घर रसाउने–चुहिने कारण के हो, कसरी गर्ने समाधान ?

  ।   २०७८ असार ३०, बुधबार १४:२७

  • समिक्षा अधिकारी, काठमाडौं

हरेक वर्ष बर्खा लागेपछि अधिकांश घरमा समस्या आइपर्छ । ढल थुनिनु, शौचालय जाम हुनु, लेउ जम्नु, पानी ट्यांकी फोहोर हुनु सामान्य समस्या हुन् । यी सामान्य सम्भारले समाधान गर्न सकिन्छ । भित्ता रसाउने, ओसिलो हुने, छत चुहिने समस्याले भने सोचेभन्दा धेरै दुःख दिन सक्छ । सजिलो गरी भन्दा यी समस्या घरका रोग हुन् । सानो छँदै समाधान खोजिएन भने यसले पूरै घरलाई क्षति पु¥याउँछ ।

बर्खा सुरू भएपछि घरमा देखिने समस्या र समाधानका उपायबारे हामीले मर्मत–सम्भार तथा निर्माण परामर्श कम्पनी ’स्किल सेवा– घरको डाक्टर’ का सञ्चालक तथा इञ्जिनियर रमेश तिमल्सिनासँग कुराकानी गरेका छौं ।

उहाँँका अनुसार नेपालका अधिकांश घर रसाउने, ओसिलो हुने, चुहिने समस्या (सिपेज) हुन्छ । कतिपयले बेलैमा थाहा पाउँछन् भने कतिलाई समस्याको कारणै थाहा हुँदैन । सिपेजले भित्तामा दाग पर्ने, रङ फुलाउने, विस्तारै पत्रपत्र उप्काउने जस्ता समस्या ल्याउँछ । यी सुरूआती लक्षण हुन । समस्या बढ्दै जाँदा निरन्तर पानीका थोपा झर्न थाल्छ । यस्तो ठाउँ फोहोर देखिन्छ नै, सफा गर्न उत्तिकै मुश्किल हुन्छ ।

’ढुसी र किटाणुले कोठा प्रदूषित पनि पार्छ,’ तिमल्सिनाले भन्नुभयो ।

सिपेज समाधानबारे चर्चा गर्नुअघि यसको कारण जान्नुपर्ने हुन्छ । समस्याको जरो पत्ता लगाउन सक्यौं भने समाधान खोज्न सकिन्छ र फेरि–फेरि निर्माणको काम गर्दा सजग हुन सक्छौं ।

सिपेजको मुख्य कारक पाइपलाइनलाई मानिन्छ । घरमा आउने सफा पानीदेखि घरबाट निस्किने फोहोर पानी सबै पाइपलाइन हुँदै जान्छ । यस्तो पाइप लगाउँदा हुने सानो गल्तीले घरमा ठूलो समस्या निम्त्याउने इञ्जिनियर तिमल्सिना बताउँनुहुन्छ । उहाँका अनुसार पाइपसँगै जोडिएर आउने पानी ट्यांकी चुहावट सिपेजको अर्को समस्या हो ।

’अन्डरग्राउन्ड पानी ट्यांकी बनाउने बेला लापर्बाही गरे चर्किन्छ र पानी रसाउँछ । यसले सिधै घरको जग वा भुइँतलाको भित्तामा असर देखाउँछ,’ उहाँले भन्नुभयो ।

त्यस्तै कम गुणस्तरीय पाइप राख्दा फिटिङ राम्ररी हुँदैन । फिटिङ राम्रो नभएपछि माथिल्लो तलाका भित्तामा समेत पानी रसाउने र चुहिने समस्या सिर्जना हुन्छ । घर बनेको जग्गामुनि प्रशस्त पानी भएको अवस्थामा पनि ओस लाग्ने, प्लास्टर र रङ उक्किन्छ । तिमल्सिनाले भन्नुभयोे, ’गहिरो जग्गा, पहिले पोखरी भएको स्थान, तराइमा डुबान परेका ठाउँमा यस्तो समस्या देखिन्छ ।’

यस्तै अर्को मुख्य कारण हो, छत निर्माणमा हुने लापर्बाही । छत बनाउँदा लेबलिङ वा फिनिसिङ राम्रो नभए कुनै भागमा पानी जम्न सक्छ । त्यसले उपयुक्त ढलान हुनमा असर गर्छ । ढलानपछि राम्रोसँग पानी राखिएन भने पनि विस्तारै चिरा पर्दै पानी चुहिने समस्या आउने इञ्जिनियर तिमल्सिनाले बताउनुभयो । यसबाहेक हामी बिना जानकारी जथाभावी पाइपलाइन वा ढलानसम्म मर्मत गर्न पनि तम्सिन्छौं । यस्तो बेला सानो कुरा मिलेन भने सिपेज समस्या आउन सक्छ । अनि सँगै जोडिएको घरमा भएको सिपेज समस्या अर्को घरमा सर्न पनि सक्छ ।

समयमै समाधान नगरे पानी पस्ने, फोहोर देखिने मात्र नभइ बिजुली लाइनमा पानी पसेर दुर्घटना समेत हुनसक्ने इञ्जिनियर तिमल्सिना बताउँनुहुन्छ । त्यस्तै पानीकै कारण ढलान वा पिलरमा भएका फलामे छडमा खिया लाग्ने र ढलान नै फुटाउने सम्भावना रहन्छ ।

’पानी परेपछि फलामको मोटाइ दुई गुणासम्म बढ्छ । जसले छत वा भित्ता चर्काउने वा फुटाउने समस्या ल्याउँछ,’ उहाँले भन्नुभयोे, ’बिजुली आपूर्ति विन्दुसम्म पुग्यो भने करेन्ट लाग्ने, सट हुने हुन्छ ।’

रङ उक्किनु, खुइलिनु, काठका झ्यालढोका र अन्य फर्निचरमा ढुसी लाग्नु पनि सिपेजले निम्त्याउने समस्या हुन । यो सबैको समाधान गर्दा खर्च बढ्ने त भइहाल्यो ।

सिपेज देखिने स्थान र समाधान :

सहरी क्षेत्रमा घरहरू एकआपसमा जोडिएका हुन्छन् । जोडिएको भागमा दुवै पक्षले प्लास्टर गरेका हुँदैनन् । साना–साना छिद्रहरू परेका हुन्छन्। यसमा बर्खाको पानी पस्नाले घरको भित्रैसम्म आइ समस्या बढाइदिन्छ ।

इञ्जिनियर तिमल्सिनाका अनुसार जोडेर बनाइएका घरमा चुहावट देखिए माथिल्लो भागमा प्लास्टर गरेर सिमेन्टको घोल हाल्ने चलन छ । तर यो बिल्कुलै गलत अभ्यास हो । घामपानीले सिमेन्टको घोल हालेको ठाउँमा मसिनो चिरा पारिदिन्छ र फेरि सिपेज हुन्छ । समस्या समाधान हुँदैन । उल्टै खर्च बढाउँछ । उसो भए के गर्ने ?

’दुवै घरको एक फिट चौडाइसम्म फुटाएर सतह राम्रोसँग सफा गर्नुपर्छ,’ उहाँले भन्नुभयोे, ’त्यसपछि इँटासम्म पुग्नेगरी प्लास्टर गरेर सिपेज नियन्त्रणमा लिन सकिन्छ । कुनै पनि ढलानमा सिमेन्ट घोल मात्रै हालेर छाड्नु हुँदैन ।’

त्यस्तै टायल लगाउँदा हुने सानो लापर्बाहीले सिपेज निम्त्याउन सक्छ । धेरैलाई टायलको जोडाइमा खाली ठाउँ राखे पानी पस्ने भ्रम हुन्छ ।

’टायल राखेपछि त्यसलाई फैलिने थोरै ठाउँ चाहिन्छ । ठाउँ खाली नराखी कसिलो सेट गर्दा चर्किने–फुट्ने सम्भावना धेरै हुन्छ । अनि त्यसमा हुने स–साना छिद्रबाट झन् सजिलै पानी पस्छ । विस्तारै सिलिङ, भित्तामा ओस देखा पर्छ,’ उहाँले भन्नुभयो ।

त्यसैले टायल लगाउँदा ’स्पेसर’ प्रयोग गर्नु उपयुक्त हुन्छ । यसबाट टायल एकै तहमा छ÷छैन थाहा हुन्छ । पछि टायल फैलिने ठाउँ पनि रहन्छ ।

टायल लगाइसकिएको भए काटेर सफा गर्नुपर्ने तिमल्सिना बताउँनुहुन्छ । आफैं समस्या पहिचान गर्न नसके प्राविधिकसँग सुझाव लिनुपर्ने बताउँदै उहाँले थप्नुभयो, ’प्राविधिक कुरा सबैलाई ज्ञान हुन्छ भन्ने छैन । समस्या सानो हुँदै चासो दिए ठूलो क्षतिबाट बच्न सकिन्छ ।’

सेतोपाटी डटकमबाट

Next Post

कार्टुन

२०७८ असार ३०, बुधबार १४:२७
    थाहा खबरबाट