प्रेम विश्वकर्मा, बढैयाताल, बर्दिया ।
कमलरी बस्दाको दुःख परास्त गरेपछि परिवार, समाजलाई सघाउने उहाँको दिनचर्या बनेको छ । अर्काको घरमा कमलरी बस्दा गरेका अनुभव नै अहिले उहाँको सिक्ने र सिकाउने पाठ बन्यो ।
पन्ध्र वर्र्षअघि सुष्माकुमारी थारु कमलरी हुनुहुन्थ्यो । ‘एक जोर कपडा, एक बोरा धान र त्यस्तै अलि कति खर्चपर्च’ जुटाउन कखरा सिक्ने उमेरमा पूरा वर्षभर मालिकको घरमा कठिनपूर्ण दिन बिताउनु पथ्र्यो । यो थारु युवतीको रहर नभएर बाध्यता थियो ।
प्रत्येक वर्ष मोल–तोल साथ कमलरी पठाइने पश्चिम नेपालका ५ जिल्ला बर्दिया, बाँके, दाङ, कैलाली र कञ्चनपुरका थारु बालिका किशोरीहरु जस्तै सुष्मा पनि एक हुनुहुन्छ । कमलरी मुक्तिको लहरसँगै सुष्माले पनि त्यो नारकीय जीवनबाट मुक्ति पाइनुभयो र स्वतन्त्र हुनुभयो । अब उहाँ स्वतन्त्र हुनुहुन्छ । पिँजडाबाट निस्केको चराजस्तै उहाँ कावाखान सक्नुभयो । अनि जीवन र जीविकोपार्जन मात्रै होइन, पढ्ने अवसर पनि पाउनुभयो ।
उहाँनै सुष्मा अहिले बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ९ (शक्तिनगर सम्झना टोल) मा बस्नुहुन्छ । त्यही उहाँले जीवन र दैनिकी, जीउने शैलीमा परिवर्तन ल्याउनुभएको छ । अब उहाँ आत्मनिर्भरताका लागि आफू सिक्ने मात्रै होइन पूरै समुदायलाई सिकाउँदै हिड्नुभएको छ ।
घरको आँगनमा राखिएको डोरीको खटियामा बसेर, निर्धक्क साथ आफ्नो कुरा सुनाउदै सुष्मा भन्नुहुन्छ्, ‘त्यति बेला धेरै दुःख थियो, मेरो जीवन भन्न पाइन्थ्यो । अर्काको घरमा ३ वर्ष कमलरी बसेँ, सानै थिएँ, राम्ररी केही कुरा जान्दिनथेँ । जानिहाले पनि बोल्न पनि त पाउँन्थेँ ।’
भिडियो हेर्न यो लिंक खोल्नुहोस । सुष्मा…..
सुष्मा थारु २७ वर्षकी हुनुभयो । तर अहिले पनि उहाँको हाउभाउ, लवाइखुवाई सामान्य छ । गहुँगोरो वर्णकी, पातलो सर्लक्क जीउढाल, झट्ट हेर्दा, स्कुलकलेज जाने नव यौवना छात्राजस्ती । कलेज पोशाकमा ठाटिएर हिँड्ने हो भने कम्ता राम्री देखिनुहुन्न सुष्मा । यिनै सुष्मा अहिले गाउँभरिकी प्यारी छोरी बन्नुभएको छ । सबैले उहाँको प्रशंसा गर्छन् ।
सुष्माको घरपरिवार पहिले तत्कालीन बदालपुर, ८ बसन्ता (हाल) राजापुर नगरपालिका क्षेत्रमा बस्थ्यो । त्यही बेला उहाँ राजापुरकै एक जमिनदारको घरमा कमलरी बस्नुभयो । विगतका दिन सम्झिँदै सुष्मा भावुक हुनुहुन्छ्, ‘मेरा मालिक बाहुन थिए, खाना बनाउन पर्थेन, भाँडा माझ्ने, गोबर फाल्ने, घरआँगन बडालकुडार गर्ने, घाँस काट्ने ।’ यिनै थिए मेरा दैनिकी ।
त्यो समय धनी, जमिनदारहरुले थारु समुदायका बालिकालाई कमलरीका रुपमा लिने चलनै थियो । हामी अवोध बालिकाहरु साहुँबाट थोरै अन्नपात र दैनिक गुजाराका लागि चुपचाप कमलरी बस्नु पथ्र्यो ।
‘गरिब दुःखीका कोही नभए भगवान हुन्छन्, एक दिन अवस्य राम्रा दिन फर्किन्छन्’ भन्ने गाउँघरमा एक किसिमको भनाइ छ । नभन्दै दुःखमा, बालश्रम, शोषणमा पर्नुभएको सुष्माका पनि दिन फर्किए । उहाँले मालिकको घरबाट उद्धार हुने मौका पाउनुभयो । कमलरीमुक्त भएपछि उहाँले आफ्नो ठूली आमाको घरमा बसेर भेरी मावि ललिता (धोविनपुर) राजापुर, बर्दियामा कक्षा १० सम्म पढ्नुभयो ।
त्यतिबेला सम्म उहाँको परिवार भने अर्काको घरमा काम गरी दैनिक गुजारा चलाउँदै आएकोे थियो । गरिबीकै कारण बसिरहेको ठाउँ छोडेर सुष्माका बुवाआमाले बढैयाताल गाउँपालिका वडा नं. ९ (शक्तिनगर सम्झना टोल) बसाइँ सर्ने निर्णय गर्नुभयो । जहाँ प्रशस्त मात्रामा सरकारी खाली जमिन थियो । जग्गा नभएकाहरुले त्यही सरकारी जमिन कब्जा गरी बसे । सुष्माका बुवाआमाले पनि अरुले जस्तो गरे त्यसैगरी बसोबास गर्न थाल्नुभयो ।
जोतभोगको आधारमापछि बसोबास गरिरहेकै ठाउँमा सुष्माका बुवाआमाले मुक्तकमैयाका नाममा ५ कठ्ठा जग्गा सरकारबाट पाउनुभयो । जग्गापाएपछि सुष्माको परिवार खुसीले गदगदभयो । जे जसो होस, अब सबै परिवार एकैठाउँमा दुःख–सुख गरी खाने, बस्ने सल्लाह गरे । घरकी जेठी छोरी सुष्मा नै रहनुभएको थियो । त्यसैकारण पनि परिवारले सुष्मालाई राजापुरबाट बढैयातालमा बोलाउने निधो ग¥यो । अनि सुष्माले राजापुर छोड्नु पर्यो । बुवाआमा सँगै बस्ने सुष्माको इच्छा त पूरा भयो । तर गरिबीका कारण पढाइले निरन्तरता पाउन सकेन ।
सुष्माको परिवार कृषिमा निर्भर थियो । थोरै जग्गाको उब्जनीले घरका सबै खर्च टार्नुपर्ने अवस्थाले धेरथोर पारिवारिक बोझ सुष्माको काँधमा आइपर्यो । बुवाआमामाथि परेको आर्थिक भार कम गरी परिवारलाई आवश्यक दैनिकी पूर्तिकै लागी सुष्माले विकल्पको बाटो खोज्नुभयो । तर उहाँसँग धेरै पढाइ थिएन ।
त्यसैकारण पनि सुष्माले बुवाआमाले गरिरहेकै कृषि पेशा अंगाल्नुभयो । तरकारी खेतीमा जोड दिनुभयो । खेतबारीमा फलेका तरकारी बिक्री गर्न सुष्माका बुवाले पनि सघाउनुभयो । आफ्नो खेतबारीले मात्र नपुगेपछि डेढ विगाह जग्गा (खेत) अदियाँ (उत्पादनमा बराबर हक लाग्ने) खेत सुष्माको जोडबलले नै लगाउन थाले । यसमा थोरै भएपनि घर ब्यवहार चलाउन सजिलो हुँदै गयो ।
सुष्माले तरकारी खेती मात्रै गर्नुभएन । प्राय : पुरुषले मात्रै गरिरहेको देखिने विद्युतीय वायरिङको काम गर्न २ महिने तालिम लिनुभयो । भन्नुहुन्छ्, ‘काम त ठीकै चलेको थियो, सदरमुकाम गुलरियासम्म जानुपर्ने, एक्लै आउजाउ गर्न अप्ठेरो लाग्यो । त्यसैले टाढा जान छोडेँ, आफ्नै घरवरिपरि पाए भने काम गर्छु ।’
विद्युतीय वायरिङ्गको कामसँगै अलि सजिलो लागेर सिलाइकटाइमा पनि उहाँले हात हाल्नुभयो । यता पनि सुष्माले ३ महिने कोर्ष पूरा गर्नुभएको छ । यो अवसर स्थानीय वडा कार्यालयले जुराइदिएको हो ।
‘लेडिजका कपडा सिलाउन सक्छु, जेन्सको सर्टमात्र आउँछ,’ सुष्मा भन्नुहुन्छ्, ‘अब सबै कपडा सिलाउन सक्ने गरी थप तालिम लिने इच्छा छ, तर त्यस्तो अवसर पाएकी छैन ।’ त्यसो त उहाँका छिमेकी भने भनेजस्तो कपडा सिलाइदिने मान्छे गाउँमै पाउँदा खुसी छन् ।
थारु समुदायमा एउटा घरमूली हुन्छ, उसले जे जस्तो भन्छ, त्यसैअनुसार परिवारका सदस्य चल्ने गर्छन् । यो अवस्था पहिले सुष्माको परिवार भित्र पनि थियो । अहिले त्यस्तो छैन । सबैको इच्छा, सरसल्लाह अनुसार काम हुन्छ । थारु समुदायले पनि पहिलेका परम्परा धेरै छोडिसके । सुष्मालाई पनि कुनै रोकतोक, छेकबार छैन । आफूखुसी काम गर्न सक्नुहुन्छ ।
बिहान सबेरै उठेदेखि राति अबेरसम्म उहाँ बेस्तै हुनुहुन्छ् । आफ्नो र परिवारको खर्च आफैं जुटाउने प्रयास गर्नुहुन्छ उहाँ । ‘पढ्छु भन्दाभन्दै छोड्न बाध्य भएँ, अब सिलाइकै काम बढाउने ठुलो इच्छा छ, साथी पाएँ भने सटर भाँडामा लिन्छु,’ सुष्माले भन्नुभयो ।
आफ्नो खुट्टामा उभिने प्रयास गरिरहनुभएका सुष्माको इमानदारिता, कामप्रतिको लगाव हेरी गाउँसमाजका विभिन्न ठाउँमा उहाँले आवद्धता हुने अवसर पाउनुभएको छ । उहाँ मुक्त कमलरीको पालिकास्तरीय समिति, बढैयाताल सचिव पनि हुनुहुन्छ ।
स्थानीयस्तरमै संञ्चालित पृथक महिला कृषि सहकारी संस्था लिमिटेडको शेयर सदस्यता र ऋण समिति सदस्यको जिम्मेवारी पनि सुष्माले पाउनुभएको छ । यहाँ उहाँ आफूजस्तै दिदीबहिनीसँग मिलेर काम गर्नुहुन्छ ।
फोटो : छिमेकी साथीहरुको बीचमा सुष्मा ।
अहिले सुष्माको मासिक आम्दानी करिब १०–१५ हजार रुपैयाँ छ । परिवारमा अन्य आम्दानीका स्रोत कम भएकाले त्यति बचत गर्न भने नसकिएको उहाँले सुनाउनुभयो । ‘आफूले गरेको कमाईबाट चार्डपर्वका बेला परिवारका लागि लुगा–कपडा, मीठोमसिनो खानेकुरा किन्न सकेको छु, आफ्ना लागि चाहिने ससानो समान किन्न सकेकी छु,’ सुष्माले भन्नुभयो ।
त्यसो त कुराकै क्रममा आफ्ना गुनासाहरु पनि सुनाउन भुल्नुभएन । आफूहरुलाई कमलरी परिचयपत्र सरकारले दिएर पनि खासै सुविधा दिएन । मालिकको घरबाट उद्धार गरिदिए, त्यसपछि के छ, के खाएका छन्, कसरी जीवन चलाए सोध्ने कष्ठसम्म नगरिएको सुष्माको भनाइ छ ।
सुष्माकुमारी थारुको नाममा नेपाल सरकार भूमिसुधार तथा व्यवस्था मन्त्रालय, भूमिसुधार, मालपोत कार्यालय बर्दियाले २०७४-०७-०१ मा मुक्त कमलरी परिचयपत्र जारी गरेको छ । यस्तै मुक्त कमलरी विकास मञ्च केन्द्रीय कार्यालय दाङले २०६३-१२-२७ मा सुष्माको नाममा मुक्त कमलरी परिचयपत्र जारी गरेको छ । यी परिचयपत्र प्रयोग गर्न नपाएकोमा भने सुष्मा दुःखी हुनुहुन्छ ।
बर्दियाको बढैयाताल गाउँपालिका अन्तर्गत पर्ने ९ वटा बडाका थारु बाहुल्य टोल बस्तीहरुमा ज्ञान, सीप सिकेर, पनि आर्थिक समस्याले गर्दा सदुपयोग गर्न नसकेका धेरै कमलरी भएको भन्दै सुष्माले राज्यका निकायबाट सहयोगको अपेक्षा गर्नुभयो ।
अहिले सुष्माको ७ जनाको परिवारमध्ये बुबाआमा र बुहारीले खेतीपाती गर्नुहुन्छ्, भाइ ज्याला मजदुरीको काम गर्नुहुन्छ भने एउटा बहिनी अपाङ्गगता हुनुहुन्छ । अर्को एउटा सानो नानी छ । सुष्मा पनि आफ्नै ठाउँमा केही गर्नुपर्छ, भनेर निरन्तर खटिरहनुहुन्छ ।
लगातारको कमलरी आन्दोलनपछि सुष्मासँगै अन्य दुई साथीले पनि मालिकको घरबाट उद्दार हुने अवसर पाएका थिए । तीमध्ये एकले ल्याब र अर्कीले एएनएमको कोर्ष गरिसक्नुभएको छ । कति साथीसंगीको बिहेभई बालबच्चा हुर्काउन थालिसके । सुष्मा भने अहिलेसम्म सुखद भविष्यको खोजीमै हुनुहुन्छ । बिहे गर्न परिवार कतैबाट दबाब नआएको, आफूखुसीले बिहे नगरी कुमारी नै बसेको सुष्मा बताउँनुहुन्छ ।
#कमलरी #बर्दिया #बढैयाताल
यो प्रोफाइल स्टोरी मिसन टुडे दैनिकमा २२ असोज २०७८ अकंमा प्रकाशित छ ।