संवाददाता ।
गत वर्ष पूर्ण खोप जिल्ला घोषणा गरिएको बाँकेको नेपालगञ्जमा दादुरा संक्रमण फैलिएको छ । नेपालगञ्ज उपमहानगरका ५, ७ र ८ नम्बर वडामा फैलिएको दादुराबाट २९ बालबालिका संक्रमित भएका छन् ।
दादुराबाट संक्रमित एक बच्चाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताउनुभयो । सबै बालबालिकालाई खोप नलगाइसक्दै पूर्ण खोप जिल्ला घोषणा गर्ने हतार गर्दा यस्तो समस्या आएको भन्दै आलोचना हुन थालेको छ ।
दादुरा श्वासप्रश्वासको माध्यमबाट सर्ने र सजिलै फैलिने खालको सरुवा रोग हो । मिजल्स भाइरसको संक्रमणको कारण यो रोग लाग्ने गर्छ ।
खासगरी यस रोगले कुपोषित बच्चाहरूको बढी मृत्यु गराउँछ । दादुराले फोक्सोको संक्रमण भएपछि निमोनिया, मस्तिष्कको संक्रमण, मुटुको संक्रमण, कलेजोको संक्रमण‚ मिर्गौलाको संक्रमण, कानको संक्रमण, आँखाको संक्रमण र रगतमा प्लेटलेटको मात्रा कम गराई रगत बग्ने जस्ता जटिल खालका स्वास्थ्य समस्या निम्त्याउँछ ।
दादुरा रोग लागेका बालबालिकालाई पोषिलो खाना र झोलिलो खाने कुरा जरुरी हुन्छ । दादुरा रोग अतिसंक्रमित रोग भएकाले यस रोगको प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका रोगीको सम्पर्कमा आएमा दादुरा रोगबाट संक्रमित हुन्छन् ।