रूपा गहतराज, नेपालगंज (बाँके)
किशोरी समूहमा बसेर बालविवाह गर्न हुन्न भन्ने थाहा पाएपछि बर्दियाका किशोरी अहिले कलिलै उमेरमा गरिने बालविवाह रोक्न वडामा सक्रिय भएका छन । आफनो गाउँ–टोलका उमेर नपुगेका किशोरीलाई बालविवाह गर्दा स्वास्थ्यमा पर्ने असर, आइपर्ने कानूनी समस्या र शिक्षाको महत्वबारे पनि सिकाउँछन ।
बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १२, कालिकानगरकी निरुता बिक स्थानीय किशोरी समूह आबद्ध हुनुहुन्छ । किशोरी समूहमा आबद्ध भएपछि निरुता आफु सचेत मात्रै हुनुभएको छैन, उहाँले गाउँ–टोल तथा वडामा बालविवाह गर्दा हुने बेफाइदाका बारेमा आफुले जानेका, बुझेका कुरा बाँड्दै हुनुहुन्छ ।
निरुताले भन्नुभयो, ‘किशोरी समूहमा जोडिने किशोरीहरुको संख्या बढ्दै गएको छ । समूहमा हामी बालविवाह गर्नु हुदैन, बालविवाह गरेमा हुने कानूनी कारबाही, यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी लगायतका विभिन्न बिषयमा छलफल गर्छौं ।’
१५ वर्षीया निरुताले आफनै दाजुको हुन लागेको बालविवाह र गाउँकै एक जना अर्की किशोरीको हुन लागेको बालविवाह किशोरीहरुको समूहले अभिभावकहरुलाई संम्झाई बुझाई गरी रोकेको अनुभव पनि सुनाउनुभयो ।
यस्तै गुलरिया नगरपालिका वडा नम्बर १२ की सपना परियार पनि २ बर्षयता देखी बालविवाह विरुद्धको सचेतनामूलक अभियानमा लाग्नुभएको छ । गाउँमा बालबिवाह हुदै भन्ने कुरा थाहा पाउन बित्तिकै सपना दौडी हाल्नुहुन्छ । ‘बाध्यताले होइन रहरले नै यो जिम्मेवारी लिएको हो । तर स्थानीय जनप्रतिनिधिले समयमा सहयोग नगर्दा निरास हुनुपर्छ, हुन लागेको धेरै विवाहविवाह रोक्दा गाउँमा दुश्मन (नराम्रो) हुनुपरेको छ ।’ सपनाले भन्नुभयो ।
अहिले कक्षा १० मा अध्ययरत सपना गाउँमा बालबिवाह बिरुद्ध समुदायलाइ जागरुक बनाउन समूहमा आवद्ध हुनुभएको हो ।
आफूले समूहमा बसेर बालविवाह गर्न हुन्न भन्ने थाहा पाइसकेपछि अन्य साथीलाई पनि जानकारी दिने गरिरहेको सपना बताउनुहुन्छ । ‘अहिले समूह गठन भएका वडाका किशोरीहरू बालविवाह गर्न हुन्न भन्नेमा सचेत भएका छन्,’ उहाँँले भन्नुभयो, ‘सबैलाइ बुझाउन सके बालबिवाह रोक्न सकिन्छ ।’
गुलरिया नगरपालिका–१२ की ममता थारु पनि २ बर्ष देखि किशोरी समूहमा आवद्ध हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘आफूमाथि हुने अन्यायका विरुद्धमा हामीहरू आवाज उठाउन सक्ने भएका छौं । समूहमा नभएको भए आफनै पनि सानैमा बिहे हुन्थ्यो होला जस्तो लाग्छ ।’ उहाँले समूह बनेपछि गाउँघरमा बालविवाह हुने क्रम घटेको दाबी पनि गर्नुभयो ।
थारु समुदायमा भने पहिलाको तुलनामा बालबिवाह बढेको भन्दै त्यसमा पनि मागि बिवाह भन्दा भागि बिवाह हुने गरेको उहाँको अनुभव छ ।
समुदायमा बालबिवाह रोक्न खोज्दा आफुहरु असुरक्षित भइरहेको ममताले बताउनुभयो । ‘सरोकारवालालाई दिएको सूचना समुदायमा पुग्छ । तर सूचना दिनेको परिचय गोप्य राखिदैन । सूचना चुहाएकै कारण आफुहरु समुदायको टारगेटमा पर्छौ । बालबिवाह गराउने अभिभाबक हामिलाइ दोष दिइरहन्छन । तर पनि हामी इमान्दार पूर्वक काम गरिरहेका छौ ।’
ममताले थपिन, ‘अर्काे तिर प्रमाण जुटाउन गाह्रो छ, निम्तो बाँडिए पछि मात्र सुइको पाउँछौ । जन्ममितिका लागि जन्मदर्ता खोज्न धौ–धौ हुन्छ । प्रहरी समेत प्रमाण जुटाएपछि मात्र एक्सनमा आउँछ । जसले गर्दा बिवाह मण्डप बाट बालबिवाह रोक्न थप चुनौती छ ।’
निरुता, सपना, ममता त प्रतिनिधि मूलक पात्र मात्रै हुनुहुन्छ । गुलरिया १२ मा उहाँहरु जस्तै २५ जना किशोरीहरु एकजुट भई गाउँमा हुने बालविवाहका विरुद्धमा किशोरी समूह मार्फत सचेतनामूलक कार्य गरिरहेका छन ।
किशोरी समूहले बालबिवाह मात्र होइन समाजमा हुने महिला हिंसा रोक्न पनि उत्तिकै भूमिका निर्वाह गरेको बताउँछन । गुलरियाकी अनिशा सेखले बालिका तथा किशोरी माथी हुने संम्भावित हिंसा रोक्न पहल गरिरहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘जति डर धम्की पाएपनि आफनो काम बाट बिमुख भएका छैनौं ।’
असहयोग :
बालबालिकाले स्वच्छिक रूपमा गरेको होस् या अभिभावकले गराइदिएको किन नहोस । बालविवाह रोक्नु आफैंमा चुनौतीपूर्ण काम हो । एकातिर आफुखुशी बिवाह गरिने कारण बालबिबाह रोक्न समाजमा निकै चुनौती छ । भने अर्काे तिर बालअभियान्ता आफै पनि जोखिममा छन ।
बालबिवाह रोक्न खोज्दा समुदाय र प्रहरीले समेत सहि समयमा सहयोग नगर्ने उनीहरु बताउँछन । गुलरिया नगरपालिका अन्र्तगत पर्ने वडामा विभिन्न संघ–संस्थाबाट बालविवाह न्यूनीकरणका लागि किशोरीहरूको समूह गठन गर्न मद्दत गरिएको छ ।
बालबालिकाको सूचनालाई सतही रुपमा बुझ्दा कहिलेकाहिँ समस्या हुने गरेको अधिकारकर्मी शान्ता बिकले बताउनुभयो । ‘हाम्रो काम सूचना दिने हो, प्रहरीको काम कारबाही गर्ने हो । हामी आफैं घटना सुल्झाउन सक्दैंनौं ।’
यता जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले बालअधिकारका क्षेत्रमा क्रियाशिल अभियान्ताहरु नै आफै अगाडी आउँदा जोखिममा पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खबर पुगेसम्म बालविवाह रोक्न पुग्छौं । सूचना ढिलो आउँदा पनि जोखिम बढेको हुन सक्छ ।’
स्थानीय सरकार :
बालविवाह विरुद्ध किशोरी नै लागिरहे पनि जिल्लामा बालविवाह हुने क्रम भने पूर्णरुपमा नरोकिएको गुलरिया नगरपालिका कार्यालय, महिला तथा बालबालिका शाखा प्रमुख शिला शाहले बताउनुभयो ।
न्यूनीकरणका लागि प्रयास भए पनि समाजमा परम्परागत रुढिवादी परम्परा, गरिबी, अशिक्षा र बढ्दो सामाजिक सञ्जालको दुरुपयोगले बालविवाहको संख्या पनि बढेको प्रमुख शाहको भनाई छ ।
यता गुलरिया नगरपालिकाले अहिले सम्म कुनै वडालाइ बालबिवाह मुक्त वडाका रुपमा घोषण गर्न सकेको छैन् । नगरपालिकाले १२ वटै वडामा वडास्तरको बालक्लब गठन गरेको छ । यो बर्ष बालबिवाह रोक्नका डेढ लाख रुपैंया बजेट छुटाइएको छ ।
‘एक मुष्ट बजेट बिनियोजन हुन्छ त्यहि रकम महिला, जेष्ठ नागरिक पिछडीएका समुदायलाइ भनेर छुटयाइन्छ बालबालिका क्षेत्रमा बजेट राखिदैन ।’ प्रमुख शाहले भन्नुभयो ।
उहाँले फेरी थप्नुभयो, ‘भौतिक बिकासलाइ मात्र बिकासको मापदण्ड बनाउदा सामाजिक समस्याको रुपमा रहेको बालबिवाहको समस्या झन मौलाउदै गएको छ ।’
गुलरिया नगरपालिकाकी नगरउपप्रमुख सुशिला गिरीले नबुझ्ने मधेसी, थारु समुदायले बुझ्दै गएपछि बाल विवाह गर्नु हुदैन भन्नेमा सचेत हुदै गएपनि बुझेका अभिभावकले बालविवाह गर्ने गरेको पाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘अभिभावकलाई पनि बालविवाहको असर र कानूनी कारवाहीका लागि प्रशिक्षण दिन आवश्यक देखेको छु’, बर्षौदेखि बालविवाहको संस्कार छ’, त्यसलाई भत्काउन समय लाग्छ, त्यसैले निरन्तर अभियान जारी राख्नुपर्छ ।’
उसो त, बर्दिया जिल्लामा बर्सेनि कति बालविवाह हुन्छन् भन्ने तथ्यांक कुनै निकायसँंग पनि उपलब्ध छैन ।
कानूनी ब्यवस्था :
नेपालको कानूनले २० बर्ष भन्दा मुनिको बिवाहलाइ गैरकानुनी मानेको छ । नेपालमा २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्न सकिने व्यवस्था छ । तर छिमेकी देश भारतको कानूनले १८ वर्ष पुगेकालाई बिहे गर्ने कानूनी मान्यता दिएको छ ।
नेपाल र भारतको वैवाहिक कानूनी मान्यता फरक पर्दा सीमा क्षेत्रमा बालविवाह रोक्न सकिएको छैन । गुपचुपमा भारतमै बिहे गरेर बस्ने हुँदा बालविवाहका मुद्दा कम दर्ता हुने गरेको पाइएको छ ।
अधिवक्ता (वकिल) बसन्त गौतमका अनुसार मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा ‘बीस वर्ष नपुगी विवाह गर्न वा गराउन नहुने’ व्यवस्था छ । २० वर्ष नपुगेर भएको विवाह स्वतः बदर हुन्छ । आरोप प्रमाणित भए बिहे गर्ने र गराउनेलार्ई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ ।