दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न तीन जनालाई जन्मकैद फैसला

  ।   २०७८ मंसिर २७, सोमबार ११:३१

संवाददाता ।

दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले २६ मंसीरमा दुल्लू नगरपालिका–६ का अरुण भनिने बमबहादुर खड्का, केशव खड्का र भगवतीमाई गाउँपालिका–६ का मुक्ति भनिने बमबहादुर खड्कालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले पत्रकार थापाको हत्याका मुख्य कसुरदार तीन जनालाई २० वर्ष र शव गाड्न सहयोग गर्ने कोहलपुर नगरपालिका–३ निवासी भक्तिराम लामिछानेलाई तीन वर्ष कैद तोकिएको जानकारी दिनुभयो ।

प्रहरीले हत्यामा संलग्न नौमध्ये पाँच जनालाई २० पुस, २०६९ मा पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । तीमध्ये अरुण भनिने बमबहादुर खड्का, केशव खड्का, मुक्ति भनिने बमबहादुर खड्का र भक्तिराम लामिछाने फरार रहेका थिए ।

कैलाली प्रहरीले दुई वर्षअघि अरुणलाई पक्राउ गरी दैलेख प्रहरीलाई बुझाएपछि आठ वर्षदेखि मुल्तबीमा रहेको यो मुद्दा किनारा लागेको हो ।

कसुरदारलाई सजायको मागदाबी गर्दै जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता रुकमेदा पोखरेल तथा प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू शालिकराम सापकोटा, छवि सुवेदी र सर्वराज जोशीले बहस गर्नुभएको थियो ।

तत्कालीन माओवादी कार्यकर्ताले रेडियो नेपालका स्थानीय संवाददाता थापालाई २७ साउन, २०६१ मा दैलेखको उत्तर पूर्वी क्षेत्र नौमूलेको द्वारीमा कुटपिट गरी हत्या गरेका थिए । हत्यापछि शव लुकाइएको थियो ।

शान्ति प्रक्रियापछि नेपाल पत्रकार महासंघ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा थापाको कङ्काल उत्खनन गरी डीएनए परीक्षण गरिएको थियो ।

त्यसपछि डेकेन्द्रकी श्रीमती लक्ष्मी थापाले ६ भदौ, २०६५ मा जिल्ला प्रहरी कार्यालय दैलेखमा किटानी जाहेरी दिनुभएको थियो । जाहेरीका आधारमा प्रहरीले पाँच जनालाई पक्राउ गरी मुद्दा अघि बढाएको थियो ।

जिल्ला अदालतले २१ मंसीर, २०७१ मा हत्यामा संलग्न नौमध्ये निरकबहादुर घर्ती, हरिलाल पुन, जयबहादुर शाही, लक्ष्मीराम घर्तीमगर र वीरबहादुर केसीलाई कैद सजाय सुनाइएको थियो । फरार रहेका चार जनाको हकमा यो मुद्दा मुल्तबी राखिएको थियो ।

(रासस), हिमाल खबर डटकमबाट

Next Post

माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराल चयन

२०७८ मंसिर २७, सोमबार ११:३१
संवाददाता । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराल चयन हुनुभएको छ । दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय समिति चयन गरेको थियो । त्यही समितिले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बरालको नाम टुंगो लगाएको माओवादी केन्द्रका नेताले जानकारी […]

सम्बन्धित शीर्षक