जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रूपमा फुमिओ किशिदा निर्वाचित

चाडैं प्रधानमन्त्री बन्ने संम्भावना

  ।   २०७८ आश्विन १४, बिहीबार ०६:५९

संवाददाता ।

जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रूपमा फुमिओ किशिदा निर्वाचित हुुनुभएको छ । लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को निर्वाचन समितिले बुधवार उहाँलाई निर्वाचित भएको घोषणा गरेको हो ।

जापानका पूर्व विदेश मन्त्री समेत रहनुभएका किशिदाले २५७ मत ल्याएर जित हासिल गर्नुभएको निर्वाचन समितिले जनाएको छ । उहाँका प्रतिस्पर्धी तारो कोनोले भने १७० मत ल्याउनुभएको थियो ।

नव निर्वाचित अध्यक्ष किशिदा पार्टीको संसदीय दलको अध्यक्षमा समेत निर्वाचित भइ प्रधानमन्त्रीसमेत हुने सम्भावना रहेको छ । आउँदो अक्टोबर ४ तारिखका दिन उहाँ प्रधानमन्त्रीमा निर्वाचित हुने देखिएको अधिकारीहरूले जनाएका छन् । उहाँले वर्तमान प्रधानमन्त्री योशिहिदे सुगालाई विस्थापित गर्नुहुने छ । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिदाले निर्वाचित हुने मौका पाउनुभएको हो ।

सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको र कोरोना भाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफैँ पछि हट्ने निर्णय गर्नुभएको हो । उहाँ प्रधानमन्त्री भएको झन्डै एक वर्षमै बिदा हुन लाग्नुभएको छ ।

नवनिर्वाचित अध्यक्ष किशिदा अहिले ६४ वर्षको हुनुभएको छ । उहाँको जन्म टोकियोकै शिबुया सहरमा भएको हो । उहाँ सन् १९९३ देखि प्रतिनिधि सभाको सदस्य रहँदै आउनुभएको छ । सन् २०१२ देखि २०१७ सम्म विदेश मन्त्री बन्नुभएका किशिदा आफ्नो पार्टीको नीति अनुसन्धान परिषद्को अध्यक्ष पनि हुुनुभएको थियो ।

जापानको राजनीतिक परिवारका सदस्य किशिदाका बुबा र हजुरबुबासमेत प्रतिनिधि सभाको सदस्य हुनुहुन्थ्यो ।

उज्यालो अनलाइनबाट

Next Post

अख्तियारलाई काउण्टर गर्न प्रदेश २ सरकारले गठन ग¥यो जनलोकपाल आयोग

२०७८ आश्विन १४, बिहीबार ०६:५९
संवाददाता । प्रदेश २ सरकारले संविधानविपरीत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समानान्तरमा जनकलोकपाल आयोग गठन गरेको छ । अख्तियारको समानान्तरमा जनलोकपाल आयोग गठनप्रति कानुन व्यवसायी तथा संविधानविद्ले असंवैधानिक रहेको भन्दै आपत्ति जनाएका छन् । भ्रष्टाचारको नियन्त्रण र नियमन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहने संविधानमा व्यवस्था रहे पनि प्रदेश २ सरकारले […]

सम्बन्धित समाचार