सिर्जनामा ‘माटोको स्वाद’ पस्कने सर्जक प्रकाश सपूत

  ।   २०७८ भाद्र १२, शनिबार १७:१४
unn.prixa.net

समाज र देशका समसामयिक विषयवस्तुलाई टपक्कै टिपेर शब्द–संगीतमा गाँस्न माहिर छन्, सर्जक प्रकाश सपूत । आफ्नो सिर्जनामा ‘माटोको स्वाद’ पस्कनुपर्छ भन्ने मान्यता राख्छन्, उनी । गाउँघरमा चलनचल्तीमा बोलिने शब्द, लवज, लय र भावलाई आफ्ना सिर्जनामा मिसाउँछन्, उनी । सिर्जनामा माटोकै स्वाद र भाव मिसिएकाले पनि होला सायद ।

उनले लेखेका, संगीत भरेका, गाएका वा उनको सिर्जनामा अरुले नै आवाज भरेका गीत–संगीत नेपाली लोक गीत–संगीत, संस्कृति मन पराउनेहरुका दिलमै अटाउँछन् । उनका कतिपय सिर्जनामा रुन्छन् । हाँस्छन् अनि रमाउँछन् दर्शक/श्रोता ।

नेपालीको सम्पत्ति  : मौलिक लोक गीत/संगीत

लोक गीत संगीत नेपालीहरुको सम्पत्ति रहेको उनी बताउँछन् । ‘गीत संगीत मानिसको जीवनको अभिन्न अंग हो । यो हामीसँग निकट छ । हाम्रो जीवनसँग जोडिएको छ,’ उनी भन्छन् ।

सिर्जनाहरुमा नेपाली मौलिकता, मनोरञ्जनसँगै सामाजिक सन्देश पनि समेटिनुपर्ने उनी बताउँछन् ।

‘लोक गीत–संगीतको इतिहास हेर्ने हो भने पनि सुरुदेखि नै यसमा सामाजिक सन्देश समेटिएको पाइन्छ । त्यसैले पनि मैले सामाजिक मुद्दा, परिवेशलाई आफ्ना सिर्जनामा समेट्ने प्रयास गर्दै आएको छु,’ उनी भन्छन् ।

‘गलबन्दी’, ‘बोलमाया’, ‘बदला बरिलै,’ ‘मेरो पनि हैन र ? यो देश’, ‘चरर बरर’ लगायतका थुप्रै गीतमा उनले सामाजिक मुद्दा र परिवेशलाई समावेश गरेका छन् ।

प्रेरणा : गाउँघरको सांगीतिक माहोल

सपूतकाे गृह जिल्ला बाग्लुङ हाे । अहिले काठमाण्डाैमै छ बसाइ । गाउँघरको परिवेशले नै आफू यस क्षेत्रमा आउन प्रेरित भएको उनी बताउँछन । ‘जहाँ म जन्मे, हुर्केँ त्यहाँ सांगितिक माहोल थियो । परिवेश थियो,’ बाग्लुङे ठिटो सपूतले भने, ‘यस क्षेत्रमा आउनुमा त्यही परिवेशले प्रेरित गर्यो ।’

गीतका शब्द कोर्न, संगीत भर्न, शब्द–संगीतमा प्राण भर्न (आवाज दिन), जीवन्त अभिनय गर्न र अरुलाई पनि नचाउन, अभिनय गराउन अर्थात एउटै क्षेत्रका  विविध विधामा भूमिका निर्वाह गर्न सक्ने बहुमुखी प्रतिभाका पनि धनी छन्, उनी ।

त्यसो त नेपाली लोक–गीत संगीतमा केही न केही नयाँ प्रयोग गर्न रुचाउने सर्जक पनि हुन्, उनी । उनका नवीनतम् प्रयोगलाई रुचाउँदै पनि आएका छन्, गीत–संगीत प्रेमीले ।

गीत संगीत क्षेत्रमा लागिरहेका गायक सपूतको चर्चा भने पहिलोे ‘दोेहोरी ब्याटल’बाट नै भएको हो । पहिलो दोहोरी ब्याटलबाट नै आफुलाई धेरैले ‘नोटिस’ गरेको अनुभूति उनी गर्छन् । ‘बोेलमाया’, ‘गलबन्दी’ पछि त उनले पछाडि फर्केर हेर्नु नै परेन । उनको सांगीतिक यात्रा झनै अघि बढिरह्यो ।

कोरोना प्रभाव अघिको समयमा देश तथा विदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रममा ‘डिमाण्ड’मा पर्ने गायक हुन्, उनी । सपूतका प्रस्तुती सुन्न, हेर्न उल्लेख्य संख्यामा दर्शक–श्रोता झुम्मिन्छन् ।

साधनासँगै सिंगो संगीत क्षेत्र सफलताको श्रेय

‘गलबन्दी’, ‘बोलमाया’, ‘दोहोरी ब्याटल’, ‘बदला बरिलै’, ‘यो देश मेरो पनि हैन र !’, ‘फुटेका चुरा’, ‘कुरा बुझ्न पर्च’ लगायतका थुप्रै उनका सिर्जना सर्वाधिक चर्चामा रहे, सांगीतिक क्षेत्रमा । गीत–संगीत प्रतिको समर्पण, माया, स्नेह र निरन्तरको साधना र संघर्षले आज उनी चर्चाको शिखरमा छन् । उनका सिर्जना नागरिकका हृदयमा अटाएका छन् । मनमनमा बस्न, गुञ्जन सफल छन् ।

‘आफ्नो साधना, संघर्ष मेहनत त छँदैछ,’ उनी भन्छन्, ‘आज आफू यस क्षेत्रमा स्थापित हुनुमा सबैको साथ, सहयोग, हौसला प्रेरणा छ । यसको श्रेय सिंगो गीत संगीत क्षेत्रलाई जान्छ ।’ -UjyaaloOnline

Next Post

आज पनि कोरोना संक्रमित भन्दा निको हुने बढी, बाँकेमा शनिवार १३ संक्रमित थपिए, १० डिस्चार्ज

२०७८ भाद्र १२, शनिबार १७:१४
काठमाण्डौ । लगातार दोस्रो दिन आज पनि कारोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या धेरै भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई हजार दुई सय २२ जना निको भएका छन् । अहिलेसम्म नेपालमा सात लाख १० हजार चार सय ५२ जना संक्रमण मुक्त […]

सम्बन्धित समाचार