प्रेम विश्वकर्मा, नेपालगंज ।
नेपालगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैष्यलाई महामुर्खको अध्यक्ष बनाईएको छ । आज नेपालगंजमा आयोजित होली बिशेष कार्यक्रमको समारोहमा उहाँलाई जुत्ता–चप्पलको माला लगाउदै महामुर्खको अध्यक्ष बनाईएको हो ।
अध्यक्ष बैष्यले गुडन्युज खबर डटकम सँग कुराकानी गर्नुहुदै भन्नुभयो, ‘यो हाम्रो परम्परा हो, महामुर्ख बनाईएपछि ठुलो पदमा पुग्ने जनविश्वास छ । ५ बर्षपछि यसपालि मलाई सबैले महामुर्खको अध्यक्ष बनाउनुभयो । होलीकै दिनमा महामुर्खको बनाउने प्रचलन छ ।’
नन्दलाल वैष्य बाँकेको नेपालगंजका रैथाने कपडा ब्यवासायि पनि हुनुहुन्छ । बैष्य समाजको राम्रो अगुवा भनेर चिनिने नन्दलाल वैष्य अहिले रामगोपाल स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएको छ ।
यसैबीच फागुन शुक्ल पूर्णिमाका दिन हिन्दु समुदायले मनाउने फागु पूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा मनाईदै छ । हिजो हिमाली एवं पहाडी जिल्लामा मनाईएको थियो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ, अबिरले खेली मनाउने प्राचीन परम्परा छ ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । यता बाँकेले प्रहरी कसैको इच्छा विपरित होलि खेलेमा कानून बमोजिम कारबाही गर्ने जनाएको छ । चारैतिर सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
कोभिड–१९ को जोखिम बढ्न सक्ने संम्भावना रहेकाले यसपालिको होली पर्वलाई आफनो घर भित्र नै सिमित बनाउन प्रहरीले अनुरोध पनि गरेको छ ।
साथै मदिरा (रक्सी) खाई होहल्ला नगर्न, चर्को आवाजमा साउण्ड सिस्टम बजाउने, स्वास्थ्य सुरक्षा सावधानीका उपायहरु नअपनाई भेटघाट, जमघट नगर्न पनि भनिएको छ ।
तर प्रहरी प्रशासनको आदेशलाई उल्लघंन गर्दै केही ठाउँमा होली खेलिएका दृष्यहरु पनि फेसबुक लगायतका विभिन्न सामाजिक सञ्जालहरुबाट बाहिरी रहेका छन ।
- फोटो : जयपति ढकालको सहयोगमा…