राप्तिसोनारीमा बाघ आतंक

  ।   २०८० आश्विन ९, मंगलवार १८:२९

बाँके । बाँके राष्ट्रिय निकुञ्जको नजिकै रहेका बाँकेको राप्तीसोनारी गाउँपालिकाका केही वस्तीमा केहीदिनदेखि पाटेबाघले आतङ्क मच्चाएको छ ।

स्थानीय मीन सेजुवालका अनुसार पाटेबाघले राप्तीसोनारी –२ मदुईका स्थानीय वासिन्दाका घरपालुवा पशुमाथि दैनिकजसो आक्रमण गरी मारेर खाइदिने तथा घाइते बनाएर छाड्ने गरेको छ ।

सेजुवालका अनुसार असोज ४ गते दिउँसो जङ्गलमा बस्तुभाउ चराउन लगेका बेला गोठालाको नजिकैबाट मदुईका जीतबहादरु थारुको एउटा भेडा, ५ गते चंखुराम थारुको एउटा बोका लगेर खाइदिएको थियो । पाटेबाघले असोज ६ गते स्थानीय दिलबहादुर थारुको गाई, ७ गते ठगुवा थारुको भैंसी र ८ गते चंखुराम थारुकै एउटा भैंसीलाई चराउन लगेका बेला आक्रमण गरी घाइते बनाएको छ ।

त्यसैगरी ८ गते नै राति अन्दाजी साढे १० बजेको समयमा धनीराम थारुको गोठमै पसी एउटा गोरुको रगत पिएर सख्त घाइते बनाएको सेजुवालले जानकारी दिनुभयो । बाघले गोरुलाई आक्रमण गरेको थाहा पाएपछि स्थानीय मिलेर बाघ भगाउन हल्ला गर्दा स्थानीयलाई नै बाघले आक्रमण गर्न खोजेको उहाँले जानकारी दिनुभयो ।

दैनिकजसो पाटेबाघले घरपालुवा पशुमाथि आक्रमण गरी घाइते बनाएपछि स्थानीय त्रसित बनेका छन् । पशुचौपायामाथि आक्रमण गर्दैआएको बाघले मानिसमाथि पनि आक्रमण गर्ने होकि भनेर स्थानीय त्रसित छन् । बाँके राष्ट्रिय निकुञ्ज नजिकै भएका कारण निकुञ्जभित्रकै बाघ हुनसक्ने स्थानीयले बताएका छन् ।

स्थानीयले पाटेबाघबाट आफ्नो जीउधन तथा पशुचौपायाको सुरक्षा माग गर्दै समशेरगञ्ज सवडिभिजन वन कार्यालयलाई जानकारी गराएको मीन सेजुवालले बताउनुभयो ।

राप्तीसोनारी –२ मदुईमा पर्ने अशोक सामुदायिक वन उपभोक्ता समुह र मधु सामुदाकि वन उपभोक्ता समुहबीचमा रहेको खयरघारीमा बाघ लुकेर बस्नेगरेको र स्थानीयका घरपालुवा जनावरलाई आक्रमण गर्नेगरेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार उक्त जङ्गल मानव वस्तीबाट ५० मीटर मात्र दूरीमा छ ।

राप्तीसोनारी गाउँपालिका २ कार्यालयले मङ्गलवार एक सूचना जारी गर्दै वडाको मदुवा टोल र मदुई टोलको बीचमा विगत केही दिनदेखि पाटेबाघ देखिंदैआएको र स्थानीयले पालेका घरपालुवा जनावरलाई आक्रमण गरी घाइते बनाएकाले जङ्गल छेउँछाउँमा घरगोठ भएका स्थानीय बासिन्दालाई बाघको आक्रमणबाट सावधानी अपनाउन आग्रह गरेको छ ।

त्यसैगरी वडा कार्यालयले पाटेबाघको आक्रमणबाट घाइते बनेका पशुचौपायाको उपचारका लागि कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वार्डेन श्यामकुमार शाह र राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलबीच छलफल भई तत्काल आवश्यक पहलकदमी लिइ समस्याको समाधान गर्ने निर्णय भएको राप्तीसोनारी गाउँपालिका प्रवक्ता मिनराज खड्काले जानकारी दिनुभयो ।

वार्डेन शाहले भन्नुभयो, “अहिले निकुञ्जको टोली उक्त स्थानमा गएको छ, पाटेबाघले होकि चितुवाले आक्रमण गरेको हो भन्ने बारेमा पछि खुल्छ ।” (गोरखापत्र)

Next Post

राप्ती सोनारी र नरैनापुरको विद्युत बिस्तारले छिटै पूर्णता पाउँछ: मन्त्री बस्नेत

२०८० आश्विन ९, मंगलवार १८:२९
बाँके । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं उर्जा  मन्त्री शक्ति बहादुर बस्नेतले राप्ती सोनारी र नरैनापुर क्षेत्रका हरेका टोल टोलमा विद्युतलाई बिस्तार गरिने बताउनु भएको छ । माओवादी केन्द्रको तीन महिने अभियान अन्तरगत मंगलबार बाँकेको राप्तीसोनारी र नरैनापुर पालिकामा आयोजित बिभिन्न कार्यक्रममा सहभागी मन्त्री बस्नेतले मेनलाइन बिस्तार भई सकेको भएपनि […]