फोटो क्याप्सन : सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहर विवाद समाधानपछि सांसद नमूूना, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहलगायत । फोटो सौजन्य : नरैनापुर गाउँपालिका
नेपालगन्ज : मंसिर २०७९ मा नेकपा (माओवादी केन्द्र)की कृष्णा केसी नमूना बाँके क्षेत्र नं. १ (१)बाट निर्वाचित भइन् । अस्थिर मतदाता रहेको बाँकेमा सत्ता गठबन्धनका उम्मेदवारले धमाधम पराजय भोगिरहेको बेला जनताका लागि नमूना काम गरेकी नमूनाद्वारा बाँकेमा एउटै निर्वाचन क्षेत्रबाट लगातार दोस्रो जितको रेकर्ड बनाइन् । यसअघि २०७४ सालमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित नमूनाले यो निर्वाचनमा ९ हजार १०३ मत ल्याएर विजयी भएकी हुन् । उनले नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई एक हजार १३७ मतान्तरले विजयी भएकी हुन् । चौधरीले ७ हजार ९६६ मत ल्याएका थिए । नमूनाले सपथ अघि नै जनताको सेवा सुविधाका लागि संघीय र प्रदेश सरकारबाट बजेट सुनिश्चित गरेर फेरि नमूना कामको सुरुवात गरेकी छन् ।
खयरभट्टीमा विद्युत
सांसद नमूना ६ पुसमा काठमाडौं पुगेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटिन् । राप्तीसोनारी गाउँपालिकाको विकट गाउँ खयरभट्टीका सर्वसाधारणले विद्युत सेवा विस्तार गर्न तीन करोड ४० लाख रुपैयाँको बजेट पास गराउन सफल भएकी हुन् । सो बजेटबाट २२ किमि ११ के.भी. लाइन, ४ दशमलव ३ कि.मि. वितरण लाइन निर्माण र ३ थान वितरण ट्रान्सर्फमर जडान गरी करीब ४ सय घरमा विद्युत सेवा पुग्ने सांसद नमूनाले जानकारी गराइन् ।
टेलिकमको टावर विस्तार
बाँकेका दुई दुर्गम गाउँपालिकामा नेपाल टेलिकमले थप टावर जडान गर्ने भएको छ । सांसद नमूनाको पहलमा टेलिकमले राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा थप टावर जडान गर्ने भएको हो । थप टावरको जडान र भएका टावरको क्षमता वृद्धिका लागि नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेललाई भेटेर माग गरेपछि टावर जडानको निर्णय भएको सांसद नमूनाले बताइन् । कोहलपुरको चप्परगौडीदेखि दाङको शिवखोलासम्म र फत्तेपुर, विनौना हुँदै दाङको गोठुवासम्मको हुलाकी राजमार्ग तथा नरैनापुर र राप्तीसोनारीका धेरै ठाउँमा टावर नहुँदा मोबाइल नेटवर्कको समस्या रहेको छ । कोहलपुर चप्परगौडीदेखि दाङको शिवखोलासम्मको अधिकांश राजमार्गमा नेटवर्कले काम नगर्ने भएकाले विभिन्न भागमा थप टावरहरू राख्नुपर्ने स्थानीयको माग लामो समयदेखि रहेको छ । सोही प्रकारले राप्तीसोनारी र नरैनापुरमा अहिले रहेका टेलिकम टावरहरूका क्षमता कम भएकोले वृद्धि गर्नुपर्ने र थप जडान गर्नु पर्ने देखिएको छ ।
सिँचाइ सुविधा
बाँकेको सुख्खाग्रस्त क्षेत्र घोषित गरिएको नरैनापुर गाउँपालिकामा वैकल्पिक सिँचाइका लागि डिप बोरिङ गाड्न सुरु गरिएको छ । आकाशे पानीको भरमा रोपाइँ गर्ने नरैनापुर क्षेत्रमा योे वर्ष समयमै वर्षा नहुँदा १० प्रतिशत मात्र रोपाइँ भएर सबै खेत बाँझै रहेपछि नरैनापुर गाउँपालिकाले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारसँग राहत मागेको थियो । लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीले नरैनापुर –१ बिर्तामा डिप बोरिङ गाड्ने कामको शुभारम्भ गरेकी छन् । सांसद नमूनाको पहलमा अर्थमन्त्री जनार्दन शर्मालाई नरैनापुर लगेर प्रतिबद्धता जनाएपछि संघीय र प्रदेश सरकारबाट नरैनापुरमा डिप बोरिङ गाड्न बजेट विनियोजन भएको हो । नरैनापुरका –६ वटा वडामध्ये हरेक वडामा चार–चार वटाका दरले २४ वटा डिप बोरिङ गाडिने कार्यक्रम रहेको पनि सांसद केसीले बताइन् ।
सिक्टा विवाद समाधान
सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहर अन्तर्गत नरैनापुरमा देखिएको विवाद समाधान भएको छ । सांसद नमूनाको नेतृत्वमा भएको छलफलले विवाद समाधान भएसँगै नरैनापुर क्षेत्रमा नहर निर्माणको बाटो खुलेको छ । विवादका कारण उक्त क्षेत्रमा विस्तार गर्नुपर्ने करिब साढे ८ किलोमिटर नहरको सर्भे गर्ने काम तीन वर्षदेखि ठप्प थियो । नहर कुन क्षेत्रबाट लिने विवाद समाधान भएसँगै नहर निर्माणको बाटो खुलेको सांसद नमुनाले जानकारी दिइन् । सांसद नमूनाका अनुसार नहर स्थानीयको माग अनुसार नै दक्षिणतिर भन्दा उत्तरतिर जंगल हुँदै लैजाने सहमति भएको छ ।
१७ योजनाका बजेट माग
काठमाडौं पुगेकी सांसद नमूनाले बाँकेको विकास योजनाका लागि संघीय सरकारसँग बजेट माग गरेकी थिइन् । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र सहरी विकास मन्त्री मेटमणि चौधरीलाई भेटेर बाँके क्षेत्र नं. १ को राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको विकासको लागि विभिन्न योजना पेश गर्दै बजेट माग गरेकी थिइन् । उनले सो क्षेत्रामा चार स्थानमा पक्की पुल, दुई स्थानमा झोलुङ्गे पुल, चार स्थानमा एकीकृत बस्ती विकास, दुई वटा विद्यालयको भवन निर्माण, तीन हजार फुसका छाना हटाउनको लागि बजेट, १६ किलोमिटर पक्की नाली निर्र्माण लगायतका योजनाहरु पेश गरेको बताइन् ।
जनताको सेवाकै लागि काम गर्ने बताउने नमूनाले गुड न्यूज साप्ताहिकसँगको भेटमा जनताको सेवाका लागि आपूmले कुनै कसर बाँकी नराख्ने बताइन् । उनी भन्छिन्, ‘मेरो काम नै जनताको सेवा गर्ने हो । आफ्नो निर्वाचन क्षेत्र मात्र होइन । बाँके जिल्लाकै विकासका लागि काम गर्नेछु ।’