संवाददाता ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतीय कम्पनीबाट उत्पादित अर्को एक कफ सिरप (रुघा खोकीको औषधि) दूषित पाइएको जनाएको छ ।
डब्ल्यूएचओका अनुसार भारतको पन्जाबस्थित क्यूपी फर्माकेम लिमिटेडले उत्पादन गरेको गुइफेनेसिन टिजी सिरपमा कैफियत पाइएको हो ।
ल्याब परीक्षण गर्दा उक्त सिरपमा डायथिलिन ग्लाइकोल र एथिलिन ग्लाइकोलको मात्रा आवश्यकताभन्दा बढी पाइएको डब्ल्यूएचओले जनाएको छ । यी दुवै कम्पाउण्ड मानिसलाई विष समान हुने र अधिक मात्रामा सेवन गरेमा ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
डब्ल्यूएचओले यो दूषित कफ सिरफ मार्शल इग्ल्याण्ड र माइक्रोनेशियामा पाइएको जनाएको छ । यद्यपि संगठनले यो सिरपबाट कोही विरामी भए-नभएको वा कसैको ज्यान गए-नगएको भन्नेबारे केही खुलाएको छैन ।
क्युपी फार्माकेमका प्रबन्ध निर्देशक सुधीर पाठकले नियामक निकायको अनुमति पाएपछि आफूहरुले १८ हजार ३४६ बोतल औषधि कम्बोडियामा पठाएको तर प्रशान्त क्षेत्रका मार्शल इग्ल्याण्ड र माइक्रोनेशियामा कसरी पुग्यो भन्ने थाहा नभएको बताएका छन् ।
यसअघि डब्ल्युएचओले भारतकै मेरियन बायोटेकले उत्पादन गरेको ‘डक–१ म्याक्स’ नामको कफ सिरप सेवन गर्दा उज्वेकिस्तानमा २० बालबालिकाको मृत्यु भएको जनाएको थियो ।
यसैगरी मेइडन फर्मास्युटिकल्सले उत्पादन गरेका कोफेक्सम्यालिन बेबी कफ सिरप, मेकफ बेबी कफ सिरप र म्याग्रिप एन कोल्ड सिरप पनि दूषित रहेको भन्दै प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।
डब्ल्यूएचओका अनुसार बच्चाले सेवन गर्ने यी औषधिबाट पश्चिम अफ्रिकी मुलुक गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएको थियो । बीबीसीका अनुसार भारतले विश्वको एक तिहाइ औषधि उत्पादन गर्दछ । त्यसैले भारतलाई ‘विश्वको औषधि पसल’ पनि भनिन्छ ।
अनलाइन खबरबाट