खोप खरिदका लागि एडिबीले १९ अर्ब ५८ करोड ऋण दिने

  ।   २०७८ श्रावण २८, बिहीबार ०६:४८

काठमाडौं । कोभिड- १९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडिबी) बीच रु १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ।

अर्थमन्त्रालयमा सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका देशीय निर्देशक आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । यो सहुलियत ऋण सहायताले एक करोड ५९ लाख डोज कोभिडविरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्नेछ । यसबाट ६८ लाख जनसङ्ख्या लाभान्वित हुनेछन्।

कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एशियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

खोप कार्यक्रम सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउँदै उहाँले यसमा एशियाली विकास बैंकको ऋण सहायताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

एडिबीका देशीय निर्देशक कुस्वाले यो सम्झौता कोभिड- १९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनःस्थापनातर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोभिड- १९ सङ्क्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बैंकले पुर्‍याइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने बताउनुभयो ।

यसबाहेक एशियाली विकास बैंकबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलााई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढावा दिँदै कोभिड- १९ विरुद्ध जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ।

Next Post

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन सर्न सक्ने

२०७८ श्रावण २८, बिहीबार ०६:४८
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ । १४ औं महाधिवेशन केन्द्रित बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी छ। १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएकोले आज केन्द्रीय समिति बैठकमा यसबारे छलफल गरी निर्णय हुने सम्भावना छ । यसअघि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निवास […]

सम्बन्धित समाचार