सामुदायिक विद्यालय : वर्तमान र भविष्य

  ।   २०८० बैशाख १५, शुक्रबार १६:०९

File photo.

  • मनवीर नेपाली

वर्षेनी हजारौंको संख्यामा रुपैयाँ लाखौं खर्चेर राम्रो शिक्षाको प्रलोभन वा आशामा बिदेशिनु पर्ने बाध्यता छ । यसले देशको पैसा विदेश गईरहेको छ भने देशमा करोडौं खर्चेर संचालनमा रहेका विश्व विद्यालयहरुमा बिद्यार्थीहरुको अभाव छ ।

सामुदायिक विद्यालयमा निःशुल्क पढाइ, निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा, सेनेटरी प्याड, छात्रवृत्ती, इन्टरनेट सेवा लगायतका थुप्रै कार्यक्रम लागू गरेर सरकारले सामुदायिक विद्यालयहरुलाई अब्बल बनाउन प्रयास जारी गरिरहेका बेला वर्षेनी यि बिद्यालयमा बिद्यार्थीको संख्या घट्दो क्रममा छ ।

शिक्षा तथा मानवश्रोत विकास केन्द्रका अनुसार आधारभूत तहमा सामुदायिक तर्फ २०७४ मा ५८ लाख ३७ हजार विद्यार्थी भर्ना भएका थिए भने गत बर्ष ५३ लाख २५ हजार मात्र भर्ना भएका थिए । उता निजीमा सोही तहमा पाँच बर्ष अघि ९ लाख ८० हजार भर्ना भएका थिए भने २०५८ मा १४ लाख ४६ हजार बिद्यार्थी भर्ना भएको तथ्याङ्कले देखाउँछ ।

जनसंख्या घटेको हुनाले बालबालिकाको संख्या पनि घटेकोले गर्दा भर्ना दर पनि घटेको केन्द्रका अधिकारीहरुको भनाई छ । हुनपनि गत बर्ष सामुदायिक तथा निजी विद्यालयमा भर्ना हुनेको संख्यामा ९ प्रतिशतले कमी आएको महालेखा परिक्षकको प्रतिवेदनमा उललेख छ । हाल आधारभूत तहका कुल बिद्यार्थी मध्ये ७३ प्रतिशत सामुदायिकमा र २७ प्रतिशत निजीमा अध्ययनरत छन भने ५ बर्ष पहिले ८० प्रतिशत विद्यार्थी सामुदायिकमा र २० प्रतिशत विद्यार्थी निजीमा अध्ययन गर्दथे । बि.सं. २०७४ देखि २०७८ सम्मको हिसाव गर्ने हो भने ५ बर्षमा सामुदायिकमा १० लाख बिद्यार्थी घटेको तथ्याङ्क हामी पाउँछौं ।

हाल २७ हजार ८ सय सामुदायिक विद्यालय मध्ये ४ सय २२ वटामा मात्र नमुना विद्यालय कार्यक्रम लागू भएको अवस्था छ । नमुना विद्यालयमा भने विद्यार्थीको कमी छैन । किन भने नमुना विद्यालयहरुले थुप्रै प्रकारको अनुदानहरु पाउने ब्यवस्था सरकारले गरेको छ । यि विद्यालयहरुले पुस्तकालय, प्रयोगशाला, भवन, आवाशिय सुविधा, खेल मैदान, घेरवार, बगैचा, खानेपानी र सरसफाईका लागि अनुदान पाउदँछन ।

सहरी क्षेत्रमा निजी विद्यालयहरुमा गुणस्तरिय शिक्षा, सरसफाई, नियमित गृहकार्य जाँच, अतिरिक्त क्रियाकलापहरुका कारण अभिभावकहरु आकर्षित भएको देखिन्छ र अर्को कुरा सामाजिक हैसियत देखाउनका लागि पनि निजी विद्यालयहरु अभिभावकको आर्कषणका केन्द्रबिन्दु बनेका छन ।

अर्को तर्फ सामुदायिक विद्यालयहरुमा निजीको हाउँगुजी जस्तै डर पसेको छ । ऊ राम्रो छ । अनि हाम्रोमा उत्कृष्ट केही छैन । र, अर्को कुरा हाम्रो तलव र अन्य खर्च सरकारले दिई राखेको छ । विद्यार्थी आए पढाईदिउँला न आए के छ र ? आदि ।

विद्यालय शिक्षा कक्षा १ देखि कक्षा १२ कक्षामा भर्ना भए पनि बीचैमा कक्षा छाडेर, अनुत्तीर्ण भएर र विविध कारणले पढाई पुरा नगर्ने विद्यार्थीको संख्या धेरै छ । भर्ना भएका मध्ये १० कक्षा सम्म टिकाउदर ५७ प्रतिशत र कक्षा १२ सम्म १७ प्रतिशत मात्र छ । पढाइ छाड्नुको धेरै कारण छन । ति मध्ये गरिबी नै मुख्य कारण हुने गरेको कुरा धेरै अध्ययनले बताई सकेका छन ।

वर्षेनी हजारौंको संख्यामा लाखौं रुपैयाँ खर्चेर राम्रो शिक्षाको प्रलोभन वा आशामा बिदेशिनु पर्ने बाध्यता छ । यसले देशको पैसा बिदेश गईरहेको छ भने देशमा करोडौ खर्चेर संचालनमा रहेका विश्व विद्यालयहरुमा विद्यार्थीहरुको अभाव छ ।

अर्को महत्वपुर्ण कारण भनेको सामुदायिक विद्यालयहरुका अभिभावकहरु विद्यालयप्रति त्यति धेरै जिम्मेवार पनि देखिदैनन् । उनीहरुले सोच्दछन की बिद्यालय पठाएकै छ । पढेर आईहाल्छ नी । शिक्षकहरुको धारणा पनि उस्तै छ । नियमन गर्ने निकायले राम्रोसंग र नियमित तरिकाले नियमन नगरिदिंदा शिक्षकहरुले सोच्दछन की पढाए पनि भयो नपढाएपनि भयो । यो सबैका लागि त होईन तर अधिकाँश यस्तै पाईन्छ ।

समस्याहरु त थुप्रै छन । तर…हामीसंग उपायहरु पनि छन । जब सम्म सामुदायिक विद्यालयहरुलाई अभिभावकहरुले यो मेरो बिद्यालय हो । सरकारको लगानीमा मेरो पनि अंश छ भनेर अभिभावकहरुले बुझ्नु हुंदैन तब सम्म सामुदायिक विद्यालयहरुको अवस्था यस्तै रहन्छ भन्दा त्यति अत्युक्ती नहोला ।

सामुदायिक विद्यालयमा निजीमा भन्दा अवसरहरु धेरै छन । माथि नै भनिसकियो कि नमुना विद्यालयहरुमा थुप्रै प्रकारको अनुदानहरु पनि आउँछ । अन्य विद्यालयहरमा पनि सुबिधाहरु प्रशस्तै । जस्तै शुल्क तिर्नु पर्दैन । दलित तथा अन्य बाल बालिकाहरुका लागि छात्रबृत्तीहरुको सुविधा हुन्छ । अन्य भौतिक श्रोतहरु पनि बलिया र राम्रा हुन्छन । तालिम प्राप्त शिक्षकहरुको उपलब्धता रहेको हुन्छ ।

–यस प्रकारको अवसरलाई उपयोग गर्नु आजको आवश्यक्ता हो । यसका लागि विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यहरुका बाल बालिकाहरु आफ्नै बिद्यालयमा पढाउनु पर्ने प्रावधान हुंदा–हुदै आफ्ना बालबालिका निजीमा पढाउने र नक्कली अभिभावक बनेर पद ओगट्ने, राजनैतिक बर्चश्वका आधारमा यस्ता समितिहरुमा बस्न मिल्ने, स्थानिय स्तरमा शिक्षक नियुक्ती आफ्नालाई गरिदिनु जस्ता प्रबृत्ती छ । यसलाई आजकै दिनबाट निर्मूल पार्नु पर्दछ । शिक्षा क्षेत्रमा भईरहेको अराजकता र भ्रष्टचारहरु आजैका दिन बाट हटाईनु पर्दछ ।

–धेरै समयको पैरवी र पृष्टपोषण पश्चात हाल पाठ्यपुस्तक विद्यालयहरुमा पुगेका छन । ति पाठ्य पुस्तकहरुलाई उचित तरिकाले बितरण गर्ने र सुरक्षित तरिकाले अध्ययन गर्ने र अर्को बर्ष नयाँ विद्यार्थीलाई उपलब्ध गराउने प्रचलनको विकास आवश्यक छ । अन्यथा हरेक बर्ष करोडौं पैसा पुस्तक छपाईमा खर्च हुने देखिएको छ । यस प्रकारको लाप्रवाह लाई पनि निरुत्साहित गर्न जरुरी छ ।

–आफूले पढाउने विद्यालयका शिक्षकहरुले आफ्ना छोरा–छोरी सोही बिद्यालयमा अध्ययन गर्ने नियम कडाईका साथ ल्याउनु पर्ने देखिन्छ ।

–आफू बि.ब्य.स. वा शि.अ.स. जस्ता समिति वा अन्यमा संलग्न भएका अभिभावकका छोरा–छोरी सोही विद्यालयमा अध्ययन गर्ने नियम कडाईका साथ ल्याउनु पर्ने देखिन्छ । पदका लागि पदमात्रको काम गर्ने हो कि साँच्चैको काम गर्ने हो ? भन्ने प्रश्नहरु पनि आईरहेका छन । अधिकाँश विद्यालयहरुमा समाजका प्रतिष्ठित ब्यक्तित्वहरु बि.ब्य.स. का अध्यक्ष बनाउने तर उहाँहरुका बालबालिका अन्य निजी विद्यालयहरुमा पढ्ने गरेका पनि छन । प्रतिष्ठाका लागि मात्र पद चाहिएको हो कि ? वा विद्यालयमा सहभागि भएपछि बिद्यालयको प्रगतिको कुरा पनि गर्ने ?

–दुर्गमका विद्यालयहरुका पीडा अझ दुःखदायि छन । विद्यालयमा केन्द्रबाट शिक्षकहरु जाने चलन हुन्छ । बिहान विद्यालय जाने र साँझ पुनः आफ्नो घर वा केन्द्रमा नै फर्किने प्रबृत्ती अहिले पनि छ । वास्तवमा विद्यालय घर भन्दा पनि सहज र सुविधा सम्पन्न हुनु पर्दछ ।

–हामीले भन्ने गरेको वास्तविकता चै बाल बालिका संवेदशील हुन्छन । उनीहरुलाई धेरै ध्यान दिन आवश्यक छ । र, घरमा सोही अनुसार ब्यवहार पनि अलि अलि गर्दछौं तर बिद्यालय गयो भने : स्वच्छ पिउने पानीको ब्यवस्था छैन । ट्वाईलेट गयो पानी हुँदैन । फोहोर राख्ने डस्टवीन छैन । विद्यालयहरुमा उचित वा सुबिधा सम्पन्न भान्सा हुँदैन । दिवा खाजा खुवाउने विद्यालयमा हेर्यो भने प्रस्ट हुन्छ । भान्सा धुलाम्मे हुन्छ । भाँडाकुडीहरु प्रफेक्ट सफा हुँदैनन् । चुल्हो धुवायुक्त हुन्छन । खाना÷खाजा खाने प्लेटहरु पनि राम्रो संग सफा नगरेका पाईन्छन । कति लाप्रवाह हुन्छ । कल्पना पनि गर्न सकिंदैन । अरु बिज्ञान प्रयोगशाला, पुस्तकालयहरु त अलि परैको कुरा हो ।

–अतिरिक्त क्रियाकलापहरुको पनि बिद्यार्थी आकर्षण गर्न निकै महत्वपुर्ण भूमिका हुन्छ । त्यस्ता क्रियाकलापहरु कागजमा मात्र सिमित छन । हुने गरेता पनि औपचारिकताका लागि मात्र हुने गरेका छन । कार्यक्रम अलि ब्यवस्थित तरिकाले गर्ने । त्यसको अभिलेखन गर्ने र त्यो भन्दा अझ राम्रो गर्ने । पृष्ठपोषण आदान प्रदान गर्ने जस्ता कार्य हुँदैनन् । कार्यक्रमको नाममा औपचारिक्ता मात्र हुने गरेको छ । म कुनै नमुना भनिने विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तरगत वादविवाद कार्यक्रममा सहभागि हुने अवसर मिल्यो र उपस्थित भएँ । तर उक्त कार्यक्रममा न बिषय बस्तुको शिर्षक मिलेको थियो । न बिद्यार्थीले राम्रो संग तयारी नै गरेका थिए । अच्चम लाग्यो । तर कार्यक्रम सम्पन्न भयो । यसबाट विद्यार्थीले के सिक्यो ? अर्को कार्यक्रम कसरी गर्ने ? भन्ने बिषयमा समिक्षा समेत भएन । यसरी सतही तरिकाले काम गर्ने प्रबृत्तीले विद्यार्थीले नविनतम के सिक्छ ?

–शैक्षिक भ्रमण पनि अतिरिक्त क्रियाकलापहरुमा नै पर्दछ तर शैक्षिक भ्रमण पनि त्यस्तै सतही ढंगले नै सम्पन्न गरिन्छ । थुप्रो पैसा खर्च हुन्छ तर उपलब्धी शुन्य जस्तै हुन्छ । बिषयगत शैक्षिक भ्रमण हुन जरुरी छ । जस्तो बिज्ञान बिषयको लागि छुट्टै, सामाजिक बिषयको लागि छुट्टै, भुगोल बिषयको छुट्टै, ईतिहाँस बिषयको छुट्टै खालको शैक्षिक भ्रमणहरु आयोजना हुनु पर्दछ । बिषयगत शैक्षिक भ्रमणको पनि आफ्नै विधि प्रक्रियााहरु विकास गरेर उपलब्धीपुर्ण शैक्षिक भ्रमण आयोजना गर्नु पर्दछ । एउटै शैक्षिक भ्रमणमा सबै कुरा समेट्दा उपलब्धी शुन्य प्रयाय हुन्छ । किन भने विद्यार्थीहरुलाई अन्यौल सिर्जना हुन्छ । कुन बिषयमा बढी जोड दिने ? प्रतिवेदन कुन बिषयमा केन्द्रित भएर लेख्ने ? हेर्नुहोस त हाम्रो लापरवाही ?

–ईन्टरनेट पनि अधिकाँस विद्यालयहरुमा छ । तर त्यसको उपयोग कसरी हुन्छ ? कहिल्यै हामीले अध्ययन गरेका छौं ? वास्तवमा ईन्टरनेट फेसबुक, ट्वीटर जस्ता प्रोग्रामहरु चलाएर बितेको हुन्छ । खोजमुलक, अनुसन्धानमुलक वेवसाईडहरु खोजेर सिक्ने सिकाउने चलन प्राय हुँदैन । सरहरु पनि त्यही, विद्यार्थीहरु पनि त्यही । तर… तर ईन्टरनेटको काम त्यति त होईन होला ।
यति हुँदा हुँदै पनि विद्यालयको घेराबार पनि राम्रो संग ब्यवस्थित गरिएको हुँदैन । बेला–बेला शिक्षकहरु बिदामा बस्ने, सार्वजनिक बिदा धेरै हुने, स्थानीय बिदा पनि धेरै हुने, समयमा पाठ्पुस्तक उपलब्ध नहुने, बिषयगत शिक्षकको कमी हुने, शिक्षकहरुलाई पर्याप्त तालिमको अभाव हुने, तालिम प्राप्त गरिहाले पनि तालिममा सिकेका कुरा कक्षा कोठामा प्रयोग नहुने जस्ता थुप्रै–थुप्रै कारणले गर्दा हाल सामुदायिक विद्यालयहरुमा वर्षेनी बिद्यार्थी घटेको हुन सक्छ । र अर्को महत्वपुर्ण कुरा भनेको के भने अलि आर्थिक अवस्था राम्रो भएका अभिभावकहरुले निजी बिद्यालय रोज्नुले पनि यो समस्या आएको हो ।

यसको तत्काल समस्या समाधान देखिदैन । जब सम्म सोही विद्यालयका शिक्षक, पदाधिकारीहरु, त्यस वडाका जनप्रतिनिधीहरुले आफ्नो विद्यालयमा नै आफ्ना बालबालिका पढाउने नीति बन्दैन र यसो हुदैन तव सम्म सामुदायिक विद्यालयहरु यही अवस्था मै रहन्छन ।

यसका लागि सरकारले नितीगत रुपमा नै यो ब्यवस्था ल्याउन आवश्यक छ । के सामुदायिक विद्यालयमा गुणस्तर बढाउन सकिंदैन ? अवस्य सकिन्छ । यसका लागि सोच बदल्नु आवश्यक छ । यसका लागि अध्ययन गर्न आवश्यक छ । यसका लागि छलफल गर्न आवश्यक छ । देशले केन्द्र देखि स्थानीय स्तर सम्म शिक्षा क्षेत्र सुधारमा बैज्ञानिक बिचार ल्याउन जरुरी छ र शिक्षामा देशको कुल बजेटको कम्तिमा २० प्रतिशत बजेट हरेक बर्ष बिनियोजन गर्न जरुरी छ ।

Next Post

Pelé meaning "exceptional" included in dictionary

२०८० बैशाख १५, शुक्रबार १६:०९
Correspondent 28 April 2023. The late football legend’s moniker, Pelé, is now formally associated with the words “exceptional, incomparable, and unique.” One of the most widely used dictionaries in Brazil in Portuguese, Michaelis, has introduced “pelé” as a new adjective to its online version. The inclusion followed the collection of […]