संवाददाता, नेपालगंज ।
बाँकेमा आज १ जना कोरोना संक्रमित ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पचालझरना १ कालिकोटकी ६० बर्षिया महिला रहनुभएको छ । उहाँको बिहान ३ः५५ बजे भेरी अस्पताल नेपालगंजको कोविड वार्डमा मृत्यु भएको हो ।
यो सगैं उपचारका लागी बाँकेमा आई मृत्यु भएका बाहिरी जिल्लाका कोभिड संक्रमितको संख्या ४४० जना पुगेको छ । भने बाँके जिल्ला भित्रको मात्रै संख्या ३४६ जना पुगेको छ ।
बाँकेमा कोभिडका बिरामी राखेर उपचार गरी रहेको एक मात्र भेरी अस्पताल नेपालगंजले आज सार्वजनिक गरेको विवरण अनुसार २९ जना संक्रमितहरु उपचाररत छन । जसमध्ये महिला २१ र पुरुष ८ जना छन भने डिस्चार्ज हुनेको संख्या भने ९ जना रहेको छ ।
यसैबिच, जिल्ला कोभिड ब्यवस्थापन केन्द्र (डीसीएमसी) बाँके ले आज सार्वजनिक गरेको विवरण अनुसार १३२ जना नयाँ संक्रमित थपिएका छन ।
बाँकेका ३ वटा ल्यावमा गरिएको १८२ जनाको जाँचमा सबैभन्दा बढी भेरी अस्पताल नेपालगंजको पीसीआर ल्यावमा ९२ जनाको जाँच गर्दा ५९ जना संक्रमित फेला परेका हुन ।
यस्तै वागेश्वरी ल्यावको पीसीआर प्रयोगशालाबाट २७ जनाको जाँच गर्दा १७ जना ब्यक्तिलाई कोरोनाको संक्रमण फेला परेको हो ।
यस्तै नेपालगंज मेडिकल कलेज कोहलपुरको पीसीआर ल्यावमा ६३ जनाको जाँच गर्दा ५६ जना संक्रमित फेला परेका छन ।
बाँकेका कोभिड फोकल पर्सन तेज ओलीका अनुसार बाँके जिल्लामा अहिले कोरोनाको संक्रमण दर ७२.५ प्रतिशत पुगेको छ । अहिले बाँकेमा ९२३ जना सक्रिय संक्रमित रहेका छन ।