
काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपाली पौडीबाज गौरिका सिंहले औसत प्रदर्शन गर्नुभएको छ ।
टोकियो एक्वेटिक सेन्टरमा बुधबार भएको १ सय मिटर फ्रिस्टाइलमा सिंहले निर्धारित दूरी १ मिनेट ११ मिलिसेकेन्डमा पूरा गर्नुभएको हो । उहाँ ४ खेलाडी सम्मिलित हिटमा तेस्रो हुनुभएको हो । योसंगै सिंहको ओलम्पिक यात्रा हिट चरणमा नै सकिएको छ ।
यसअघि उहाँले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने क्रममा ५८.१३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान राख्नुभएको थियो ।
यसअघि मंगलबार पौडीकै एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १ सय मिटर फ्रीस्टाइलमा आफ्नो हिट जित्ने क्रममा राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो ।
एलेक्सले निर्धारित दुरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गर्नुभएको हो । उहाँले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गर्नुभएको हो । एलेक्सले अर्को चरणमा भने स्थान बनाउन सक्नुभएन ।



