
काठमाण्डौ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दोस्रो चरण अन्तर्गतको अन्तिम दुई खेल हुनेछन् ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी) खेल्दैछन् । खेल दिउँसो १ बजे हुने छ ।
पहिलो खेलमा विभागीय टिम एपीएफलाई ३-२ गोल अन्तरले हराएको बिग्रेड आज लगातार दोस्रो जितको खोजीमा हुनेछ भने एनआरटी पहिलो जितको खोजीमा हुनेछ । एनआरटी यसअघि भएको पहिलो खेलमा साविक विजेता मच्छिन्द्र क्लबसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।
बिग्रेड ३ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ भने अङ्कविहीन एनआरटी १२ औँ स्थानमा छ ।
यस्तै, दोस्रो खेलमा बेलुका पौने ५ बजे साविक विजेता मच्छिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी क्लब खेल्ने छन् ।
पहिलो खेलमा एनआरटीलाई २-१ गोल अन्तरले हराएको मच्छिन्द्र आज लगातार दोस्रो जितको खोजीमा हुनेछ भने आर्मी पहिलो जितको खोजीमा हुनेछ । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो ।
मच्छिन्द्र तीन अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ भने त्रिभुवन आर्मी १ अङ्कसहित आठौँ स्थानमा छ ।



