मेरो बदनाम गराउन मुद्दा दायर गरियो : उपप्रमुख कमरुद्दिन राई

  ।   २०७९ चैत्र ३, शुक्रबार १२:३०

संवाददाता, नेपालगंज

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका नगरउपप्रमुख कमरुद्दिन राईले आफ्नो बदनाम गराउन पूर्व मन्त्री सर्वदेवप्रसाद ओझाले सर्वोच्च अदालतमा मुद्धा दायर गरेको बताउनुभएको छ ।

उहाँले बुधवार पत्रकारमाझ यस्तो दाबी गर्नुभएको हो । मनीषा एग्री कन्सर्नका संचालक ओझाले २०६२ सालमा देवानसिंह चौधरी, अर्जुन उपे्रती, आसिफ रियाज खान र कमरुद्धिन राई विरुद्ध बाँके जिल्ला अदालतमा ठगी तथा कागजात किर्ते मुद्धा दायर गर्नुभएको थियो ।

उक्त मुद्धामा प्रतिवादी सबैलाई बाँके जिल्ला अदालतले सफाई दिएको थियो । त्यसपछि उहाँ पुनरावेदनका लागि नेपालगन्जस्थित तत्कालिन पुनरावेदन अदालत जानुभयो ।

उक्त मुद्धामा पनि प्रतिवादीहरुले सफाई पाएको उपप्रमुख राईले स्पष्ट पार्नुभयोे । जिल्ला र पुनरावेदन अदालतले सफाई दिएपछि अन्तिम सुनुवाईका लागि ओझा सर्वोच्च अदालत पुग्नुभयो । अहिले उक्त मुद्धा विचाराधिन छ ।

‘सर्वोच्च अदालतमा मुद्धा चलिरहेकै बेला ओझाजीले अर्को मुद्धा दर्ता गराएको भन्ने सामाजिक संजालबाट थाहा पाएँ,’ उहाँले भन्नुभयोे, ‘अहिलेसम्म मलाई आधिकारिक पत्र वा जानकारी आएको छैन । आधिकारिक पत्र आए प्रहरी र अदालतमा हाजिर हुन तयार छु । म लुकेर बस्दैन । सम्मानित अदालतको फैसलालाई शिरोधार्य गरि अगाडी बढ्ने छु ।’

उहाँले २०६२ सालमा भएको घटनालाई लिएर अहिले उजुरी दिनु अशोभनिय भएको बताउनुभयो ।

कानून बन्नुअघिको घटनालाई १० वर्ष पछि बनेको कानूनमा टेकेर मुद्धा दायर गर्न नमिल्ने बताउँदै उहाँले यसको खुलेर प्रतिवाद गर्ने स्पष्ट पार्नुभयोे । ‘उहाँ (ओझाजी) ले चुनावमा पनि मलाई हराउन ठूलो प्रयास गर्नुभयो, तर सक्नु भएन । अब मुद्धा हालेर मेरो बदनाम गर्न खोज्दै हुनुहुन्छ,’ उपप्रमुख राईले भन्नुभयोे, ‘बदनियतपूर्ण ढंगले हालिएको मुद्धामा उहाँ सफल हुनुहुन्न भन्नेमा म ढुक्क छु । दुईटा सम्मानित अदालतले सफाई दिइसके छ । सर्वोच्चले पनि सफाई दिनेमा दुई मत छैन ।’

उहाँले आफूले अहिलेसम्म कुनै सरकारी कार्यालयमा झुठा कागजात तथा बयान नदिएको जिकिर गर्नुभयोे । उहाँले ठगी र कागजात किर्ते मुद्धामा चार जना विरुद्ध मुद्धा दायर भए पनि सार्वजनिक न्याय विरुद्धको कसुरमा आफू विरुद्ध मात्र मुद्दा दायर भएको बताउनुभयो ।

‘सार्वजनिक न्याय विरुद्धको कसुरमा पनि चार जना विरुद्ध मुद्दा दायर हुनु पथ्र्यो, तर ओझाजीले म विरुद्ध मात्र उजुरी दिएको सुनेको छु । यो सत्य हो भने उहाँको नियतमाथि खोट छ भन्ने स्पष्ट हुनेछ,’ राईले भन्नुभयो । मनीषा एग्री कन्सर्न नेपालगन्जको तर्फबाट ओझाले ठगी कसुरमा मुद्दा हाल्नुभएको थियो ।

मनीषा एग्री कन्सर्न र भारतमा रहेको मनीषा एग्री बायो टेक कम्पनी प्रा.लि. हैदराबाद बिच भएको सम्झौता अनुसार आयात हुने सामग्रीको भन्सार क्लीरिङ्गको जिम्मेवारी पाउनुभएका कमरुद्दिन विरुद्ध ठगीको मुद्दा परेको हो ।

२०६२ सालदेखि २०६९ सालसम्म कमरुद्दिनले भन्सार एजेन्टको रूपमा काम गर्ने क्रममा भन्सार, क्वारिन्टिन र अदालत समेतलाई भ्रममा पारेको आरोप ओझाले लगाउनुभएको छ । उहाँले अनुसन्धानको क्रममा कमरुद्दिन राईको नागरिकता र अन्य कागजातमा बाबुको नाम फरक भएको उल्लेख छ ।

नागरिकतामा बाबुको नाम गोवरे कवडिया छ भने भारतबाट पैठारी गर्ने मनिषा एग्री बायो टेक कम्पनी प्रा.लि.को कागजातमा अकबर अलि उल्लेख भएको दावी ओझाले गर्नुभएको छ । तर, उपप्रमुख कमरुद्दिन राईले आफूले बाबुको नाम र ठेगाना फरक नराखेको दावी गर्दै आउनुभएको छ ।

 

Next Post

आगामी बर्ष २४ वटा सार्वजनिक बिदाका दिनमा सार्वजनिक सेवा बन्द नहुने

२०७९ चैत्र ३, शुक्रबार १२:३०
संवाददाता । सरकारले आगामी वर्ष २०८० मा सार्वजनिक बिदा दिइएको विभिन्न २४ वटा बिदाका दिनमा पनि सकारी सेवा दिने निर्णय गरेको छ । २०८० मा शनिबारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा दिइएको छ । यस वर्ष ‘जनयुद्ध दिवस’ मा पनि सार्वजनिक बिदा दिएर आलोचना खेपेको […]