झलनाथ खनालको उपचार खर्च व्यहोर्ने निर्णय वर्तमान मन्त्रिपरिषदबाट नभएको स्पष्ट

  ।   २०७८ श्रावण ६, बुधबार १५:०३

संवाददाता ।
सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च व्यहोर्ने निर्णय वर्तमान मन्त्रिपरिषदबाट नभएको स्पष्ट पारेको छ ।

नेकपा एमालेका वरिष्ठ नेता समेत रहनुभएका खनालको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय केपी ओली नेतृत्वको अघिल्लो सरकारले नै गरेको र त्यसबारे कुनै थप निर्णय नभएको सरकारका एक मन्त्रीले बताउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासबाट दिल्लीमा उपचचारत नेता खनाललाई फोन गर्नुभएको थियो ।

टेलिफोनमा खनालले अघिल्लै सरकारले निर्णय गरेको सुनेको तर दूतावासबाट पैसा नपाएको गुनासो गरेपछि देउवाले ढुक्क भएर उपचार गराउन भन्दै उपचार खर्च सरकारले व्यहोर्ने बताएको जनाइएको छ ।

यसबारे कांग्रेस नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले मापदण्ड र नीतिविपरीत उपचार खर्च नबाँड्न आग्रह गर्नुभएको छ । देउवानिकट मन्त्रीले भने गर्दै नगरेको कामका लागि देउवाको आलोचना भएको बताएका छन् ।

‘झलनाथ खनालको उपचार खर्च व्यहोर्ने निर्णय अघिल्लो सरकारको हो । त्यही निर्णय अनुसार भारतस्थित दूतावासबाट उपचार खर्च निकासा गर्ने भनिएको रहेछ । प्रधानमन्त्रीसँग फोन हुँदा झलनाथजीले नै सरकारले दिने भनेको रकम निकासा नभएको बताएपछि प्रधानमन्त्रीले म बुझेर मिलाउँछु भन्नुभएको रहेछ’, मन्त्रीले भन्नुभयो ।

एमाले नेतृत्वको सरकारले एमालेकै नेतालाई उपचार खर्च उपलब्ध गराउन गरेको निर्णय तत्कालै फिर्ता लिन मानवीय दृष्टिले पनि उपयुक्त नभएको वर्तमान सरकारका मन्त्रीको दावी छ ।

नेपाल प्रेसबाट

Next Post

कोभिड-१९ विरुद्धको भेरोसेल खोप गाउँमा पुगेपछि खोप लगाउनेको भीड

२०७८ श्रावण ६, बुधबार १५:०३
संवाददाता, नेपालगंज। कोभिड–१९ विरुद्धको खोप अभियान कार्यक्रम अहिले देशका विभिन्न भागमा चलिरहेको छ । कोभिशिल्ड खोप अभियानको तुलनामा अहिले भेरोसेल नामक खोप लगाउनेहरुको संख्या बढी देखिएको छ । पहिले खोपबारेमा केही भ्रमहरु देखिन्थे । तर अहिले ति भ्रमबारे आमसर्वसाधारण सबैले बुझ्दै गएपछि कोभिड विरुद्धको खोप लगाउन धेरै इच्छुक देखिएका हुन […]

सम्बन्धित शीर्षक