सूचना प्रणालीमा बडघर

  ।   २०७८ आश्विन १९, मंगलवार १५:४८

आधुनिक शैलीमा छलफल, बैठक गर्दै बड्घर, स्रोत : वीरबहादुर थारु …

प्रेम विश्वकर्मा, बढैयाताल, बर्दिया

  • सर्वसाधारणदेखी देश, दुनियाँका घटनाहरुमा अपडेट भइरहनुपर्ने, नीति निर्माता, नियमक निकायहरुसम्म इन्टरनेट, प्रविधिमा आधारित डीजिटल नोटिसमै अभ्यस्त हुन थाले । बढ्दो इन्टरनेट, प्रविधिको प्रयोगले बड्घरको चलफिरमै बदलाव ल्याईदिएकोे छ ।
    ……………………….
    सूचना दिन फोन गरेर हुन्छ, चौकीदार खटाएर हुन्छ, आफैं पुगेर्, भनेर होस, गाउँघरको भेला, श्रमदान जस्ता काममा बडघरहरुको ठूलो भूमिका छ, उनीहरुलाई लिन सक्नुपर्छ । अहिले पनि बडघरले नभने सम्म उनीहरु मान्दैनन् । 
    ……………………….

बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ६ मैनापेखरका पर्शुराम थारु बडघर चुनिन लागेको ६ पटक भइसक्यो । पहिले फोनको जमाना थिएन, मान्छे गएर भन्थे, चोक सडकमा पर्ने घर, रुखहरुको भित्तामा सूचना टाँस्थे । गाउँको खबर सुनाउन घर–घरमा चौकीदार पुग्थे ।

अहिले सबैको हातहातमा मोबाइल फोन छ । फोनबाटै धेरै काम गर्न सकिन्छ । युवापुस्ता पढेलेखका छन् । जमानाअनुसार चल्न सक्ने भए । बडघर पर्शुराम भन्नुहुन्छ, ‘पहिले जस्तो घरमै पुगेर भेट्नु पर्दैन । हातको फोनबाटै धेरै कुरा हुने रहेछ, पुस्ता फेरिएसँगै बडघरको सिकाइ, मान–मर्यादामा समेत परिवर्तन भइसक्यो ।’

अहिलेका डिजिटल सूचना प्रविधिले बडघरलाई फाइदा पु¥याएको पर्शुरामको अनुभव छ । भन्नुहुन्छ्, ‘मौलिक अधिकार अन्तर्गत स्थानीय सरकारले अलग्याएर होइन सँगै लैजाँदा राम्रो हुन्छ ।’

बढैयाताल गाउँपालिका क्षेत्रका अधिकांश बड्घरहरु किसान छन् । सानो किप्याट मोबाइल भएपनि सबैका घरमा भेटिन्छ । बड्का बडघरसमेत रहनुभएका पर्शुरामको बुझाइ छ, घरमा कोही न कोही पढेलेखेकै हुन्छन्, ‘वडा, पालिका जताबाट । सूचनाआए पनि थाहा त पाइहालिन्छ । अहिले केही संस्थाले बडघरलाई क्षमता विकासका तालिमहरु दिइरहेका छन् । थोरै गाउँपालिकाले पनि बैठक बस्न लगायतको कामका लागि सहयोग गरेको थियो ।’

बडघर प्रथा कायमै रहेको क्षेत्रमा बडघरको अधिकार क्षेत्र खुम्चिँदै गएको देखेर बढैयातालवासी बड्घरहरु संगठित हुन थालेका छन् । जनश्रमदानका बेला मात्र बडघरलाई सम्झिने होइन अब, लिखित दस्तावेज अनुसार काम गर्नुपर्छ भन्नेमा उनीहरु पुगेका छन् ।

महिलाबाट पहिलो पटक बड्घर बन्ने अवसर पाउनुभएकी बढैयाताल– ८ नयाँबस्तीका बालकुमारी चौधरी भन्नुहुन्छ्, ‘सबै काम बडघरले गर्नुपर्छ, बडघर नभई नहुने, जतापनि बड्घर नै बोलाउ भन्छन् ।’

‘फोन–फोनमा कुरा गर्छम, प्रत्येक महिनाको पहिलो शनिबार बैठक बस्छ, कतैबाट केही सूचना आए चौकीदार खटाएर भन्न लगाउँछु,’बड्घर बालकुमारीले थप्नुभयो ।

गाउँका मान्छेले आफूलाई बडघर बनाइदिएपछि पहिलेभन्दा धेरै राम्रो काम गर्न सकेको उहाँको दाबी छ । भन्नुहुन्छ्, ‘म आएपछि गाउँमा महिला बडघरले राम्रो काम गरेको छ भन्छन्, गाउँमा बत्तीको समस्या थियो, अहिले समस्या हटेको छ ।’

बडघरलाई वैधानिकता

बडघर प्रथालाई बैधानिकता दिलाउन बडघर ऐन निर्माणमा उनीहरु जुटेका छन् । स्थानीय मैगर सामुदायिक संस्थाको तथ्यांकअनुसार बढैयाताल गाउँपालिका अन्र्तगतका ७ वडामा बडघर प्रथा अहिले पनि मानिन्छ, यहाँ ३६ वटा गाउँ छन् ।

यी ३६ गाउँमा एक/एक जना मूल बडघर क्रियाशील छन् । प्रत्येक टोलमा सहायक बडघर पनि चुनिएको छ । र, गाउँपालिकामा १३ सदस्य बड्का बडघर पालिकास्तरीय समिति पनि बनाइएको छ ।

यही पालिकास्तरीय बड्का बडघर समितिका अध्यक्ष पर्शुराम हुनुहुन्छ । जसको मझला बडघर (उपाध्यक्ष) बिष्णु थारु, लेखनदरिया (सचिव) राजेन्द प्रसाद थारुलाई तोकिएको छ ।

मैगर सामुदायिक संस्था, बढैयातालका बडघर सशक्तीकरण कार्यक्रमका सहजकर्ता वीरबहादुर थारुका अनुसार पालिका भित्र पर्ने ७ वटा वडामा बडघर प्रथा मान्ने चलन छ । वडा नं.१ र २ मा भने थारु बाहुल्यता नभएकाले यो चलन पनि छैन ।

प्रत्येक माघ महिनाभरिमा खोज्नी, बोझ्नी अर्थात् अधिवेशन गरिन्छ । यही बेला बडघर (अध्यक्ष), चौकीदार, गुरुवा (झारफुक गर्ने), लुहार (फलामका भाँडावर्तन बनाउने) लगायतका व्यक्तिहरु छान्ने गरिएको सहजकर्ता वीरबहादुरले जानकारी दिनुभयो ।

उहाँकाअनुसार बर्दियाका ८ पालिकामध्ये ४ वटा बाँसगढी, बारबर्दिया, ठाकुरबाबा र मधुवन नगरपालिकाले बडघर ऐन नै पास गरिसकेका छन् । बढैयातालमा भने बडघर ऐन निर्माण प्रक्रियामा छ ।

के हो बडघर प्रथा

थारू समुदायको मौलिक सञ्चार प्रणाली नै बडघर प्रथा हो । बडघर थारू आदिवासीको परम्परागत वा प्रथाजनित प्रणाली हो । बडघरलाई ठाउँअनुसार कहीं भलमन्सा त कहीं महताँवा भनिन्छ ।

गाउँघरको झैझगडाको छिनोफानो, विकास निर्माणका काम गर्नेदेखि पूजापाठ, बिहेवारी जस्ताकार्य यही प्रणालीअन्तर्गत हुने गर्छ । गाउँको सामाजिक, धार्मिक, सांस्कृतिक, न्यायिक काममा नेतृत्व दिने काम बडघरले गर्छ । प्रत्येक वर्ष माघीमा बडघर प्रमुखको छनोट गरिन्छ । उसको कार्यावधि एक वर्ष हुन्छ । प्रत्येक घरका एक–एक सदस्यगाउँमा आयोजना गरिने ख्याल अर्थात् वृहत् बैठकमा उपस्थितभई सर्वसम्मत ढंगले बडघर अर्थात् प्रमुख चयन गर्ने गरिन्छ । बडघरको माध्यमबाट थारूहरूको प्रथा वा परम्पराका काम गर्ने प्रणाली नै बडघर हो ।

बडघर मातहतमा अन्य चौकीदार (अगुवा), चिराकी (हुलाकी), देशबन्ध्या गुरुवा –तन्त्रमन्त्र गर्ने मान्छे), भलमन्सा, केसौका (सहायक गुरुवा) व्यवस्था हुन्छ । यी पद धारण गर्ने व्यक्ति सबैको आ–आफ्नै जिम्मेवारी र कर्तव्य हुन्छ ।

थारू समुदायमा चौकीदार तथा चिराकीले गाउँको अग्लो ठाउँबाट जोडले कराएर सुसूचित गर्थे । गाउँको मूलगल्लीमा एकाबिहानै हिँडेर जोरले कराई दिनभरिको कार्यक्रम जानकारी गराउने उनको जिम्मा हुन्छ । एकाबिहानै गाउँभरिका मानिसले सुन्नेगरी अग्लो रूख तथा टौवा (पराल राख्ने ठाउँ) या घरको छानामा गई जोडले कराई सूचना प्रवाह गर्थे ।

गाउँलाई सुसूचितगर्ने अर्को उपाय घर–घरमा गई जानकारी गराउनु हो । गाउँको परम्परागत सीप, ज्ञान र सूचना प्रणाली संरक्षणमा सबै गाउँवासी एकताबद्ध भई लाग्न र अनुशासन कायम गर्न बडघर प्रणाली र प्रथाजनित सञ्चार प्रणालीले महत्वपूर्ण भूमिका रहिआएको छ ।

आधुनिक सूचना प्रणालीले परम्परागत सूचना प्रविधि विस्थापन गरेको छ । थारू गाउँमा आफ्नै शैली, रहनसहन र परम्परा छ । त्यसको संरक्षण र सम्बद्र्धन गर्न प्रथाजनित सञ्चार प्रणालीले अग्रणी भूमिका खेलेको छ । साथै आत्मीयता, आफ्नोपन र पहिचान संरक्षण गरिआएको छ । त्यसैले सञ्चार प्रणाली थारूको मौलिकता झल्काउने गर्छ । आधुनिक सूचना प्रणाली अनुशरण सँगसँगै परम्परागत सूचना प्रणालीलाई समेत संरक्षण गर्न सके सूचना प्रविधिमा थप टेवा पुग्ने देखिन्छ ।
(लक्की चौधरी, तुवाचुङ डटकम, २०७७ साउन २५)

डिजिटल सूचनाप्रविधि

कोभिड–१९ देखिए यता सार्वजनिक महत्वको सूचनाका लागि तपाईंको पहिलो स्रोत के हो ? तीन–चारवटा विकल्प प्रस्तुत गर्दै प्रश्न सोधियो भने स्वाभाविक रुपमा अधिकांशले भन्नेछन्, अनलाइन न्यूज पोर्टल । भर्खरै एक दशर्नाचार्य तहका शोधार्थीले आफ्नो शोधका क्रममा नेपालका २० देखि ५० वर्ष उमेर समूहका सय जना सहरिया व्यक्तित्वसँग राखेको प्रश्न थियो । दैन्दिनको जीवनमा तपाईं कुन माध्यमबाट समाचार प्राप्त गर्नुहुन्छ ? उहाँले उक्त वस्तुगत प्रश्नमा चारवटा विकल्प प्रस्तुत गर्नुभएको थियो । अनलाइन, छापा, रेडियो र टेलिभिजन । सोधिएकामध्ये ६४ प्रतिशतले अनलाइन माध्यम भन्ने उत्तर दिए । (बुढाथोकी, २०७१), (संहिता जर्नल असार २०७८ पृष्ट ४) बाट ।

हो, हिजोआज सार्वजनिक महत्वका धेरै सूचना इन्टरनेट, डिजिटल प्रविधिमा आधारित छन् । बढैयाताल गाउँपालिकाको सन्दर्भमा मात्र हेर्दा पनि पालिकाले सार्वजनिक महत्वका सूचना प्रवाह गर्न बेवसाइट चलाएको छ ।

ऐन, कानुन तथा निर्देशिका, पालिकाबाट प्रदान गरिने सेवा, कर तथा शुल्क, बजेट, नीति तथा कार्यक्रम, जनप्रतिनिधि, कर्मचारीको सम्र्पक नम्बरसहितका विवरण जानकारी बेवसाइटमा राखिएको छ ।

फेसबुक, ट्वीटर, युट्युब पालिकाको नामबाट सञ्चालनमा ल्याएको छ । यसबाट पालिकाले आफ्ना गतिविधि सार्वजनिक गर्ने गर्दछ । यस्तै गरी मोबाइल एप्लिकेसन बनाएर पालिकालाई आधुनिक प्रविधिमा जोडिएको छ ।

फोटो : बढैयाताल गाँउपालिकाको नक्सा...

यसो गर्नुको अर्थ सूचनाको हकसम्बन्धी ऐन २०६४ कार्यान्वयन गरी सूचनामा सबै नागरिकको पहुँच बढाउनु पनि हो ।

मिश्रित जनजातिहरुको बसोबास रहेको बढैयातालमा थारु समुदायमा आधारित बडघर प्रथा मान्नेहरुका आफ्नो छुट्टै मातृभाषा, कलासंस्कृति छन् । त्यसैलाई मध्यनजर गरी सहजताका लागि स्थानीय पालिकाले इन्टरनेट, डिजिटल प्रविधिमा आधारित सार्वजनिक महत्वका सूचना थारु भाषामै प्रकाशन, प्रसारण गर्ने प्रयास गरेको छ ।

‘पालिकाले स्थानीय रेडियोसँग समन्वय गरी थारु भाषामै जिंगल प्रसारण गरेको छ । वडा कार्यालय, जनप्रतिनिधि, बडघरसँगको समन्वयमा चौकीदारहरु खटाएर पनि सार्वजनिक सूचनाहरु घर–घर पु¥याइरहेका छौं,’ बढैयाताल गाउँपालिकाका सूचना अधिकारी कमल खड्काथोकी भन्नुहुन्छ्, ‘पालिकाबाट हुने योजनाहरुमा बडघरलाई समावेश गर्न उनीहरुलाई सहज हुने वातावरण निर्माण गर्ने भन्नेछ । बडघर ऐन पनि छलफलकै क्रममा छ ।’

बढैयाताल गाउँपालिका लुम्बिनी प्रदेशको बर्दिया जिल्लाअन्तर्गत रहेको पालिका हो । बढैयातालमा घरधुरी सर्वेक्षण २०७४ को तथ्याङ्कअनुसार सबैभन्दा धेरै ३९.२ प्रतिशत तराईका जनजातिको बसोबास रहेको छ ।

शिक्षण पेशामा आबद्ध रही लामो समयदेखि थारु बाहुल्यक्षेत्रमा कार्यरत मुक्त कमैया आधारभूत विद्यालय बढैयाताल ९ का प्रधानाध्यापक हितराज पाण्डेको अनुभवमा बडघरका परम्परा, संस्कार उही छन् । उहाँले सामाजिक दृष्टिकोणबाट हेर्दा भने केही सुधार भएको बताउनुभयो ।

भन्नुहुन्छ्, ‘बडघरको सोच, कार्यक्षमतामा परिवर्तन भएको छ, जस्तो कि, पहिले अभिभावक भेलागर्नु प¥यो भने मान्छे पठाउन मान्थेनन् । बच्चाहरु कम पठाउँथे । अहिले पनि फोन गरेर हुन्छ, चौकीदार खटाएर हुन्छ, आफैं पुगेर्, भनेर होस, गाउँघरको भेला, श्रमदान जस्ता काममा बडघरहरुको ठूलो भूमिका छ । बडघरले नभने सम्म मान्दैनन् पनि ।’

#बड्घर   #सूचना   #बढैयाताल  #बर्दिया

Next Post

गाउँ-नगरपालिकाको संख्या र सिमाना बदलिएला ?

२०७८ आश्विन १९, मंगलवार १५:४८
संवाददाता । २०७४ सालमा चुनिएका स्थानीय जनप्रतिनिधिको समयावधि २०७९ साल वैशाख २० गते सकिँदैछ । यस हिसाबले स्थानीय तहको आवधिक निर्वाचन हुन सात महिनामात्रै बाँकी देखिन्छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा गाउँपालिका वा नगरपालिकाको संख्या र सिमाना हेरफेर गर्नुपर्ने भएमा गाउँपालिका तथा नगरपालिकाको निर्वाचन हुने मितिभन्दा कम्तीमा एक […]

सम्बन्धित समाचार