संवाददाता ।
एम्नेस्टी इन्टरनेसनलले विश्वकपको तयारीका क्रममा कतारमा मानवअधिकार दुब्र्यवहार भोगेका श्रमिकले पाउनु पर्ने क्षतिपूर्तिका लागि फिफाले विश्वकप पुरस्कारका लागि छुट्टाएको ४४ करोड रूपैयाँ बराबर रकम छुट्टाउन पर्ने बताएको छ ।
विश्वकप प्रतियोगिता सुरु हुनुभन्दा ६ महिना अघि आज सार्वजनिक गरेको एक प्रतिवेदनमार्फत एम्नेस्टी इन्टरनेसनलले यस्तो बताएको हो ।
प्रतिवेदनसँगै सार्वजनिक गरिएको एउटा खुल्ला पत्रमा एम्नेस्टी इन्टरनेसनल र मानवअधिकार संस्थाहरूको सञ्जाल तथा फुटबलका प्रशंसक समूहहरूले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई एउटा विस्तृत क्षतिपूर्ति कार्यक्रम स्थापना गर्न कतारसँग सहकार्य गर्न आग्रह समेत गरेको छ ।
कतारमा आयोजना हुने प्रतियोगितासँग सम्बन्धित सबै श्रम दुब्र्यवहारका लागि क्षतिपूर्ति प्रदान गर्ने तथा भविष्यमा आयोजना हुने प्रतियोगिताहरूमा त्यस्ता दुब्र्यवहारहरू नदोहोरिने कुरालाई कतार र फिफा दुवैले सुनिश्चित गर्न पनि पत्रमा उल्लेख गरिएको छ ।
श्रम सुरक्षासँग सम्बन्धित कुनै सर्तहरू नराखेको देख्दा देख्दै पनि फिफाले हुने सक्ने जोखिम रोक्न वा न्यूनीकरण गर्न अत्यन्तै न्यून प्रयास गरेको एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामार्डले बताउनुभएको छ ।
भुक्तानी गर्न बाँकी रहेको पारिश्रमिक, लाखौँ श्रमिकले तिरेको चर्को भर्ना शुल्क र घाइते तथा मृत्यु भएकाहरूलाई दिनुपर्ने क्षतिपूर्तिको लागि चाहिने जम्मा रकम भने अझ बढी हुन सक्ने एम्नेस्टीले बताएको छ ।
सन् २०१० देखि विश्वकप २०२२ आयोजना गर्न आवश्यक रङ्गशाला, होटल, यातायात र अन्य पूर्वाधारहरू निर्माण कार्यमा संलग्न लाखौँ आप्रवासी श्रमिकहरूले मानवअधिकार दुब्र्यवहारको सामना गर्दै आएको भन्दै एम्नेष्टि ईन्टरनेशनल, ह्युमन राइट्स वाच लगायतका संस्थाहरूले निरन्तर आवाज उठाउँदै आएका छन् ।
अधिकांश आप्रवासी श्रमिकहरूले कतारमा आफ्नो रोजगारी सुनिश्चित गर्नका लागि प्रति श्रमिक औसत १ हजार ३ सय अमेरिकी डलरभन्दा बढी गैर कानुनी भर्ना शुल्क तिर्ने गरेको एम्नेष्टीको दाबी छ । #एम्नेस्टी_इन्टरनेसनल_विश्वकप