एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिता सिजन १ को विजेता स्टार सिटी क्लब धनगढी र इन्सेटमा उप–विजेता धम्बोझी स्पोटर्स् क्लब । फोटो : गुड न्यूज साप्ताहिक
संवाददाता, नेपालगन्ज ।
एन्फा प्रेसिडेन्ट लिग फुटबलको अन्तिम दिन आइतबार नेपालगन्ज रंगशालामा स्टार सिटी क्लब कैलाली र त्रिवेणी युवा क्लब लमजुङबीच खेल चलिरहेको थियो । पहिलो हाफसम्म कुनै पनि टिमले गोल गर्न सकेका थिएनन् ।
प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल आफूसँगै बस्नुभएका धनगढी उपमहानगरपालिका नगरप्रमुुख नृपबहादुर वडसँग जिस्कँदै हुनुहुन्थ्यो, ‘मेयर साब हरेक गोलमा पुरस्कार घोषणा गर्नुस् । खेलाडी उत्साही भएर गोलको वर्षा गर्नेछन् ।’
नगर प्रमुख वड भने केवल मुस्कुराइ रहनुभएको थियो । यो खेल धनगढीका लागि जित्नुु र हार्नुसँग कुनै सरोकार नै थिएन । उसका लागि अविजित यात्राको निरन्तरताका लागि केवल प्रतिष्ठाको विषय मात्र थियो ।
लिगका ६ वटा खेलमा ५ वटामा विजयी र एउटामा बराबरी खेलेका स्टार सिटीले अन्तिम खेल बाँकी रहँदै सर्वाधिक १३ अंक ल्याएर च्याम्पियन बनिसकेको थियो । खेलमा अरु टिमले जित्दा पनि १२ अंक मात्र पुग्ने थियो ।
त्रिवेणीले जित्दा तेस्रो स्थानमै चित्त बुझाउनु पर्ने अवस्था थियो । ६ खेलमध्ये ४ मा विजेता बनेको १२ अंक ल्याएर धम्बोझी स्पोट्र्स क्लब पनि प्रतियोगिता समापन नहुँदै उप–विजेता बनिसकेको थियो ।
त्रिवेणीले जित्दा १२ अंक ल्याए पनि गोलका आधारमा धम्बोझीलाई जित्न सक्ने अवस्था नै थिएन । अन्तत : स्टार सिटीले त्रिवेणीलाई ३–२ को अन्तरमा पराजित ग¥यो । १६ अंक ल्याएर स्टार सिटी शीर्ष स्थानमा पुग्योे ।
त्रिवेणी र प्रदेश २ को मनकामना युवा क्लबको ९÷९ अंक भयो । हेड टु हेडका आधारमा प्रतियोगिताको दोस्रो कमजोर टिम मानिएको मनकामना तेस्रो स्थानमा आयो । हारसँगै चौथो भएर पनि राष्ट्रिय लिग छनोटमा त्रिवेणी परेको छ ।
राज्यको सबैभन्दा धेरै लगानी भएको संघीय राजधानी रहेको बागमति प्रदेशको टिम त राष्ट्रिय लिगको छनोटबाट पनि बञ्चित भयो । प्रतियोगितामा पश्चिमले विजेता र उपविजेता बनेर उपाधि जिते ।
एन्फा प्रेसिडेन्ट लिग २०७७ को विजेता बनेको स्टार सिटीले १० लाख रुपैंया र उपविजेता धम्बोझी क्लबले ५ लाख रुपैयाँ नगद जितेका छन् ।
विकास निर्माणका दृष्टिले सधैं पछाडि परेको भनिएको सुदूरपश्चिमले खेलकुदलाई आफूलाई अब्बल साबित गरिदियो । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रतियोगिता समापन समारोहमा पश्चिम नेपालको प्रशंशा गर्दै भन्नुभयो, ‘केन्द्रीकृत फुटबललाई विकेन्द्रीकरण गरेर मोफसलको टिमलाई राष्ट्रिय लिगमा समावेश गर्न हामीले पहिलो पटक आयोजना गरेको गरेको यो प्रतियोगितामा पश्चिमका टिमले जितेर हाम्रो लक्ष्य र उद्देश्यलाई सही साबित गरिदिएका छन्् । असली रुपमा राष्ट्रिय लिगमा अब मोफसलको प्रतिनिधित्व हुनेछ ।
सुदूूरपश्चिमका प्रशिक्षक ललित चन्दले राष्ट्रिय लिगमा कम्तीमा टप–४ मा पर्ने गरी खेलिने बताउनुभयो । ‘हामीले त सुपर ४ मा पर्न सक्ने तयारीका साथ आएका थियौं । उपविजेता टिमभन्दा ४ अंकले च्याम्पियन भएका छौं’, प्रशिक्षक चन्दले भन्नुभयोे, ‘हामीसँग राम्रो क्षमतावान खेलाडी छन् ।
स्पोन्सर पायौं र खेलाडीमा लगानी गर्न सकेमा राम्रो नतिजा ल्याउन सक्नेछन् ।’ उपविजेता धम्बोझीका प्रशिक्षक रविन्द्र श्रेष्ठले राष्ट्रिय लिगमा अझ राम्रो प्रदर्शन गर्ने गरी तयारी गरिने बताउनुभयो । उहाँले पनि त्यसका लागि राम्रो प्रशिक्षण र खेलाडीमा लगानीको खाँचो औैंल्याउनुभयो ।
ग्रासरुट (जिल्ला), प्रदेश हुँदै राष्ट्रिय लिगमा मोफसलका टिमलाई समावेश गर्न एन्फाले पहिलो पटक यो प्रतियोगिता आयोजना गरेको हो । लिग चरणबाट छनोट भएका टप–४ टिमले शहिद स्मारक ए डिभिजन लिगमा सहभागी हुने अवसर पाउनेछन् ।
यी टिमले ६ वटा ए डिभिजनका टिमसँग प्रतिष्पर्धा गर्नेेछन् । जिल्ला स्तरको प्रतियोगितामा आफ्नो टिमको खेलाडी मात्र समावेश गरिएको प्रतियोगितामा प्रदेश छनोटमा बी डिभिजनका खेलाडीलाई समावेश गर्न छुट दिएको थियो ।
७ वटा प्रदेशबीचको प्रतिष्पर्धामा भने ए डिभिजनका खेलाडीलाई पनि समावेश गरियो । अब राष्ट्रिय लिगमा भने विदेशी खेलाडीले पनि क्लबबाट प्रतिष्पर्धा गर्न पाउनेछन् ।
प्रतियोगिताका
सर्वोत्कृष्ट खेलाडी : रुपबहादुर लामा (स्टार सिटी)
फेयर प्ले : मनकामना युवा क्लब रौतहट
बेस्ट डिफेन्स : धनराज थापा (स्टार सिटी)
बेस्ट फरवार्ड : निशान लिम्बु (धम्बोझी क्लब)
वेस्ट गोलकिपर : टेकेन्द्र सिंह थापा (स्टार सिटी)
बेस्ट कोच : ललित चन्द (स्टार सिटी)
गुडन्युज साप्ताहिक पत्रिकाबाट…