हिमपातमा हराएका आठ भेडा गोठालाको खोजी तीव्र

जिल्ला प्रहरी कार्यालय जुम्लाद्वारा खोज तथा उद्धार टोली परिचालन

  ।   २०८३ आश्विन १०, शनिबार २२:५९

सबिता चन्द

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय जुम्लाले तातोपानी गाउँपालिका–४ स्थित गिरी गुम क्षेत्रमा भेडा चराउन गएका आठ जना गोठाला हिमपातका कारण सम्पर्कविहीन भएको जनाएको छ ।

प्रहरीका अनुसार असोज ८ गते दिउँसो करिब ४ बजेदेखि परेको वर्षा र हिमपातका कारण गोठालासँग सम्पर्क टुटेको सूचना असोज १० गते दिउँसो २:४५ बजे प्राप्त भएको हो । सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जुम्ला र कर्णाली प्रदेश विपद् व्यवस्थापन गुल्म जुम्लाको संयुक्त टोली तत्काल खोज तथा उद्धारमा परिचालन गरिएको छ ।

खोज तथा उद्धार कार्यमा नेपाल प्रहरीका सात जना, सशस्त्र प्रहरीका दुई जना तथा स्थानीय तीन जनासहितको टोली घटनास्थालतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

सम्पर्कविहीन हुनेमा चन्दननाथ नगरपालिका–८ धुपीढुंगाका ५२ वर्षीय कर्ण धराला, ३६ वर्षीय विष्ट धराला, ३४ वर्षीय दान रोकाया, ६० वर्षीय लालु रावल, ५२ वर्षीय सुर रावल, ३३ वर्षीय हरिचन्द्र रावल, श्रीढुस्काका ३५ वर्षीय चन्द्रबहादुर रावल तथा ४१ वर्षीय लोक रावल रहेका छन् ।

प्रहरीले प्रतिकूल मौसमका बीच खोज तथा उद्धार कार्यलाई प्राथमिकताका साथ निरन्तर अगाडि बढाइएको जनाएको छ । घटनाबारे थप विवरण प्राप्त हुनेक्रम जारी रहेको र नयाँ जानकारी आएपछि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभएको छ ।

सम्बन्धित शीर्षक