आम चुनाव : मतदातालाई ४ मंसिरको चुले निम्तो

खर्च ब्यवस्थापन बारे फरक भनाई सहित आ–आफनै दाबी

  ।   २०७९ कार्तिक ३०, बुधबार १४:३७

प्रेम विश्वकर्मा, नेपालगंज

बर्दिया, बाँकेका ६ लाख ४७ हजार ५ सय १५ जना मतदाताले प्रतिनिधि सभा तर्फ ५ जना, प्रदेश सभा तर्फ १० जना सांसद निर्वाचन प्रक्रिया मार्फत छान्दै छन । प्रतिनिधि सभा तर्फ ५४ जना र प्रदेश सभा तर्फ ८४ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन । मतदाताले प्रत्यक्ष सगैं समानुपातिक उम्मेदवार पनि छान्नुपर्नेछ । तर प्रचारप्रसारको क्रममै रहेका राजनीतिक दल, उम्मेदवारहरुको निर्वाचन खर्च ब्यवस्थापन बारे फरक भनाई सहित आ–आफनै दाबी छ ।

नागरिक उन्मुक्ति पार्टीबाट पहिलो पटक उम्मेदवार बन्नुभएका अनिता थारुलाई निर्वाचन प्रचारप्रसारमा श्रीमानले सहयोग गर्नुभएको छ । बर्दिया निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभाको समानुपातिक तर्फ टिकट पाएदेखी ३० बर्षिया अनितालाई श्रीमानले दैनिक जसो मोटरसाइकलमा बोकेर यता उता लैजानुहुन्छ ।

आर्थिक रुपमा कमजोर भएपनि पार्टीबाट टिकट पाएपछि आफन्त, शुभेक्छुकजनबाट सहयोग लिएरै भएपनि दैनिक मोटरसाइकलको पेट्रोल, झन्डा, ब्यानर लगायतका निर्वाचन प्रचारप्रसारका सामाग्री लिईरहेको अनिता बताउनुहुन्छ ।

अनिताका अनुसार निर्वाचनका लागी आवाश्यक पर्ने खर्च जुटाउन भनी पार्टीमा एउटा कोष बनाईएको छ । त्यसै कोषमा सबैको सहयोग जम्मा गरेर चाहिने कुरामा रकम खर्च गरिन्छ । उहाँले भन्नुभयो्, ‘हाम्रो पार्टी पनि कमजोर छ, धेरै खर्च गरेका छैनौं ।’

पूर्व सिंचाई मन्त्री संन्जय कुमार गौतमको निर्वाचन प्रचारप्रसार अभियानमा वडास्तरको महिला संयोजक भएर लागी रहनुभएका तुल कुमारी केसी भन्नुहुन्छ्, ‘हामी त पैदलै निर्वाचन प्रचारमा हिँडेका छौं । कहिले कहीँ मात्र अटो प्रयोग गर्छौं । बर्दिया १ मा, धेरै जनता बुझ्ने भइसक्नुभएकाले त्यति प्रचार गरी दुख गर्नुपर्ने छैन । संन्जय दादा स्थानीय नेता भएकाले पनि सजिलो छ ।’

उहाँले हाँस्दै थप्नुभयो्, ‘हामी मध्ये केहीको घरमा पनि एक्लै भएकाले बिहान साँझ प्रचारप्रसार पछि सगैं खाजा–खाना खान्छौं । अरु त केही पाएका छैनौं, गठबन्धन भएकाले उम्मेदवारहरुले एक–एक वटा गाडि लिनुभएको छ । अरुले के गर्नुभएको छ, थाहा छैन, हाम्रो आफ्नै खर्चमा हो ।’

जनता समाजवादी पार्टी (जसपा) बाँकेका सचिव राजेन्द्र विश्वकर्मा भन्नुहुन्छ, ‘प्रदेश सभाका उम्मेदवारलाई एउटा गाडि र प्रतिनिधि सभाका उम्मेदवारलाई २ वटा गाडि छ । गाउँमा कार्यकर्ता आफैले खाजा, खाना खुवाउँछन्, पर्चा, झन्डा, ब्यनार, इन्धनमा उम्मेदवार, पार्टीले खर्च गर्छ ।’

सचिव विश्वकर्मा भन्नुहुन्छ्, ‘निर्वाचन आयोगले तोकेको भन्दा बाहिर गएर खर्च गरिएको छैन, तर दैनिक खर्च यति नै भनेर अहिले नै भन्न सकिन्न । त्यसको हिसाव गरिएको छैन ।’

नेकपा एमाले बाँकेका जिल्ला सचिवालय सदस्य सोहनलाल यादव पनि भन्नुहुन्छ्, ‘हामीले निर्वाचन आचारसंहितालाई प्राथामिकतामा राखेका छौं । जिल्ला निर्वाचन परिचालन कमिटी, वडा कमिटी, टोल कमिटी बाट प्रचारप्रसारको काम भईरहेको छ । दैनिक १ जना कार्यकर्ताले १० जनालाई भेट गर्ने गरी घरदैलोमा हिँडीरहेका छौं ।’

सचिवालय सदस्य सोहनलाल यादवले थप्नुभयो, ‘खर्च गर्यो भने करोडले पनि पुग्दैन । खर्च गरेपनि मतदाता भोट दिने पक्षमा छैन्न ।’

पैसा र प्रविधिको प्रयोग :

राजनीतिक दल तथा उम्मेदवारहरुले सम्र्पक सचिवालय मात्रै खोलेका छैन्न । ४ मंसिर २०७९ को निर्वाचन आफनो पक्षमा पार्न केही पैसावाल राजनीतिक दल तथा उम्मेदवारहरुले प्रविधिको धेरै प्रयोग समेत गरेका छन । जसमा सबैभन्दा धेरै सामाजिक संञ्जाल फेसबुकको प्रयोग भएको छ ।

प्रविधिको प्रयोग गर्नेमा बर्दिया निर्वाचन क्षेत्र नम्बर २ (१) बाट नेपाली काग्रेंसका उम्मेदवार रहेका जन्मजय तिमिल्सिना पनि हुनुहुन्छ । लोकतान्त्रिक बाम गठवन्धनका उम्मेदवार रहनुभएका उहाँले भोट माग्दै फेसबुक मार्फत पैसा तिरेर आफनो प्रायोजित बिज्ञापन, प्रचार गर्नुभएको छ ।

पैसा तिरेरै फेसबुक मार्फत प्रायोजित बिज्ञापन, प्रचार गर्नेमा लोकतान्त्रिक बाम गठवन्धनबाट उम्मेदवार रहनुभएका बर्दिया निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा तर्फका उम्मेदवार सुरेश पन्थ पनि हुनुहुन्छ । उहाँ नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने उम्मेदवार हुनुहुन्छ ।

यस्तै बर्दिया निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार देवी प्रसाद तिवारीले पनि पैसा तिररै फेसबुक मार्फत चुनावी प्रचार गर्नुभएको छ ।

यस्तै जन्मजय तिमिल्सिना जिताऔं अभियान, गठबन्धनका उम्मेदवार जिताऔं अभियान, भुवनेश्वर चौधरी जिताऔं अभियान, चुनावी अभियान बर्दिया, समर्थक के सदस्य संजय गौतम, बिनय रावल जिताऔं अभियान जस्ता विभिन्न नामधारी फेसबुकहरु पनि निकै सक्रिय छन ।

फेसबुक, टिकटक, युटुव, पत्रिका, रेडियो, टिभी, अनलाइन लगायतका प्रविधिको माध्यमबाट मतदातालाई प्रभाव पार्ने किसिमका समाचार तथा समाचार जन्य सामाग्री, बिज्ञापन प्रचारप्रसार गर्नेमा बाँके निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभाका उम्मेदवार डाक्टर धवल शमशेर राणा पनि अगाडि देखिनुभएको छ । उहाँ राप्रपाका उम्मेदवार हुनुहुन्छ ।

यही निर्वाचन क्षेत्रका जसपाबाट उम्मेदवार रहनुभएका मोहम्मद इश्तियाक राइ, बाँके निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार महेश्वर गहतराज (अथक), प्रदेश सभा सदस्यका उम्मेदवार कृष्ण केसी (नमुना), यही निर्वाचन क्षेत्रका नेकपा एमाले प्रतिनिधि सभा तर्फका उम्मेदवार सुर्य ढकाल, बाँके निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा नेपाली काग्रेंस गठबन्धन तर्फका उम्मेदवार किशोरसिंह राठौर, यही क्षेत्रका प्रतिनिधि सभा नेकपा एमालेका उम्मेदवार किस्मत कुमार कक्षपति पनि सामाजिक संञ्जाल मार्फत प्रचारप्रसार गर्नमा सक्रिय देखिनुहुन्छ ।

खर्च कति सम्म गर्न पाईन्छ :

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभातर्फका उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको अधिकतम हद तोकिएको छ । जसमा राजनीतिक दल, उम्मेदवारले गाडी, छपाई, ढुवानी, बिज्ञापन प्रचारप्रसार लगायतका खर्च शिर्षक राखिएको छ ।

प्रतिनिधि सभाको समानुपातिक तर्फका उम्मेदवारको हकमा भने प्रति उम्मेदवार खर्च हद २ लाख रुपैयाँ तोकिएको छ । यसैगरी प्रदेश सभाको समानुपातिक तर्फका उम्मेदवारहरुको लागी १ लाख ५० हजार रुपैयाँ तोकिएको छ । हेर्नुहोस तालिका नं. १ र २ ।

मतदाता र उम्मेदवार :

निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी युवराज पन्तका अनुसार बाँके जिल्लामा ३ लाख ३२ हजार २ सय ३१ मतदाता छन । जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख २१ हजार १ सय, निर्वाचन क्षेत्र नम्बर २ मा ९७ हजार ८ सय ९ जना र निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख १३ हजार ३ सय २२ जना मतदाता छन ।

यसैगरी प्रतिनिधि सभा तर्फ ३६ जना उम्मेदवारहरु बीच प्रत्यक्ष रुपमा प्रतिस्पर्धा हुदैछ । जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा ११ जना, निर्वाचन क्षेत्र नम्बर २ मा १६ जना र निर्वाचन क्षेत्र नम्बर ३ मा ९ जना उम्मेदवार छन ।

प्रदेश सभा तर्फ ५३ जना उम्मेदवार बीच प्रत्यक्ष रुपमा प्रतिस्पर्धा हुदैछ । जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ (१) मा ८ जना, निर्वाचन क्षेत्र नम्बर १ (२) मा ७ जना, निर्वाचन क्षेत्र नम्बर २ (१) मा ११ जना, निर्वाचन क्षेत्र नम्बर २ (२) मा ११ जना, निर्वाचन क्षेत्र नम्बर ३ (१) मा ७ जना र निर्वाचन क्षेत्र नम्बर ३ (२) मा ९ जना उम्मेदवार रहेका छन ।

सूचना अधिकारी पन्तका अनुसार मतदान गर्न ३ सय ८० वटा मतदान केन्द्र राखिएको छ । जसमा निर्वाचन क्षेत्र नम्बर १ मा १ सय ३७ वटा, निर्वाचन क्षेत्र नम्बर २ मा १ सय १३ वटा र निर्वाचन क्षेत्र नम्बर ३ मा १ सय ३० वटा मतदान केन्द्र छन । मतगणना भने ३ वटै निर्वाचन क्षेत्रमा गरिनेछ ।

निर्वाचन कार्यालय बर्दियाका अनुसार बर्दिया जिल्लामा ३ लाख १५ हजार २ सय ८४ मतदाता छन । मतदान केन्द्र भने ३ सय ७६ वटा कायम गरिएको छ । मतगणना भने दुई वटै निर्वाचन क्षेत्रमा हुनेछ । दुई वटा निर्वाचन क्षेत्र रहेको बर्दियामा प्रतिनिधि सभा तर्फ १८ जना उम्मेदवार बीच प्रत्यक्ष रुपमा प्रतिस्पर्धा हुदैछ । जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा १० जना उम्मेदवार र निर्वाचन क्षेत्र नम्बर २ मा ८ जना उम्मेदवार रहेका छन ।

यस्तै ४ वटा निर्वाचन क्षेत्र रहेको प्रदेश सभा तर्फ ३१ जना उम्मेदवारहरु बीच प्रत्यक्ष रुपमा प्रतिस्पर्धा हुदैछ । जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ (१) मा ८ जना, निर्वाचन क्षेत्र नम्बर १ (२) मा ११ जना उम्मेदवार छन । यस्तै निर्वाचन क्षेत्र नम्बर २ (१) मा ६ जना र निर्वाचन क्षेत्र नम्बर २ (२) मा पनि ६ जना उम्मेदवार रहेका छन ।

बिज्ञको प्रतिक्रिया :

राजनीतिक दल र उम्मेदवारहरुको खर्च ब्यवस्थापनलाई लिएर त्रिवि राजनीतिक शास्त्रका उपप्रध्यापक सिपी लम्साल भन्नुहुन्छ, ‘मूलत नेपालको निर्वाचन प्रणालीको कुरा गर्दा खेरी सामन्तवादी सोच अझै हटी सकेको छैन । अरु बेला जनताको घरआँगनमा पनि नपुग्ने तर निर्वाचनमा जनताको घरआँगनमा पुग्ने आफनो हैसियत भन्दा धेरै खर्च गर्ने प्रणालीहरु अझ पनि कायम छ । खासगरी सामान्य घरपरिवारको मान्छे, सामाजिक पहुँच राम्रो भए पनि उसको आर्थिक हैसियतको कारणले निर्वाचनको उम्मेदवार बन्न नसक्ने वा उम्मेदवार बनीसके पछाडि पनि उ प्रचारप्रसारणमा पछाडि परेर जित्न नसक्ने अवस्था छ ।’

उपप्रध्यापक सिपी राजनीतिक नेतृत्वकै कारण निर्वाचन महंगो हुदै गएको देख्नुहुन्छ । उहाँ भन्नुहुन्छ्, ‘राजनीतिक प्रणाली नै बदल्नु पर्छ । ब्यवस्थापिका भित्रबाट कार्यपालिका चयन गर्ने प्रणालीलाई बन्द गर्नुपर्यो । यसो गर्न सकियो भने खर्च घटेर जान्छ । अहिलेको समावेशी प्रणालीले खासगरी प्रत्यक्ष निर्वाचनबाट भन्दा पनि समानुपातिकबाट मात्रै कोटाहरु पुरा गरेको देखिन्छ । यसलाई प्रत्यक्ष निर्वाचित प्रणालीमा ल्याउन जरुरी छ । यसो गर्दा निर्वाचनको अपारदर्शी खर्च, निर्वाचन प्रणाली प्रतिको अविश्वास घटेर जान्छ ।’

  • यो पनि हेर्नुहोस ।

माओवादी बर्दियाको इतिहास : प्रत्यक्ष तर्फ टिकट पाउने दोस्रो महिला अन्जु दहित

 

Next Post

मैदानमा उत्रिएका सबै भन्दा नमूना अब्बल: मतदाता

२०७९ कार्तिक ३०, बुधबार १४:३७
बाँके । राप्तिसाेनारि र नरैनापुरवासीले बाँके क्षेत्र नम्बर १ (क) की उम्मेदवार कृष्णा केसी नमुनाको जित सुनिश्चित भएको बताएका छन् । मंसीर ४ गते हुने निर्वाचनमा घरदैलो अभियानमा रहेकी नमुनालाई जिताउन यहाँका जनता एकजुट भएर लागेका छन् । नरैनापुरको विकासका लागि नमुनाबाहेक अरु उम्मेदवार योग्य र सक्षम नभएको उनीहरुको भनाइ […]