म्रिस्तीखोलाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादनमा समस्या

  ।   २०७८ श्रावण २०, बुधबार ०७:२६


म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा उत्पादन गर्न सकेको छैन। आयोजनाले गत असार ३ देखि व्यवसायिक विद्युत् उत्पादन थालेको हो।

‘हाइड्रो हब’ का रुपमा विकसित हुँदै गरेको नारच्याङमा निर्माण भएको आयोजनाको पूर्ण उत्पादन ४२ मेगावाट भए पनि विद्युत् प्राधिकरणको प्रशारण क्षमता नहुँदा पूर्णरुपमा उत्पादन गर्न नपाएको हो।

आयोजनाका अनुसार विद्युत् प्राधिकरण लोडसेन्टरको माग दैनिक २८ देखि ३० मेगावाट मात्र रहेकाले सोही अनुपातमा उत्पादन गरी ग्रीडमा पठाइएको छ। ४२ मेगावाट उत्पादन क्षमता भए पनि प्राधिकरणको प्रशारण क्षमता नहुँदा नोक्सानी व्यहोर्न परेको आयोजनाका कन्स्ट्रक्सन म्यानेजर चुडामणि निरौलाले बताउनुभयो ।

‘हामीले गत जेठ १५ गतेबाट विद्युत् उत्पादन गरी ग्रीडमा पठायौं र असार ३ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्‍यौं‚’ निरौलाले भन्नुभयो‚ ‘प्राधिकरणको प्राविधिक कारणले लोड सेन्टरको माग अनुसार अहिले सरदर ३० मेगावाट मात्र विद्युत् उत्पादन भैरहेको छ।’

म्रिस्तीखोलाबाट उत्पादित विद्युत् अन्नपूर्ण गाउँपालिका– ३ दानास्थित कालीगण्डकी करिडोर २२० केभिए प्रशारण लाइनको सबस्टेसनमा जोडिएको छ। यो प्रशारण लाइन पूरा भएको छैन। पर्वत–बुटवल खण्डमा प्रशारण लाइनको काम पनि जारी छ। प्रशारण लाइनको काम पूरा नभएसम्म नारच्याङमा निर्माण भएका जलविद्युत आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न नसकिने आयोजनाका कन्स्ट्रक्सन म्यानेजर न्यौपानेको भनाइ छ।

कालीगण्डकी र आसपासका नदीहरुमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्ई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नेपाल विद्युत् प्राधिकरणले नारच्याङको छिमेकी वडा दानामा २०७७ माघमा २२० केभी क्षमताको सबस्टेशन बनाएको थियो। दानादेखि पर्वतको खुर्कोटसम्म ११० वटा टावर बनाएर ३९।६ किलोमिटर डबल सर्किटको तार तानिएको छ। तर, पर्वत–बुटवल खण्डमा प्रशारण लाइनको काम जारी छ।

२०७३ साल जेठबाट निर्माणको थालनी गरेको म्रिस्तीखोला जलविद्युत आयोजनाको कुल लागत पाँच अर्ब ६४ करोड रहेको छ। माउण्टेन इनर्जी प्रालिले निर्माण गरेको यो आयोजनाको प्रतिमेगावाट १३ करोड ५० लाख उत्पादन लागत रहेको छ। यो आयोजना नेपालकै सस्तो आयोजना भएको दाबी गरिएको छ। आयोजनाले विद्युत् प्राधिकरणसँग प्रतियुनिट वर्षायाममा ४ रुपैयाँ ६६ पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता गरेको छ।

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने नारच्याङमा १० वटा विद्युत् आयोजना निर्माणाधीन छन्। यहाँ ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन्। कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीनवटा आयोजना निर्माणाधीन र १३९.९४ मेगावाट क्षमताका चारवटा आयोजना निर्माणको प्रक्रियामा छन्। -थाहाखबर

Next Post

माधव नेपालले आज ‘कलम पार्टी’ घोषणा गर्दै : गोकुल बाँस्कोटा

२०७८ श्रावण २०, बुधबार ०७:२६
काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधव नेपालले नयाँ पार्टी घोषणा गर्न लागेको दाबी गर्नुभएको छ । मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले नेपालले आजका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा ‘एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने’ बताएका […]

सम्बन्धित समाचार