फेसबुकमा तालिबान र उक्त लडाकु समूहलाई समर्थन गर्ने सबै सामाग्रीमाथि प्रतिबन्ध

  ।   २०७८ भाद्र १, मंगलवार १५:५७

संवाददाता ।

फेसबुकले तालिबान र उक्त लडाकु समूहलाई समर्थन गर्ने सबै सामाग्रीमाथि प्रतिबन्ध लगाएको बताएको छ । तालिबानलाई आफूले आतङ्कवादी संस्था मानेका कारण त्यस्तो गरिएको फेसबुकको भनाइ छ ।

फेसबुकले तालिबानसँग सम्बन्धित सामाग्री पहिचान गर्न र हटाउन अफगान विज्ञहरूको समूह बनाएको बताएको छ । तालिबानले वर्षौँदेखि सामाजिक सञ्जाल प्रयोग गरेर आफ्नो सन्देश प्रवाह गरिरहेको छ ।

तीव्र गतिमा अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि प्रविधि कम्पनीहरूलाई तालिबानका सामाग्रीलाई कसरी हेर्ने भन्ने कुरामा समस्या परेको छ ।

कसरी गरिन्छ पहिचान ?

“अमेरिकी कानुनले तालिबानलाई आतङ्ककारी संस्था मान्छ र हामीले उनीहरूलाई हाम्रो सेवा प्रयोग गर्न प्रतिबन्ध लगाएका छौं । यसको अर्थ उनीहरू वा उनीहरूका लागि बनाइएका अकाउन्टहरू बन्द गर्ने, र उनीहरूको प्रशंसा, समर्थन वा प्रतिनिधित्व गर्ने सामग्री हटाउने हो,“ फेसबुकका एक प्रवक्ताले बीबीसीलाई भन्नुभयो ।

“हामीसँग पाश्तो र दारी मातृभाषा भएका र अफगानिस्तानको स्थानीय विषय बुझेका विज्ञहरूको एउटा समूह छ जसले त्यस्ता कुराहरूको पहिचान गरेर हामीलाई सचेत गराउँछन्,“ उहाँले भन्नुभयो ।

फेसबुकले यो नीति इन्स्टाग्राम र ह्वाट्सएपमा पनि लागु हुने बताएको छ । तर तालिबानले सन्देश आदानप्रदानका लागि ह्वाट्सएप प्रयोग गरिरहेको विवरणहरू आएका छन ।

फेसबुकले बीबीसीलाई ह्याट्सएपमा तालिबानसँग सम्बन्धित अकाउन्ट जानकारीमा हटाउने बताएको छ ।

अरू सञ्जालले के गर्लान ?

अन्य सामाजिक सञ्जालहरू पनि तालिबानसम्बन्धी सामग्रीको बारेमा निर्णय गर्न दबावमा परेको बताइएको छ । तालिबानका प्रवक्ताले ट्विटरमार्फत् समूहको गतिविधि जानकारी गराउँदै आएका छन् ।

बीबीसीको प्रश्नमा ट्विटरका एक प्रवक्ताले हिंसात्मक संस्था र घृणायुक्त व्यवहारलाई नसहने नियम रहेको बताउनुभयो ।

नियममा ट्विटरले आतङ्कवाद र नागरिक विरुद्ध हिंसा प्रवर्धन गर्ने सामग्री राख्न अनुमति दिँदैन । यूट्यूबले भने तालिबानसम्बन्धी सामाग्रीको बारेमा बीबीसीको प्रश्नको उत्तर दिएको छैन ।

बीबीसी नेपालीबाट

Next Post

त्रिभुवन विश्वविद्यालय अन्र्तगतका २५ वटा क्याम्पसको सम्बन्धन खारेज

२०७८ भाद्र १, मंगलवार १५:५७
संवाददाता । त्रिभुवन विश्वविद्यालयले २५ वटा क्याम्पसको सम्बन्धन खारेज गरेको छ । त्रिवि अन्तर्गत २५ वटा क्याम्पसहरुको सम्बन्धन खारेज भएको त्रिवि योजना निर्देशनालयले जनाएको छ । यसअघि त्रिवि अन्तर्गत एक हजार ८५ क्याम्पस थिए । त्रिवि योजना निर्देशनालयका शाखा अधिकृत रामकृष्ण खत्रीका अनुसार १० वटा क्याम्पस सुदूरपश्चिम विश्वविद्यालय र १५ […]

सम्बन्धित शीर्षक