संवाददाता ।
आसन्न टोकियो ओलम्पिकको उद्दघाटनमा हुने मार्च पासमा पौडीबाज गौरिका सिंहले नेपालको झण्डा बोक्ने हुनुुभएको छ । ओलम्पिक कमिटि एनओसीले उद्दघाटन कार्यक्रममा नेपालका तर्फबाट गौरिकाले झण्डा बोक्ने निर्णय गरेको हो ।
रियो ओलम्पिकमा सबै भन्दा कम उमेरकी ओलम्पियन बन्नुभएकी गौरिकाको यो दोस्रो सहभागीता हो । यस पटक नेपालबाट ५ खेलाडीले ४ खेलमा प्रतिस्पर्धा गर्नेछन् । यसका लागि ५ खेलाडी सहित २६ जनाको टोली जापान जाने भएको छ ।
पौडीको टोली भने यसअघि नै जापान गएर अभ्यास गरिरहेको छ । सहभागी सबैले जापान पुगेपछि एक सातासम्म हरेक दिन पिसिआर परिक्षण गर्नुपर्नेछ । टोकियो पुगेपछि तीन दिन क्वारेन्टिन बस्नु पर्ने एनओसीले जनाएको छ ।
प्रतियोगिताका लागि नेपालले २०१९ देखी तयारी थालेको थियो । जसमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले प्रदान गरेको ओलम्पिक छात्रवृत्तिमा ७ खेलका १२ खेलाडीको सहभागिता थियो ।
यसबाट पौडीका गौरिका सिंह र एलेक्जान्डर शाह, सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट तथा एथलेटिक्सकी सरस्वति चौधरी सहभागी हुँदैहुनुहुन्छ । गौरिकाले महिला एक सय मिटर फ्रि स्टाइल र एलेन्जान्डरले पुरुष एक सय मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नुहुनेछ ।
कल्पनाले महिला दश मिटर एयर राइफल, सोनियाले महिलातर्फ ४८ केजी तौल समुह र सरस्वतिले महिला एक सय मिटर दौडमा सहभागिता जनाउनुहुनेछ ।
पौडीका दुई र एथलेटिक्सबाट एक गरी तीन खेलाडीले युनिभर्सल कोटाबाट खेल्न लागेका हुन भने बाँकी दुई खेलाडीले वाइल्ड कार्ड मार्फत् अवसर पाएका हुन् । नेपालको ओलम्पिकमा यो १४ औं सहभागीता हो । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुनेछ ।