम्दानी बाँधी लगत खडा गर्ने, सोको सञ्चालन एवं मर्मत सम्भार तथा प्रयोग गरी सेवा प्रवाह गर्ने लगायतका कार्यसम्बन्धमा ब्यवस्था रहेको छ ।

के हो ? बेरुजू , अनियमित्ता, भ्रष्टाचार :

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २ (त) मा प्रचलित कानुन बमोजिम पुर्याउनु पर्ने रीत नपुर्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औल्याईएको वा ठहर्याएको कारोबारलाई बेरुजूको रुपमा परिभाषित गरिएको छ ।

यसैगरी काम अनियमित भएको, विधि सम्वद नभएको बिषयलाई नै अनियमित्ता भएको भनेर परिभाषित गरिएको छ । कुनै पनि ब्यक्तिले आफ्नो पदीय मर्यादा विपरीत गर्ने सबै किसिमका गैरकानुनी र अनैतिक क्रियाकलापहरूलाई भ्रष्टाचार भनिन्छ ।

सार्वजनिक पदमा रहेका पदाधिकारीहरूले आफूमा रहेको शक्ति र अधिकार व्यक्तिगत हित वा फाइदा पु¥याउनको लागि प्रयोग गर्नु नै भ्रष्टाचार हो । विश्व बैङ्कका अनुसार व्यक्तिगत फाइदाको लागि सार्वजनिक ओहदा र शक्तिको दुरुपयोग नै भ्रष्टाचार हो ।

ट्रान्सपरेन्सी ईन्टरनेशनलका अनुसार सार्वजनिक क्षेत्रमा चाहे त्यो राजनीतिक वा प्रशासनिक होस उनीहरूलाई गरिएको विश्वास वा सुम्पिएको कार्यको गलत र गैर न्यायिक प्रयोग नै भ्रष्टाचार हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २ (क) मा “भ्रष्टाचार” भन्नाले परिच्छेद–२ अन्तर्गत सजाय हुने कसुर सम्झनु पर्छ भनी उल्लेख गरेको पाइन्छ । यसरी हेर्दा बेरुजू, अनियमित्ता पनि भ्रष्टाचार अन्तर्रगतकै चावी (साँचो) हुन ।

Next Post

नेटोका कारण तेस्रो विश्वयुद्ध नजिकिएको रुसी भनाई

२०८० असार २७, बुधबार ११:२७
एजेन्सी । रुसले नेटोका कारण तेस्रो विश्वयुद्ध नजिकिएको बताएको छ । लिथुआनीयामा नेटो शिखर सम्मेलन चलिरहेको बेला रुसको शक्तिशाली सुरक्षा परिषदका उपसचिव दिमित्री मेदभेदेवले नेटोको बढ्दो युक्रेन सहयोगले तेस्रो विश्वयुद्धलाई नजिक ल्याइरहेको बताउनु भएको हो । पश्चिमाहरुको विवेकहीन युद्धमोहले घातक अन्त्य बाहेक अरु केही निम्त्याउँदैन र त्यो भनेको तेस्रो विश्वयुद्ध […]