नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० पुग्यो

  ।   २०७८ माघ १२, बुधबार १५:४७

संवाददाता ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ ।

जुन दश वर्षअघि (२०६८ साल) को जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चारको तुलनामा २६ लाख ९७ हजार नौ सय ७६ ले मात्र बढी हो ।

राष्ट्रिय तथ्यांक विभागले आज सार्वजनिक गरेको प्रारम्भिक नजिताअनुसार १० वर्षमा नेपालको जनसंख्या १० दशमलव १८ प्रतिशतले बढेको देखिएको छ ।

विगत १० वर्षको सरदर वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत देखिएको छ । जब कि २०५८ देखि २०६८ सम्मको १० वर्षमा सरदर वार्षिक जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो ।

अपेक्षाअनुसार जनसंख्या वृद्धिदर नहुँदा प्रक्षेपणभन्दा थोरै जनसंख्या देखिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिनुभयो ।

जनगणनाअनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार एक सय ६९ र पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार तीन सय ११ पुगेको छ ।

यसअनुसार पछिल्लो १० वर्षमा महिलाको जनसंख्या १२ लाख ५५ हजार सात सय ६ जना र पुरुषको जनसंख्या १४ लाख ४२ हजार दुई सय ७० जना थप भएको छ ।

यसअघि २०६८ सालमा महिलाको संख्या एक करोड ३६ लाख ४५ हजार चार सय ६३ जना थियो भने पुरुषको १ करोड २८ लाख ४९ हजार ४१ जना रहेको थियो ।

महिलाको जनसंख्यामा ९ दशमलव २० प्रतिशत र पुरुषको जनसंख्यामा ११ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ । तर, अझै पनि पुरुषको तुलनामा महिलाको जनसंख्या ६ लाख नौ हजार पाँच जनाले बढी छ ।

नयाँ पत्रिकाबाट

 

Next Post

सहारा मरुभूमिमा हिमपात परेपछि विश्व चकित

२०७८ माघ १२, बुधबार १५:४७
संवाददाता । विश्वका चर्चित मरुभूमिमध्ये एक सहारा मरुभूमिमा विगत ३ दिन देखि हिमपात भइरहेको छ । यो मरुभूमिमा भएको हिमपातले विश्व जगत चकित बनेको छ । ४२ बर्षको इतिहासमा सहारा मरुभूमिमा हिमपात भएको यो पाँचौं पटक हो । यसैबीच वैज्ञानिकहरुले यस घटनालाई खतराको संकेत भनी औंल्याएका छन् । यहाँको अधिकतम […]