संवाददाता ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने कुनै निर्णय नभएको जनाएको छ । बोर्डका सदस्यसचिव दुर्गा अर्यालले बोर्ड परीक्षाको तयारीमा निरन्तर लागिरहेको बताउनुभयो ।
उहाँले परीक्षा हुन अझै दुई हप्ता बाँकी रहेकाले सङ्क्रमणका कारण जोखिम बढेर अप्ठ्यारै अवस्था आए अलग कुरा नभए परीक्षा नसर्ने बताउनुभयो । यसबारे अहिले नै निर्णय गर्न नसकिने बताउँदै सदस्य सचिव अर्यालले तत्काल परीक्षा अर्को विधिबाट सञ्चालन गर्ने भन्ने विषयमा पनि छलफल भइनसकेको बताउनुभयो ।
परीक्षाको कार्यक्रम स्थगित गर्ने कि नगर्ने ? भन्ने विषयमा मन्त्रालयबाट कुनै जानकारी नआएको उहाँले बताउनुभयो । अर्यालले विद्यार्थीलाई अन्यौलता नपरी परीक्षाको तयारीमा जुट्न आग्रह गर्नुभयो ।
बोर्डले परीक्षा स्थगित भएको भन्नेबारे भ्रममा नपर्न पनि आग्रह गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा कोभिड संक्रमण बढ्दै गएको अवस्थामा स्थगित हुनसक्ने अभिव्यक्ति दिनुभएपछि परीक्षा पूर्व प्रकाशित तालिका बमोजिम हुने नहुने अन्योल भएको थियो ।
कक्षा १२ को परीक्षा यही साउन ३१ गते देखि भदौ ९ सम्म हुदैछ भने ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदै छन् ।
रेडियो नेपालबाट