पार्टीमा सल्लाह नगरी राजनीतिक नियुक्ति गरिएको भन्दै प्रचण्डको आपत्ति

  ।   २०७७ भाद्र ४, बिहीबार १९:४३

काठमाडौं । पार्टीमा देखिएका विवाद समाधान गर्न कार्यदलले काम गरिरहेको बेलामा राजनितिक नियुक्ति गरिएको भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाउनु भएको छ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रचण्डले विरोध जनाउनु भएको हो।

यसअघि मंगलबार पनि प्रचण्डले प्रधानमन्त्री ओलीसँग राजनीतिक नियुक्तिलाई लिएर असहमति जनाउनु भएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी पौडेललाई नियुक्त गरेको थियो। भण्डारीलाई कार्यवाहक अध्यक्षका रूपमा काम नगर्न सर्वोच्च अदालतले आदेश दिइसकेको छ।

पार्टीको विवाद समाधानका लागि कार्यदलले काम गरिरहेको अवस्थामा कार्यदलको कामलाई प्रभावित गर्ने गरी भएका नियुक्ति खारेज गर्नसमेत प्रचण्डले प्रधानमन्त्रीलाई सुझाउनु भएको थियो ।

राजनीतिक नियुक्तिबारे वरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचण्डलाई भेटेर असहमति जनाउनु भएको थियो ।

नेकपाले विवाद समाधानका लागि १ साताअघि बिष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो। सेतोपाटी

Next Post

राष्ट्रपतिद्वारा स्वास्थ्यसम्बन्धी नियमको पालना गरेर तीज मनाउन आग्रह

२०७७ भाद्र ४, बिहीबार १९:४३
नेपालगन्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले तीजका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति र […]