पत्रकारितामा बाँके–बर्दिया

पत्रकार, संञ्चारमाध्यमको संख्यात्मक वृद्धि, गुणस्तरियता माथि भने प्रश्न

  ।   २०७९ असार ३१, शुक्रबार १४:४१

  • प्रेम विश्वकर्मा, नेपालगंज

तथ्यांकगत रुपमा हेर्दा, बाँके र बर्दियामा ४२६ जना भन्दा बढी पत्रकार छन । यो संख्या नेपाल पत्रकार महासंघ सँग आबद्ध भएका पत्रकारहरुको मात्र हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँकेका सचिव कमल डाँङ्गीले भन्नुभयो, ‘महासंघको सदस्य संख्या ३२३ हो । यसमा केहीको मृत्यु भएको छ ।’

यो तथ्यांक बाहेक बाँकेमा महासंघ संग आबद्ध नभएका, संञ्चारकर्मी, आफुलाई पत्रकार भनेर चिनाउनेहरुको संख्या पनि धेरै छ । केहीको सदस्यता सम्बन्धीको विवाद पनि कायमै रहेको छ । नेपाल पत्रकार महासंघको सदस्य नभएका तर विभिन्न राजनीतिक दल निकट पत्रकार संगठनमा आवद्ध र केही स्वतन्त्रले पनि पत्रकारको कार्ड बोकेर हिँडेको भेटिन्छ ।

बाँके सँग सिमा जोडिएको अर्को छिमेकी जिल्ला बर्दियामा पनि पत्रकारहरुको संख्या प्रत्येक बर्ष थपिदै गएको छ । अहिले महासंघमा आवद्ध नभएका संञ्चारकर्मी, आफुलाई पत्रकार भनेर चिनाउने ब्यक्तिहरुको संख्या बाँकेमा जस्तै छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका उपाध्यक्ष मेनका चौधरीका अनुसार अहिले महासंघको सदस्यता लिएका पत्रकारहरुको संख्या भने १०३ जना मात्र रहेको छ ।

लुम्बिनी प्रदेश अन्र्तगत पर्ने तराईका जिल्ला बाँके, बर्दियामा यसो हेर्दा संञ्चारकर्मी, पत्रकारहरुको संख्या (फाला–फाल) आवाश्यकता भन्दा बढी छ । तर यहाँका संञ्चार गृह दक्ष जनशक्ति नपाउँदा खाली रित्तो हुन थालेका छन । रेडियो, टेलिभिजन दिन रात गीत बजाएर समय कटाउछँन । यसो रेडियो सुन्दा अडियो प्लेयर बजाएको, अनि टिभी हेर्दा युटुवमा गीत हेरेको जस्तो महसुस भान हुने । कतिपय पत्रपत्रिका र अनलाइन त वान म्यान आर्मी भएर चलेका छन । फेसबुकको भित्तामा लेखिएका स्टाट्स नै तिनका लागी न्यूज हुन ।

बाँकेको नेपालगंज र बर्दियाको गुलरियामा अन्य पालिकाको तुलनामा धेरै पत्रकार र संचार गृहले घर, डेरा बसाएका छन । विशुद्ध सक्रिय पत्रकारिता मात्रै गर्ने पत्रकार र बिषय बस्तुमाथिको गहिराईमा पुगेर ब्यवसायिक कन्टेन्टमा काम गर्ने संञ्चारमाध्यमको कमी जनताले महसुस गर्न थालेका छन । यहाँ राजनीतिक पार्टीका नेता, कार्यकर्ता, ब्यापारी, वकिल, डाक्टर, शिक्षक, गैससकर्मी, मानवअधिकारकर्मीको हातमा पत्रकारको कार्ड पुगेको छ । यसरी उनीहरुको आफु अनुकुल स्वार्थपुर्तिको माध्यम पत्रकारको कार्ड बनिरहेको छ ।

भर्खरै मात्र सम्पन्न स्थानीय तह सदस्य निर्वाचन ३० बैशाख २०७९ मा बाँके, बर्दियाका ६ जना भन्दा बढी पत्रकार भनिने ब्यक्तिहरु राजनीतिक दलको टिकट लिएर चुनावमा सहभागी भए । अधिकांशले हार ब्यर्होरे । उनीहरुले कतै राजीनामा बुझाएन्न । अहिले फेरी आफुलाई पत्रकार भन्दै हिँडेका छन ।

पालिका भन्दा धेरै संञ्चार गृह :

बाँके र बर्दियाका १६ वटा पालिकाको संख्या भन्दा धेरै यहाँ स्थानीय रेडियोहरु संञ्चालनमा रहेको पाईएको छ । १७ वटा जति रेडियो त नियमित गुन्जि रहेका छन । केही मौसमी रेडियो भने कर्मचारी, लगानी हुँदा सम्म चल्छन्, सकिए फेरी बन्द हुन्छ्न । कतिपय पाठ्क, स्रोताले मौसमी पत्रपत्रिका र रेडियो भनेर ब्यंग्य गरेको सुनिन्छ ।

यहाँ निजी ब्यवासायिक रेडियोको संख्या भन्दा धेरै सामुदायिक रेडियोको संख्या देखिन्छ । बाहिर धेरै स्टेशनमा सामुदायिक रेडियो भनेर बोर्ड टाँगिएको हुन्छ्, तर भित्र भने अर्कै खेलो हुन्छ । भन्नलाई सामुदायिक भनिए पनि ब्यवहारिक रुपमा ब्यक्तिगत हित, मुनाफा केन्द्रित पारिवारिक, राजनीतिक, धार्मिक, जातिगत पक्ष हावी भई एकलौटी जस्तो बनाईएका दृष्टान्त भेटिन्छन । त्यसैकारण कतिपयले जहाँनिया पारिवारिक संञ्चार गृह भनेर टिप्पणी गर्दछन ।

बर्दियामा टेलिभिजन छैन्न तर बाँकेमा भने अहिले तीन वटा जति टेलिभिजन अस्तित्वमा देखिएका छन । वर्गिकरणमा परेका साप्ताहिक पत्रपत्रिकाहरु लोककल्याणकारी विज्ञापनको भरमा बाँचेका छन । यि साप्ताहिक पत्रपत्रिका लोककल्याणकारी बिज्ञापन मात्र छाप्ने हुन की जस्तो । अरु बिज्ञापन, सूचना नै आउन छोडी सक्यो । वर्गिकरणमा नपरेका पत्रिका भने विज्ञापन दातालाई हेरेर प्रकाशित हुन्छन । सिमित संख्याका दैनिक पत्रिका बाहेक अन्य सबै पत्रिकाको अवस्था दहनीय रहेको छ । यि पत्रिकाको आफनो छुट्टै पहिचान स्थापित हुन सकेको छ । अधिकांश कपी पेष्ट ।

रेडियोका आफनो उत्पादन सामाग्री, कार्यक्रम कमै मात्र छन । रेडियोमा महत्वपुर्ण मानिने समाचार इन्टरनेट, अनलाइन न्यूज पोर्टलमा निर्भर देखिन्छ । कुनै दिन इन्टरनेट चलेन भने रेडियोमा समाचार नै प्रसारण हुदैन । काठमाडौंबाट उत्पादन गरिएका धेरै न्यूजलाई यहाँका रेडियोले कपी गर्ने गर्छन ।

रेडियो र टेलिभिजन सँग पर्याप्त समय छ, तर समाचार, कार्यक्रम छैन्न । न यि संञ्चार गृहले दक्ष जनशक्ति उत्पादन गर्ने, भएका जनशक्तिको क्षमता विकास गर्ने काम गरेका छन । अधिकांश संञ्चार गृह भाडाको भौतिक संरचनामा बसेका छन । कतिले विद्युत, घरभाडा, कर्मचारी तलव, दर्ता नविकरण गर्न नसकी बन्द हुन पुगेका छन ।

खासमा, पत्रपत्रिका अक्षरमा, रेडियो अडियोमा र टेलिभिजन भिडियो कन्टेन्टमा स्वस्थ प्रतिस्पर्धी हुनु पर्ने हो । तर त्यसो हुन नसकी अहिले डिजिटल अनलाइन संञ्चार माध्यमले पत्रपत्रिका, रेडियो र टेलिभिजनलाई उछिने सकेको अवस्था छ ।

डिजिटल अनलाइनमै पाठक, स्रोता, दर्शकको उपस्थिती बाक्लो देखिन्छ । तर डिजिटल अनलाइनका आफ्नै समस्या । सिकारु पत्रकार, संञ्चारकर्मीको हातमा डिजिटल अनलाइनका न्यूज पोर्टल पुगेपछि ति खिचडि बनेको देख्न सकिन्छ । अझ भनौं डिजिटल न्यूज पोर्टलले ब्रेकिङ्गका नाममा पाठक, दर्शक, स्रोता माथि ठुलो बेइमानी गरिरहेका छन ।

पत्रपत्रिकामा अक्षरको खेती गर्नुपर्ने हो । रेडियोमा बज्ने अडियो सामाग्री कानले सुनी रहुँ जस्तो लाग्ने बनाउनु पर्ने हो । टेलिभिजनका भिडियो सामाग्री आँखामा नबिझ्याउने, हेरी रहँु लाग्ने, बनाउनु पर्ने हो । तर यहाँ मान्छेहरु पत्रपत्रिका किनेर त कुरै, छोडौं, निशुल्क दिँदा पनि पढ्दै्नन्, हेरदैनन्, । रेडियो खोल्यो की छिन–छिनमा सुई बटारर्छन । टिभीकोे रिमोट नेपाली भन्दा भारतीय टिभी च्यानलमै तलमाथि हुन्छ । हाम्रो संञ्चार गृहले अझै पनि आफना पाठक, दर्शक र स्रोता चिन्न नसकेका हुन की ?

पत्र–पत्रिका दर्तामा छन्, बजारमा छैन्न :

रेडियो, टेलिभिजन, अनलाइनको विकास हुनु अघि यहाँ पत्रपत्रिका तर्फको धेरै आकर्षण थियो । बाँकेमा पहिलो पटक २०३९ साल असोज १० गते परमानन्द मिश्र प्रकाशक, सम्पादक रहेको प्रकाश साप्ताहिक नामको पत्रिका दर्ता भएको पाईएको छ ।
दोस्रोमा शुसिला चुके प्रकाशक र पूर्णलाल चुके सम्पादक रहेको जनमत अर्ध–साप्ताहिक पत्रिका पनि २०३९ साल असोज १० गते दर्ता भएको छ ।

तेस्रोमा प्रभात भण्डारी प्रकाशक, सम्पादक रहेको नेपाल एक्सप्रेस दैनिक २०३९ साल असोज १८ गते र चौथोमा पन्नालाल गुप्ता प्रकाशक र बिजय कुमार गुप्ता सम्पादक रहेको जय नेपाल दैनिक २०३९ साल असोज १९ गते दर्ता भएको पाईएको छ ।
यसरी २०७८ साल माघ ७ गते सम्मको तथ्यांक अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेको पत्रपत्रिका अभिलेखमा दर्ता भएका पत्रपत्रिकाहरुको संख्या १६० वटा पुगेको छ ।

नेपाल सरकार, गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय बर्दिया, पत्रपत्रिका दर्ता किताब (दर्ता हुदाँको अवस्थामा) अनुसूची–७ नियम ४ को उपनियम ४ सँग सम्बन्धित पत्रपत्रिका दर्ता किताब अनुसार २०४० साल मंसिर ६ गते पहिलो पटक रमेश बहादुर शाह प्रकाशक, सम्पादक रहेको मूलधार नामको पाक्षिक पत्रिका दर्ता भएको पाईएको छ ।

यसैगरी दोस्रोमा २०५० साल कार्तिक २२ गते ईश्वरी प्रसाद बस्याल प्रकाशक, सम्पादक रहेको कर्णाली साप्ताहिक नामको पत्रिका, तेस्रोमा २०५२ साल मंसिर ७ गते दिलिप कार्की प्रकाशक र बालाराम भट्टराई सम्पादक रहेको चुनौति साप्ताहिक पत्रिका दर्ता भएको पाईएको छ । यसरी २०७८ साल असार ११ गते सम्म बर्दियामा दर्ता भएका पत्रपत्रिकाहरुको संख्या ४१ वटा पुगेको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका पूर्व अध्यक्ष राजेन्द्र प्रसाद धिताल संञ्चारमाध्यमका कमजोरी बारे भन्नुहुन्छ्, ‘पत्रिका दर्तामा छन्, बजारमा छैन्न, अस्तित्वमा रहेका साप्ताहिक र दैनिक एक–दुई वटा पत्रिका झल्याक–झुलुक देखिए पनि अरु पत्रिका बिज्ञापन दाताको टेबुलमा मात्र भेटिन्छन । सामुदायिक रेडियोको नाम बेचेर, ब्यक्तिको इसारामा रेडियो चलेका छन । दर्ता गर्दाका शर्त पुरा गर्दैनन । कर्मचारी नियुक्ति पत्र, तलव पाउदैन्न । यहाँका संञ्चारमाध्यम अनियमित्ता, अपारदर्शि बाटोमा अघि बढेका छन ।’

पूर्व अध्यक्ष धितालले कागजी प्रक्रिया मिलाएर विज्ञापन लिने, खाने संञ्चार गृह धेरै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पत्रकारको नाममा बेतिथी गरिरहेका छन्, पत्रकारिता राम्रोबाट नराम्रो तिर गईरहेको छ । हामी राजनीतिक रुपमा ध्रुर्विकृत छौं । सरकारले चलाउन सक्दैन्, चलाए आन्दोलन गरिहाल्छौं, कसले अनुगमन गर्ने ? संञ्चार गृहमा श्रमजीविको आवाज कमजोर भएको छ ।’

आवाश्यकता भन्दा बढी संचार गृह, तिनको उचित ब्यवस्थापन नहुनु, ब्यवसायिक पत्रकारिताको कमजोर कला कौसल मुख्य समस्या रहेको धितालको भनाई छ ।

बाँकेमा २०३९ साल असोज १० गते दर्ता भएको जनमत अर्ध–साप्ताहिक पत्रिकाका सम्पादक पूर्णलाल चुके भन्नुहुन्छ, ‘जुन हिसावले पहिले छापा माध्यमको महत्व थियो, अहिले घट्यो । छापा माध्यमलाई चुनौति छ । वर्तमान अवस्थामा हेर्ने हो भने संञ्चारमाध्यमको तिब्र विकास भएको छ, संख्यात्मक रुपमा संञ्चार माध्यमको विकास भए पनि गुणात्मक र आचारसंहिता पालनको अवस्था भने सन्तोषजनक छैन ।’

सम्पादक पूर्णलालले स्वतन्त्र प्रेस, आचारसंहिताको मूल्य मान्यतालाई जिवन्त राख्न नियमक निकायले पनि निगरानी बढाउनुका साथैै पत्रकार, संञ्चारमाध्यम आफै पनि जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

भुक्तभोगी विज्ञहरुले यसो भनी रहँदा, सरोकारवाला निकाय भने मौन छन । जिल्ला प्रशासन कार्यालयले पत्रपत्रिका दर्ता गर्ने काम बाहेक अरु केही गरेको देखिएन । संञ्चार मन्त्रालय, कम्पनी रजिष्टारको कार्यालय, हुलाक कार्यालय, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघले पनि जिल्ला तहमा संञ्चालन, प्रकाशन, प्रसारणमा रहेका संञ्चार गृह, पत्रकार, संञ्चारकर्मी, कर्मचारीको वास्तविक अवस्था बारे अझ नजिकबाट अनुगमन निरिक्षण विश्लेषण गर्नु आवाश्यकता छ ।

साथै दर्ता, नविकरण र अटेरी गर्ने माथि कारबाहीको दायरा थप प्रभावकारी बनाई, संञ्चार गृह, पत्रकारलाई नियमन गर्न अति जरुरी छ । चेक एण्ड ब्यालेन्स र चेन अफ कमाण्ड भएन भने भोलिका दिनमा ठुलै दुर्घटना पनि निम्तिन सक्छ । बेलैमा सचेत हुन आवाश्यक छ ।

(लेखक ग्रामिण क्षेत्रमा रहेर खोज मूलक पत्रकारिता गर्नुहुन्छ ।)

Next Post

उपसभामुख पद अन्ततः सत्तारुढ दल कांग्रेसको पोल्टामा, सांसद पुष्पा भुसाल निर्वाचित

२०७९ असार ३१, शुक्रबार १४:४१
संवाददाता । लामो समयदेखि खाली रहेको संसदको उपसभामुख पद अन्ततः सत्तारुढ दल कांग्रेसको पोल्टामा परेको छ । कांग्रेसकी सांसद पुष्पा भुसाल एमालेकी विद्या भट्टराईलाई पराजित गर्दै उपसभामुख निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा खसेको २४२ मध्ये १४८ मत ल्याउँदै भुसाल विजयी हुनुभएको हो । भुसाललाई माओवादी केन्द्र, नेकपा एकीकृत […]

सम्बन्धित शीर्षक