समाचारदाता
नेपालगन्ज । बाँके युनेस्को क्लबद्धारा बाल विवाह मुक्त वडा हामी सबैको प्रतिबद्धता भन्ने मुल नाराका साथ बर्दियाको बढैयाताल गाउँपालिकामा घरदैलो हस्ताक्षर अभियान सुरु गरिएको छ ।
प्लान इन्टरनेश्नल नेपालको सहयोगमा नागरिक समाज संजाल बढैयाताल र बाँके युनेस्को क्लवको साझेदारीमा सो अभियान शुरु गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उक्त अभियानको शुरुवात वडा नं. ३ मा वडा अध्यक्ष दुर्गा प्रसाद पराजुलि र वडा नंं का वडा सदस्य दिलमाया सुनारले हस्ताक्षर गरेर सुरुवात गर्नु भएको थियो । लगभग १३ हजार घरधुरी रहेको बढ्रैयाताल गाउँपालिकामा बाल विवाह रोकथामको लागि पालिका, वडा, समुदाय तथा विद्यालयहरुमा विभिन्न चेतनामुलक कार्यक्रम संचालन भइरहेको क्लबले जनाएको छ ।
बढैयाताललाई बाल विवाह मुक्त पालिका बनाउनका लागि पहिलो चरणमा सबै घरमुलीलाई वाल विवाह नगर्ने हस्ताक्षर गराएर प्रतिवद्धता गराउने तथा समुदाय स्तरमा जनचेतना वृद्धि गर्न विभिन्न जानकारी गराउने कार्य गरिने वडा नं. ३ मा वडा अध्यक्ष दुर्गा प्रसाद पराजुलिले बताउनुभयो ।
यस अभियानमा नागरिक संजाल र वडाको सहकार्यमा ४५ जना युवा भोलियन्टियरहरु खटाइएको छ । ती युवाहरुले सबै घरमा पुगेर वाल विवाह नगर्ने प्रतिवद्धतासहितको हस्ताक्षर गराउने छन् ।