संवाददाता, काठमाडौं।
त्रिभुवन विश्वविद्यालय, सरस्वती बहुमुखी क्याम्पसले “मौद्रिक नीति : वर्तमान स्थिति र चुनौतीहरु” विषयक खुला छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
क्याम्पस प्रमुख डा.गोलमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले चालू खाता र शोधनान्तर घाटा बढ्दै गए राष्ट्रको ढुकुटी रित्तिने बताउनुभयो ।
उहाँले १० महिना आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिती हुन सके देशको आर्थिक अवस्था मजबुत हुने तर्क गर्नुभयो । नेपाल उद्योग बाणिज्य महासंघका महाप्रवन्धक गोकर्ण अवस्थीले अहिलेको कमजोर आर्थिक अवस्थाले गर्दा साना तथा मझौला उद्योग सञ्चालन गर्न खोज्ने उद्यमीहरुलाई अत्यन्तै कठिन अवस्था रहेको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “पूँजी निर्माणमा निजी क्षेत्रको योगदान करिब ७५ प्रतिशत रहे पनि बैंकहरुमा रकम दिन सक्ने अवस्था छैन । चोरी पैठारीका सामानहरु भित्रिन थालेको छ ।”
सानिमा बैंकका पूर्व कार्यकारी अधिकृत भुवन दाहालले विश्व अर्थतन्त्रमा वैदेशिक मुद्रा शोधनान्तर स्थिति ३ महिना धान्न सक्ने व्यवहारमा भए पनि नेपालमा ६ महिना थेग्न सक्ने हुनु सकारात्मक भएको टिप्पणी गर्नुभयो ।
छलफल कार्यक्रममा क्याम्पसका प्राध्यापक, बैंकिङ क्षेत्रका व्यक्तित्व, स्नातकोत्तर तह विविएम र विविएसका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।