दोषीमाथि कारबाही र पीडित पक्षलाई राहत माग गर्दै दार्चुलाका जनप्रतिनिधिले भेटे गृहमन्त्रीलाई

  ।   २०७८ श्रावण १७, आईतवार ०७:३९

काठमाडौं । दार्चुलाका जनप्रतिनिधि र विभिन्न पार्टी सम्मिलित प्रतिनिधिमण्डलले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन्।

दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ राप्लाको मालघाटमा तुइन तर्ने क्रममा शुक्रबार भएको घटनाबारे उनीहरूले गृहमन्त्री खाणको ध्यानाकर्षण गराएका छन्।

स्थानीय जयसिंह धामीको तुइन तर्दै गरेको अवस्थामा भारतीय सीमा सुरक्षा बल एसएसबीले डोरी काटिदिएको भन्दै दार्चुलाका जनप्रतिनिधिले गृहमन्त्री खाणलाई भेटेर दोषीमाथि कारबाही र पीडित पक्षलाई राहतको व्यवस्था गरिदिन माग गरेका छन्।

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु, कांग्रेस दार्चुला सभापति ललित सिंह बोहरा र विभिन्न पार्टीका नेतालगायतले शनिबार गृहमन्त्री खाणलाई भेटेका थिए।

‘घटनालाई गम्भीरताका साथ लिएर दोषीमाथि कारबाही गर्न/गराउन र जयसिंह धामीका परिवारलाई आवश्यक राहत उपलब्ध गराउन भारत सरकारसँग कुटनीतिक तहमा तत्काल पहल गर्न गृहमन्त्रीमार्फत् सरकारको ध्यानाकर्षण गरिएको छ,’ गृहमन्त्री खाणलाई भेटेपछि बडुले भन्नुभयो ।

सीमा क्षेत्रमा हुने अमानवीय घटनाले दुई देश बीचको सामाजिक, सांस्कृतिक र छिमेकीको सम्बन्धमा समेत चिसोपना ल्याउने गरेकोले यस्ता घटना अब हुन नदिन भारत सरकारसँग गम्भीरताका साथ कूटनीतिक माध्यमबाट कुराकानी गर्नुपर्ने उनीहरूको भनाइ छ।

‘यस्ता घटना नदोहोरिन तथा आवागमनलाई सहज र सुरक्षित बनाउनका लागि भारत समेतको सहमतिमा तोकिएका वैधानिक नाकाहरूमा झोलुङ्गे पुल निर्माणका लागि ठेक्का भइसकेका स्थानहरु व्याँस गाउँपालिकाका मालघाट, मलघट्या, बडुगाउँ र मालिकार्जुन गाउँपालिकाको बाँकूमा सरकारले पुल निर्माणलाई प्राथमिकतामा राखेर काम सम्पन्न गर्न माग गरिएको छ,’ बडुले भन्नुभयो ।

प्रतिनिधि मण्डलको टोलीलाई गृहमन्त्री खाणले यो घटनालाई सरकारले अत्यन्तै गम्भीरतापूर्वक लिएको बताउनु भएको थियो । घटनाबारे सत्यतथ्य छानबिन भइरहेको उहाँको भनाइ छ।

‘घटनाबारे अध्ययन गरी सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरी काम भइरहेको छ,’ गृहमन्त्री खाणले भन्नुभयो । यस घटनाको सत्यतथ्य पत्ता लागेपछि पीडित पक्षलाई राहतलगायत व्यवस्था सरकारले मिलाउने पनि उहाँले बताउनुभयो ।

साथै पुल निर्माण कार्यलाई सरकारले प्राथमिकतामा राख्ने पनि उहाँको भनाइ छ। -सेतोपाटी

Next Post

परीक्षाअघि विद्यार्थीलाई कोरोना खोप लगाउन नेविसंघको माग

२०७८ श्रावण १७, आईतवार ०७:३९
काठमाडौं । नेपाल विद्यार्थी संघले कोरोना जोखिमकै बीच भौतिक रूपमा उपस्थित गराएर परीक्षा सञ्चालन हुन लागेकोले विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाउन माग गरेको छ। विद्यालय तथा विश्वविद्यालयहरूले करिब तीन महिनादेखि रोकिएका परीक्षा सञ्चालन गर्नका लागि तालिका नै प्रकाशित गरिसकेका छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका परीक्षाहरू र कक्षा १२ को परीक्षा सञ्चालनका लागि तालिका […]