कोभिड–१९ को विश्वव्यापी महामारी पहिलो लहर, भन्दा दोस्रो लहर पश्चिम नेपालका तराई क्षेत्रमा पर्ने बाँके, बर्दियाका लागी निकै घातक र संक्रामक भई समुदायमा ब्यापक फैलियो । घर–घरमा संक्रमित भेटिए ।
पहिलो लहरका समेत गरी दुई वर्षको अवधिमा बाँकेमा जेठ २५ गते अपराहन्न साढे ४ बजे सम्म १७२८५ संक्रमित र बर्दियामा ५०७२ संक्रमित पुगेका छन् । तर संक्रमित मध्ये बाँकेमा १६६८३ जना र बर्दियामा ३८७३ संक्रमित निको भएका छन् ।
दुखत कुरा भन्नु पर्छ । चीनको वुहान शहर बाट सन २०१९ को अन्त्यतिर एक ल्याब बाट फैलिएको भनिने कोभिड, सन २०२१ मा आइपुग्दा भाइरसका स्वरूप फेरिएको भनिन्छ । तथापी यस बारेमा बृहतर अनुसन्धान हुने क्रम जारी छन ।
ठ्याक्कै यहि हो भन्न सकिने अवस्था भने होइन । कोभिडको स्वरूपमा परिवर्तन आई कतिलाई डबल भेरियन्ट भन्न थालिएको छ । भारतीय भेरियन्ट, युके, युएस, अफ्रिकन सहितका नाम चर्चामा सुनिन्छन ।
हाम्रो भारत संग खुल्ला सिमानाका भएका कारण पनि बाँके, बर्दिया अझ बढी जोखिममा परे । देशकै ठुला सिमानाका मध्येमा पर्ने एक नेपालगंज जमुनाह रुपैडिहा (भारत) को यहा पर्छ ।
कोभिड महामारीको समयमा यही नाका भएर आउने नेपालीहरुको भीड थामि नस्कनु थियो ।
२०७८ वैशाख १ गते देखी २०७८ जेठ १५ गते सम्म भारतबाट ६१ हजार ८ सय ७६ जना व्यक्ति नेपाल आएको इलाका प्रहरी कार्यालय जमुनाह बाँकेको तथ्याकं छ । भने नेपालबाट ८ हजार ६ सय ६८ जना व्यक्ति बाहिरीएका छन् ।
शुरुवाती दिनहरुमा फर्किनेहरुको व्यवस्थापन राम्रो संग हुन नसक्दा यहाँका गाँउ समाजमा सहज कोभिडको भाइरस पुग्यो ।
धेरै जोखिममा भएका, शिकिस्त अवस्थाका नागरिकलाई बचाउन खास गरी यहाँका ठुला भनिने भेरी अस्पताल, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंज र कोहलपुर (त्यहाँ कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मीले निकै प्रयास गरे ।
तर पनि जेठ २५ गते २०७८ सम्म बाँके जिल्ला भित्रका ३०३ जना र बर्दिया जिल्ला भित्रका ११७ जनाले ज्यान गुमाएका छन् ।
त्यसमा पनि अझ बाँकेको नेपालगंज कर्णाली र सुदुर पश्चिम प्रदेशका जिल्लाको रिफरल सेन्टर नै भएकाले यहाँ उपचारका लागी बाहिरी जिल्लाबाट आई कोभिडको संक्रमण बाट मृत्यु भएका ब्यक्तिहरुको संख्या २०७८ जेठ २५ गते अपराहन्न ४ बजे सम्म ३२२ जना पुगेको बाँके जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को अभिलेख छ ।
कोभिड–१९ संगको युद्धमा लड्दा–लड्दै ज्यान गुमाए ती अधिकांश नागरिक (जो बिना बर्दीका) सेना थिए ।
उनीहरूको बर्दिवाल नेपाली सेनाले अन्तिम सलामी संगै घर परिवार– आफन्त, शुभेक्छुकजन संगको समन्वयमा सम्मान पूर्वक अत्येष्टी गर्यो । तिनै जो बिना बर्दिका सेना कोभिड–१९ संगको शारीरिक प्रतिक्षा रक्षा प्रणालीको युद्धमा शहिद हुन पुगे ।
उनीहरुको उच्च सम्मान र इतिहासिक दस्ताबेजका लागी हामीले एउटा बिशेष अभिलेख तयार गर्नुपर्छ भन्ने सोचेर कोभिड संक्रमित, निको भएका संख्या, मृत्यु भएकाहरुको वास्तविक विवरणहरु काउनडाउन गर्ने कार्यलाई अझ बढायौं ।
यो बिषयमा गुड न्युज साप्ताहिक पत्रिका, गुड न्युज खबर डटकमका प्रधान सम्पादक डक्ट प्रसाद धिताल र दैनिक नेपालगंज पत्रिका, नेपालगंज न्युज डटकमका प्रधान सम्पादक झलक गैरे सँग मेरो समन्वय र कुराकानी भइरहेको थियो ।
कसैको आत्म सम्मान, प्रतिष्ठामा ठेस लागोस भन्ने हाम्रो उद्देश्य होइन ।
व्यक्तिगत गोपनियता, प्रेस काउन्सिल नेपालद्वारा पत्रकार र सञ्चारमाध्यमका लागि जारी निर्देशिका, २०७६, प्रेस काउन्सिल ऐन २०४८ र पत्रकार आचारसंहिता, २०७३ (संशोधित–२०७६) लगायत नेपालको संविधान २०७२, स्थानीय, प्रदेश, संघिय सरकारका मापदण्ड, ऐन, नियम राष्ट्रिय र अन्तराष्ट्रिय तहमा अपनाईएका शैली, बिधि अनि प्रक्रिया, सामाजिक जनउत्तर दायित्व, जिम्मेवारी, कर्तव्य जस्ता कुराहरुमा हामी सजक, सचेत थियौं ।
महामारीका बेला यहाँ सूचनाका त बमबारी नै थिए । र पनि हामीले आधिकारिता खोज्यौ । तर हाम्रा मागको सुनुवाई भएन । यहाँ राज्यका शासक तथा प्रशासकहरू कोभिड संग सम्बन्धित धेरै नाम ठेगाना सहितका मृत्यु सम्बन्धीका सम्पूर्ण विवरण लुकाई बसे । आफै संक्रमित भईहाले पनि प्राप्त रिपोर्ट आफनै हो की होइन भनी पुष्टि गर्न मुस्किल हुने ।
संक्रमित, मृत्यु सम्बन्धीका विवरणहरु गोप्प राखिनु यो आशंकाको बिषय बन्यो । “अस्पताल, स्वास्थ्य कार्यालय, स्थानिय प्रशासनले संक्रमित, मृत्युका विवरण लुकाई रहँदा, यता सर्वसाधारण भने म कोभिड संक्रमित भए ।
मेरो आफन्त फलानोको कोभिडबाट मृत्यु भयो । भनी सार्वजनिक गर्नेहरुको होडबाजी । सामाजिक संजालहरु त हेरी नसक्नु थियो।“ आजकाल त झन हात–हातमा स्मार्ट, एन्ड्रोयड मोबाइल फोन भएपछि एकपटक क्लिक गर्यो कि छिनभरमै विश्वभर पुग्छ ।
यसैबाट प्रष्ट हुन्छ की राज्य संयन्त्रको लापरवाही कति सम्म रहेछ, र पहुँच विहिन आम नागरिकहरुले कोभिड बाट मात्रै यहाँ ज्यान गुमाई रहेका छैनन् ।
यहाँ मान्छेको मृत्यु शव माथि आन्तरिक चलखेल, नाफा घाटाको लेखा जोखा सहित आन्तरिक व्यापार चलिराखेको रहेछ । यहाँ मृत्यु माथि पनि विभेद, ठुला नाम चलेका सत्ता र शक्तिमा भएका व्यक्ति, सर्वसाधरण भनी छुट्याइने रहेछ ।
कतिका विवरण छिन भरमै बाहिरीन्छन तर कतिका सूचनाको हक अर्न्तगत लिखित रुपमै माग्दा पनि पाइदैनन ।
उता आम नागरिकले आफु संग उपलब्ध भएका स्रोत साधान, फेसबुक, टुइवटर लगायतका विभिन्न सामाजिक संजाल मार्फत कोभिड बाट आफन्त गुमाएको भनी जानकारी सार्वजनिक गरि रहेको फेला पर्ने ।
यो त “धुम्रपान र मद्यपान स्वास्थ्यका लागी हानीकारिक छ“ भनी प्रचार गर्ने अनि सरकारले त्यहि चुरोट र रक्सीमा सबै भन्दा बढी कर लगाई, लाइसेन्स दिइ उत्पादन, विक्रि वितरण गर्न छुट दिए सरह भएन र ? अर्थत कि सबै दिनु, कि त कुनै, कसैको कतैबाट पनि विवरण नदिने गरी रोक लगाउनु नी । अटेरी गर्नेलाई कारवाही प्रक्रियामा ल्याउनु पर्ने, भन्ने नै हो हाम्रो भनाई ।
अन्तिम छड्के सलामी :
बाँके र बर्दिया मात्र नभई देशका सबै जसो जिल्लामा कोभिडबाट ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापन नेपाली सेनाले शुरुवात देखी नै गरि रहेको छ ।
मृतकको घर परिवार आफन्त लगायतको समन्वयमा धर्म, परम्परा संस्कार बमोजिम नेपाली सेनाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै अन्तिम छडके सलामी अर्पण गर्दै कोभिड बाट मृत्यु भएका भनिएकाहरुको विदाई गर्छ ।
यो नेपाली सेनाको प्रशांसनिय कार्य हो । देशको सेना जसले दैनिक बिना बर्दिका सेना हुन वा अन्य बर्दिवाल किन नहुन, उच्च सम्मान साथ सलामी सगै विदाईको हात हल्लाई रहेको छ ।
यहाँ अहिले सम्म शान्तीपुर्ण अवस्थामै संक्रमितको शव व्यवस्थापन भइरहेको छ । कोभिडको पहिलो लहरका बेला शव ओर्साने शव वाहन, एम्बुलेन्सको समस्या भए पनि दोस्रो लहरमा भने त्यति समस्या भएको देखिएन ।
पहिलो बर्ष त संक्रमित व्यक्ति ओर्सान पनि एम्बुलेन्सले मान्थेनन । नेपाल प्रहरी, स्थानिय सरकारका जनप्रतिनिधि आफ्नै गाडी लिएर घर–घर, अस्पताल, आइसोलेसन सेन्टरमा पुग्नु पर्ने बाध्यता थियो । तर यहाँ उल्लेख गर्नु पर्ने नै हुन्छ ।
सामान्य भाषामा भन्दा खेरी आज “कसको चुलोमा के तरकारी पाकेको छ, नदेखेरै सुङघेर वासना द्वारा थाहा पाउने गाउँ–टोलका मान्छे, आफन्तहरु यसरी पुरै शरीर ढाकिने गरी सेतै (पीपीई) पर्सनल प्रोटेक्टिभ इक्युवमेन्ट लगाई अघि–पछि स्यानिटाइज गर्दै शव व्यवस्थापन गरिरहेको आँखै अगाडि झल–झली देख्दा कोरोना लागेर मृत्यु भएको भनेर के थाहा नपाउलान र ? अनि हाम्रा राज्य संयन्त्रका शासक प्रशासकहरुले भने अहिले सम्म तिनै गाउँ टोल छिमेक, आफन्तले थाहा नपाउन भन्दै संक्रमित, मृत्यु सम्बन्धीका धेरै विवरणहरु गोप्य रूपमा लुकाई बसी रहेका छन ।
उता शासक प्रशासकहरु सूचना लुकाउने, यता नागरिक रोग लुकाई घुम्ने, यस्तै लुकाउने प्रवृतिले महामारी झन भुसको आगो सरी भित्र–भित्रै फैलन गयो ।
डेढ महिना देखी जिल्ला पुरा लकडाउनमा छ, मान्छेहरु किन यसरी मृत्युको मुखमा पुगी रहेका छन् । भनेर सबैको चासो बढी रहँदा पनि यथेस्ट जानकारीहरु बाहिरीन नसकी चारैतिर के हो, के ? भन्दै अन्यौलता मात्रै ।
बाहिएका विवरणमा अधिकांश संक्रमितको मृत्यु रातीमा भएको भेटिन्छ । किन ? के तथ्य बाहिरी ल्याउनु पर्दैन ।
के कोरोना बाट ज्यान गुमाएका व्यक्तिहरुले मृत्यु हुनु अघि मेरो संक्रमणको स्थिति, नाम ठेगाना, लागेको रोग, स्वास्थ्य समस्या सहित कुनै पनि विवरण सार्वजनिक नगरिदिनु, मेरो गोपनियतामा असर पर्छ भनी यहाँका प्रशासकहरूको भाषामा भन्दा लिखित कागज पत्रमा सही छाप केहि गरेका थिए र ? पक्कै पनि त्यस्तो केहि थिएन होला ।
हाम्रो विचारमा आफुले भोग्नु परेको पीडा, सास्ती बाँडेर धेरैको जिवन स्वस्थ रहोस, यस्तो कष्ट भोग्न नपरोस, यदि बाँचिन भने पनि सबैले के कस्तो भएको थियो भनेर थाहा पाउन सकुन भन्ने नै इच्छा थियो होला ।
तर हाम्रा राज्य संयन्त्रले बुझेर हो या नबुझेर दैनिक कोभिड संक्रमित, निको भएका व्यक्ति र शवहरुको काउनडाउन गरि बस्ने हामी पत्रकार तथा संचार माध्यामका लागी धेरै चुनौती थपी रह्यो, र थप्दै पनि छ ।
लकडाउनका बेला पास दिने वाहानामा होस अथवा त्यो सूचना उपलब्ध गराउने सम्बन्धमा । सधैको झनझटिलो प्रक्रिया । झन कोभिडका सूचना कतिलाई समाजमा नराम्रो असर पर्छ भनी सहजै लुकाउने बाहाना पनि बनिरहेको छ ।
राज्य संयन्त्रका प्रक्रियाले पत्रकारलाई हैरानी :
वि.सं.२०६८ सालदेखी म निरन्तर पत्रकारिता क्षेत्रमै क्रियाशिल छु ।
२०७२ साल बैशाख १२ को विनासकारी भुकम्प, २०७१-०७२ साउन २९ र ३० लगातारको अविरल बर्षा पछि बाँके बर्दिया सहितका विभिन्न जिल्लामा गएको बाढी पहिरो र २०७६ सालबाट शुरु भएको महामारी मेरो जीवनका विर्सन नसक्ने पहिलो अनुभव हुन । भुकम्प र बाढी भन्दा धेरै दुख पीडा यो कोभिडको महामारीले दियो ।
कार्य स्थल, क्षेत्रमा धेरै जोखिम मोलेर हिड्नु पर्ने वाध्यता । कोभिडको पहिलो लहरमा सुरक्षित हुन सके पनि दोस्रो लहरमा भने अछुतो रहन सकिएन । स्थानिय क्षेत्रमा रहेका मिडिया हाउसहरुको कोभिड जोखिम न्युनिकरणका लागी लगानी कम छ ।
श्रमजिवि पत्रकारहरु सके जति आफनै बलबुत्ताले भ्याए कोभिडबाट जोगीने प्रयास गर्छन । त्यस मध्येको एक म पनि हो । २०७८ बैशाख १२ गते आरटी पीसीआर जाँच गराउँदा म आफैं पनि कोभिड संक्रमित हुन पुगे ।
करिब एक साता निकै पीडा भयो । त्यसपछिका बाँकी दिनहरू केहि सहज भए । तर रोजीरोटीको माध्यम अनियमित बनि सकेको थियो । पत्रकारितामा पहिले जसरी काम गर्ने वातावरण थिएन ।
होम टु वर्क, टेलिफोन, इमेल, इन्टरनेटको भर पर्नु पर्ने बाध्यता । म मात्र नभई बाँकेमा नेपाल प्रेस युनियन बाँकेले राखेको एउटा अभिलेख अनुसार जेठ १३ गते २०७८ सम्म बाँके जिल्लामा २७ जना पत्रकार तथा संचारकर्मी कोभिड संक्रमित हुन पुगेका छन । भने १ जना संचारकर्मीको कोभिडबाट ज्यानै गएको छ ।
यस्तै बर्दियामा पनि करिब ५ जना जति पत्रकार तथा संचारकर्मीहरु कोभिड संक्रमित हुन पुगेका छन । लकडाउन र कोभिड जोखिमकै बीचमा पनि २०७८ बैशाख ३० गते हाम्रो एक योजना अनुसार लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशानालय, वुटवलमा कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिहरुको नाम, ठेगाना सहितका आवाश्यक विवरणका लागी कुरा गरÞ्यौं ।
टेलिफोन सर्म्पकमा स्वास्थ्य निर्देशानालयका सूचना अधिकारी नेत्रलाल अर्याल आए । र उनले आफु पनि स्वास्थ्यमा समस्या भएर विदामा बसेको भन्दै प्रवक्ता संग सम्पर्क गर्न भने । प्रवक्ता रोशनलाल चौधरी चाँही वरिष्ठ जनस्वास्थ प्रशासक रहेछन ।
उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोभिड फोकल पर्सन डाक्टर पुष्प राज पौडेल संग सम्पर्क गर्न भने । उनको भनाई थियो,“सबै जिम्मा उहाँलाई नै दिइएको छ ।“ लग्तै प्रदेशका कोभिड फोकल पर्सन रहेका डाक्टर पुष्पराज पौडेललाई सर्म्पक गर्दा उनले पनि “यतिकै म अहिले दिन सक्तिन भने“ ।
उनको भनाई अनुसार कोभिडबाट मृत्यु भए नभएको भनी ३ वटा कुरालाई आधार मानिने रहेछ । (१. प्रयोगशालाको रिपोर्ट २. चिकित्सकले प्रमाणित गरेको मेडिकल रिपोर्ट ३. स्थानिय तहको सिफारिस) यहि कागज पत्रका आधारमा प्रदेश सरकारले कोभिड बाट मृत्यु भएका आश्रित परिवारलाई १ लाख रुपैया राहत सहयोग गर्ने भन्ने कुरा रहेछ ।
सोही अनुसार मन्त्रालयले अहिले भेरीफिकेसन-जाँचवुझको काम गरि रहेको छ भन्ने उनको तर्क थियो ।
मन्त्रालय आफैं पनि संम्बन्धित जिल्ला प्रशासन र स्वास्थ्य कार्यालयको रिपोर्टमा भर पर्नु पर्ने अवस्थामा रहेकाले उनको सिधा जवाफ थियो, संम्बधित स्थानिय प्रशासन र स्वास्थ्य कार्यालयमा जानु होस भन्ने ।
त्यसपछि २०७८ जेठ ३ गते स्वास्थ कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत मान बहादुर नेपाली संग यस अघिको मौखिक कुराकानीका आधारमा कार्यालयको इमेलमा पत्र पठायौं ।
स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाहले माग गरिएको सूचना, जानकारी दिन नसकिने भन्दै जिल्ला प्रशासनमा सर्म्पक गर्न आग्रह गरेको भन्ने मौखिक खवर जनस्वास्थ्य अधिकृत मान बहादुर नेपालीले दिए ।
२०७८ जेठ ९ गते फेरी औपचारिक पत्र-निवेदन सहित बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल समक्ष बुझाईए पछि उनले माग गरिएको विवरण दिन नसकिने संकेत गर्दै जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली संग भेटन आग्रह गरे ।
संयोगवस रूपन ज्ञवाली प्रमुख जिल्ला अधिकारी गेलालले पत्रमा हस्ताक्षर गरेको लग्तै सोही कोठामा आइ पुगे । सोही पत्र म आफैले ज्ञवालीलाई दिए ।
सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले पनि कसरी हुन्छ सहजीकरण गरौंला भन्दै उनले पनि स्वास्थ्य कार्यालय बाट लिदा राम्रो हुने प्रतिक्रिया दिए । २०७८ जेठ १० गते त्यो पत्र कोभिड फोकल पर्सन-जन स्वास्थ्य अधिकृत नरेश श्रेष्ठ समक्ष पुगेछ ।
उनले फोन गरेर, आफुहरु संघिय सरकारको कर्मचारी भएकाले एकमुष्ट जानकारी दिन नमिल्ने तर स्वास्थ्य तथा जनसंख्या मन्नालयका अधिकारीले भने तुरून्त दिन सक्ने भन्दै उनले पनि मन्त्रालयका प्रवक्ता डाक्टर समिर कुमार अधिकारीलाई सर्म्पक गर्न सुझाव दिए ।
यस अघि काठमाडौंमा क्रियाशिल एक जना पत्रकार मार्फत डाक्टर समिर कुमार अधिकारी समक्ष कुरा पुगेको भन्ने जानकारी त आयो तर चाहिएको विवरण आई पुगेन ।
एक पटक अस्पतालमा मागी हेरौ न, भन्ने लागेर २०७८ जेठ १२ गते नेपालगंज मेडिकल कलेजका सहायक निर्देशक डाक्टर नितेश कुमार कनोडियालाई पनि आफनो रातो प्रेस कार्ड सहित मेडिकल कलेजमा कोभिडबाट मृत्यु भएका व्यक्तिहरुको विवरण आवाश्यक परेको र प्राप्त गर्ने प्रक्रिया के छ ? भनी सामाजिक संञ्जाल फेसबुक मार्फत म्यासेज गरियो तर पनि कुनै रिप्लाइ आएन । उनले म्यासेज हेरे मात्र ।
२०७८ जेठ १३ गते नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको निकाय द्वारा जारी सोही रातो प्रेस कार्ड सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्फरमेसन डिर्पाटमेन्टमा इमेल पठाए ।
किन भने यहाँ बाट तत्काल काठमाडौं जान सक्ने संम्भावना थिएन ।
इमेल पठाएपछि त्यहाबाट मन्त्रालयका प्रवक्ता डाक्टर समिर कुमार अधिकारी र मातहतको अर्को निकायमा करिब एक डेढ घन्टाको फरकमा इमेल फरवार्ड गरिएको जानकारी आयो ।
जेठ १३ गते नै एचइओसी (हेल्थ इमरजेन्सी अपरेशन सेन्टर) काठमाडौमा पनि इमेल गरियो । तर कुनै जवाफ आएन । यहि दिन बाँकेका कोभिड फोकल पर्सन तेज वली संग टेलिफोनबाट कुरा गर्दा उनले पनि यो बिषयमा यसअघि कार्यालयमा कुरा भएको तर मातहतका प्रमुखको आदेश बिना आफुले जानकारी विवरण दिन नसक्ने जनाए ।
उनले भने, “दिन समस्या छैन, तर यहाँ सबै जना आफनो टाउँकोमा भारी नआओस भन्नेमा छन । आफू जोगीन खोज्छन । मृतकका आफन्त शुभेक्छुकले नाम ठेगाना विवरण सार्वजनिक गर्नु उहाँहरुको राइटको कुरा हो । त्यही पनि म फेरी कुरा राख्छु ।“
यि यहाँ उल्लेख गरिएका कुराहरु, केहि प्रतिनिधि मुलुक दृष्टान्त मात्रै हुन । यो महामारीमा सूचना पाउन संकलन गर्न जान पत्रकारका लागी निकै असहज परिस्थिति सिर्जना भएको छ ।
बाहिर लकडाउन, चैत– बैशाख, जेठ महिनाको चर्को गर्मी, पुरै पिपिई सेट लगाएर पनि आउजाउ गर्न समस्या, कोभिड जोखिम मोलेरै भएपनि सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ अनुसार आधिकारिक निवेदन÷पत्र पेश गर्दा पनि सहज तरिकाले मागे अनुसारका सूचना, जानकारी पाउन सकिदैन ।
न त स्पष्ट सूचना, जानकारी दिन नसक्नुको जवाफ । मात्र काइते कुरा । महामारीका बेलामा यहाँ सूचना, जानकारी आदान–प्रदान गर्न सहज होस भन्ने हेतुले बाँकेका जनस्वास्थ्य अधिकृत-कोभिड फोकल पर्सन नरेश श्रेष्ठले क्रियट गरेको एउटा “कोभिड–१९ बाँके, बर्दिया“ नामक फेसबुक म्यासेन्जर ग्रुप छ । यसमा पत्रकार, स्वास्थ्यकर्मी लगायतलाई जोडिएको छ ।
कोभिड सम्बन्धीका विवरण त आउँछन । कति संक्रमित, निको, मृत्यु, अन्य अवस्था के छ ? संक्षिप्त मात्र, विस्तृत विवरणका लागी फेरी फोन घुमाउनु पर्ने । यस अघि पनि एउटा यस्तै म्यासेन्जर ग्रुप क्रियट गरिएको थियो ।
परियोजन भन्दा बाहिरका म्यासेज आउन थाले पछि ग्रुप नै रिमुभ गरियो । यो ग्रुपमा पनि केहि पत्रकार तथा स्वास्थ्यकर्मी लगायतले अनलाइनका न्युज लगायत अन्य अनावश्यक सामाग्री सेयर गर्न थालेपछि चाहेका सूचना खोज्नै, भेटन नै कठिन पर्छ । यहाँ सूचना सेयरिङ्गमा पनि एक किसिमको सिन्डीकेट हावी भएको देखीन्छ ।
भन्न खोजेको कुरा यो हो कि यहाँ शासक प्रशासकहरुले पनि आफू खुसी, विभेद पुर्ण शैलीमा सूचनाहरु लिग गर्ने गरेको पाइन्छ । कतिलाई अधिकांश सूचना, जानकारी बाड्ने माध्यम भनेकै फेसबुक बनेको छ ।
तर धेरैजसो सूचना, जानकारी अधुरा अनि अपुरा । सिमित व्यक्तिको चाकडी र चाप्लुसीले गर्दा कतिपय पत्रकार कन्फीयुजनमा परी हैरानी खेप्न बाध्य बनेका छन्।
पहिलो लहरमा केहि कोभिड वीमा गराई क्रियाशिल पत्रकारको मनोबल उच्च पार्ने प्रयास गरिएको थियो । तर दोस्रो लहरमा त्यही पनि हुन सकेन । कतिले स्वास्थ्य सुरक्षा सामाग्रीको अभावमा रिपोटिङ्ग गर्नु परि राखेको स्थिति छ ।
आरटी पीसीआर, औषधी उपचार गर्न सहज छैन । मेरो आफ्नै अनुभव २०७८ बैशाख १२ गते भेरी अस्पताल नेपालगंजमा आरटी पीसीआर गर्न जाँदा ९ घण्टा लाइनमा बसेर बल्ल पालो पाएको थिए ।
निशुल्क भएर हो की कसो हो, करिब ३६ घण्टा पछि रिपोर्ट पाए । मोवाइलमा म्यासेज आउनु पर्ने, त्यो साँझको बेला विहान जम्मा गरेको ओपीडि कार्ड भीड बाट गायव भएपछि हतारमा रहेका ति स्वाव संकलन गर्ने स्वास्थ्यकर्मीले मोवाइल नम्बर नै गलत लेखि दिएछन ।
अनि म्यासेज आएन। नाम, ठेगाना, उमेर, ठाउँ हेरेर पछि संक्रमितको विवरण हेरेर थाहा पाए । पत्रकार संचारकर्मीलाई फ्रन्टलाइनर भनी दोस्रो चरणमा कोभिशिल्ड नामक कोभिड विरुद्धको खोप नेपाल सरकारले लगाउने सुबिधा दियो ।
केहि पत्रकारलाई निशुल्क आरटी पीसीआर जाँचको सुविधा पनि दिइयो होला । तर यो महामारीका बेला यति मात्र पर्याप्त छैन भन्ने नै हो । आफुले राम्रै स्वास्थ्य सुरक्षा सावधानी अपनाए जस्तो लाग्छ ।
कोभिडले आक्रमण गरेर थला पार्न आँटेको पत्तो पाईदैन । यता जिल्लामा क्रियाशिल अधिकाश पत्रकार तथा संचारकर्मी आफनै सकेजतिको बलबुतामा कोभिडको जोखिमबाट सुरक्षित हुने प्रयास गरिरहेका छन ।
मिडिया हाउसको त्यति चासो र लगानी देखिदैन । पत्रिका छापिएर बजारमा नपुग्दा पीडीएफ फाइल तयार गरि इन्टरनेट मार्फत सेयर गर्नु पर्ने अवस्था छ । अधिकांश मिडिया हाउस डिजिटल प्लेटफर्ममा डाइभर्ट हुन थालेका छन् ।
लकडाउनका बेला प्राविधिक समस्या देखीएका मिडिया हाउसहरु बन्दाका बन्दै छन् । लकडाउन खुलेर प्राविधिक टोली नआउँदा सम्म बन्द अवस्थामा रहेका मिडिया हाउस तत्काल संचालन हुने संम्भावना छैन ।
खास गरी बाँकेको कुरा गर्दा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँके समस्यामा रहेका पत्रकार, संचार माध्यमका बारेमा आवाज उठाउनु पर्ने, राहत सहयोगका कार्यक्रम तत्काल ल्याउनु पर्नेमा उल्टो संकटका बेला तत्कालिन भन्दा दिर्घकालिन योजना अघि सारी एम्बुलेन्स खरिद गर्न चन्दा, आर्थिक संकलनमा लागेको छ ।
यसरी कोभिड महामारीलाई लक्षितगरी ल्याउने भनिएको एम्बुलेन्स अहिले सम्म आइपुगेको छैन ।
अपेक्षा :
यस्तो संकटका बेलामा हामीले त्यति धेरै आसा र अपेक्षा गरिनु उपयुक्त त नहोला । र पनि मुस्कान सहितको गुणस्तरिय सेवा दिन, प्रक्रियागत रूपमा माग गरिएका सूचना, जानकारी छिटो, सके सम्म सहजै किसिमले स्पष्ट जवाफ फर्काउने वातावरण भइ दिइयोस भन्ने लाग्छ ।
आखिर प्रेस काउन्सिल नेपालद्वारा पत्रकार र सञ्चारमाध्यमका लागि जारी निर्देशिका, २०७६ ले पनि कोभिड संम्बन्धीका सूचना आधिकारिक निकायबाट पुष्टि गरी सार्वजनिक गर्न सकिने भनेको छ ।
ताकी कोहि कसैको व्यक्तिगत गोपनियता लगायतमा असर नपरोस । सूचना जानकारी सार्वजनिक गर्ने सम्बन्धमा तोकीएका फोकल पर्सनहरुलाई काम गर भन्ने, तर हात खुट्टा बाँधेर खटाउने भन्दा पनि पुर्ण अधिकार सहित जिम्मेवारी दिनुपर्छ भन्ने लाग्छ ।
चिठ्ठी पत्र–फोन कल, म्यासेज, इमेलको रिप्लाई गरियोस, यसले गर्दा सूचनाको हक पनि सहजै कार्यन्वयन भई सुनिश्चित हुन्छ । राज्य संयन्त्रभित्रका सूचनामा कायम एक किसिमको सिन्डीकेट तोडीनु पर्छ। यसमा नेपाल पत्रकार महासंघले समन्वयकारी भूमिका निर्वाह गरिदिनु पर्छ ।
दरिलो प्रशासक, जनताका सेवक बन्न नसक्नु र राज्य सत्ता र शक्ति बीच फुट हुनु महा विपतिमा ठुलो कमजोरी भइरहेको छ। सिजनका बेला खेती गर्ने किसानले मलाई गर्मी भयो । हलो जोत्न, खन्न सक्दिन, खेती गर दिन भनेर हुन्छ र ।
जाडो, गर्मी, पानी, भोग, प्यास थकाइ केहि नभनी अन्न उत्पादन गर्नु पर्ने हुन्छ । जति चोट, लागे पनि सहनु पर्छ ।
शासक, प्रशासक ज्यू हरुका लागी यो महामारी सिजन त होइन तर सके जति सूचना मैत्री भई सेवा गर्ने अवसर भने पक्कै हो । तथापी, हामी पत्रकारले आफनो दायित्व र पत्रकार आचार संहितलाई भने भुल्न हुँदैन ।
- (लेखक ग्रामिण क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्छन ।)
प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन संहिता असार–अङ्क ४९ मा प्रकाशित २०७८ ।
#कोभिड #महामारीमा #सूचनाको #बमबारी