
संवाददाता ।
सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्षित गरी यही १०-११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । यही असोज २१ गते घटस्थापनाभन्दा १०-११ दिन पहिल्यै टिकट खुलाउने गरी छलफल भइरहेको छ ।
यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँग समन्वय गरी अग्रिम टिकट खुलाउने गर्दै आएको छ ।
अग्रिम टिकट खुलाउन पटक–पटक छलफल भइरहेकाले आउँदो सातासम्म निर्णय भइसक्ने विभागका प्रवक्ता डाक्टर लोकनाथ भुसालले बताउनुभयो ।
उहाँका अनुसार गत साता यातायात व्यवसायीसँग दुई–तीन चरणमा छलफल भएका आधारमा आउँदो सातासम्म कति सङ्ख्यामा टिकट खुलाएर कसरी यात्रुलाई सुरक्षितरुपमा गन्तव्यसम्म पु¥याउने भनी निर्णय हुनेछ ।
सङ्घीय सरकारले पछिल्लो पटक गत असार २७ गते भाडादर समायोजन गरेको थियो । त्यसैका आधारमा सबै प्रदेश सरकारले र स्थानीय तहले भाडा समायोजन गर्नुपर्नेमा अझै गरिसकेका छैनन् ।
व्यवसायीले भाडादर समायोजन चाँडो गर्न माग गर्दै आएका छन् । भाडा समायोजनको विषयले अग्रिम टिकट खुलाउन र यात्रुलाई समयमै घर पुग्न समस्या नहुने प्रवक्ता डाक्टर भुसालले बताउनुभयो ।
उहाँका अनुसार लामो दूरीका बाटामा सङ्घीय सरकारले निर्धारण गरेको नयाँ भाडादरका आधारमा हुने तथा मध्यम दूरीमा तत्काल समायोजन भएमा नयाँ भाडादर र नभएमा पुरानै भाडादरमा टिकट काटिनेछ ।
कोभिड सङ्क्रमणको जोखिम अझै रहेकाले त्यसको असर चाडपर्व लक्षित टिकटमा पर्ने देखिएको छ ।
जे जसरी भए पनि यात्रुलाई सजिलै घर जान पाउने व्यवस्था मिलाइने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो ।
संविधान अनुसार एउटै स्थानीय तहभित्र चल्ने सवारी साधन व्यवस्थापनको जिम्मेवारी स्थानीय तह, एकभन्दा बढी स्थानीय तह र एउटै प्रदेशभित्र चल्नेको प्रदेश सरकार र एकभन्दा बढी प्रदेशमा चल्ने सवारी साधन व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारले गर्ने उल्लेख छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा २५ किमीसम्म छोटो दूरी, २५ देखि २५० किमीसम्म मध्यम र २५० किमीभन्दा बढीलाई लामो दूरीका रुपमा उल्लेख छ ।
विगतमा सबै दूरीमा यातायात व्यवस्था विभागले नै भाडादर निर्धारण गर्दै आएको थियो । अहिले त्यो जिम्मेवारी तीनै तहमा बाँडिएको छ ।
थाहा खबरबाट



