नेपालगन्जबाटै जरायो बाँके राष्ट्रिय निकुञ्जमा पठाइयो

  ।   २०८० मंसिर १०, आईतवार १४:३६

बाँके । नेपालगन्ज बजारबाट वन्यजन्तु जरायोलाई नियन्त्रणमा लिई बाँके राष्ट्रिय निकुञ्ज पठाइएको छ ।

नेपालगन्ज उपमहानगरपालिका १८ स्थित बस्तीबाट जङ्गली जनावर जरायोलाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको नेपालगन्ज सब डिभिजन वन कार्यालय राँझाका सहायक डिभिजन वन अधिकृत नारायण पार्धेले जानकारी दिनुभयो ।

शनिबार बिहान कुकुरले लखेट्दै ल्याएर खेतको खाडलमा खसेर अड्किएको अवस्थामा जरायो पाइएको पार्धेले बताउनुभयो । बर्दिया राष्ट्रिय निकुञ्जको डार्टिङ् टोलीलाई बोलाएर धेरै लामो प्रयासपछि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

“शनिबार बिहान ५ बजेको समयतिर कुकुरले लखेट्दै ल्याउँदा सो जरायो नेपालगन्ज १८ स्थित भाटभटेनी सुपर मार्केटको पूर्वपट्टिको खेतमा रहेको खाडलमा खसेको रहेछ, खाडलबाट भाग्न सकेन । स्थानीयले खबर गरेपछि वनको प्राविधिकसहितको टोली त्यहाँ पुग्यौं, नियन्त्रणमा लिन प्रयास गर्‍यौं सकिएन ।,” उहाँले भन्नुभयो, “त्यसपछि अग्लो जाल लगाएर छेक्यौं र बर्दिया राष्ट्रिय निकुञ्जको डार्टिङ टोलीलाई खबर गर्‍यौं ।”

बर्दिया राष्ट्रिय निकुञ्जको डार्टिङ टोली आइसकेपछि खाडलमै रहेको अवस्थामा ‘डार्ट’ प्रयोग गरेको र ‘डार्ट’ गरिसकेपछि जरायोले अग्लो बनाएर छेकेको जालसमेत उफ्रेर नाघेर सडकतिर भागेको उहाँले बताउनुभयो । पार्धेका अनुसार भागेको जरायोलाई लखेट्दै जाँदा अत्तालिएर एक स्थानीयको घरको कोलियाभित्र पसेपछि त्यहाँबाट नियन्त्रणमा लिइएको हो । ‘डार्ट’ प्रयोग गरेको करिब दुई घण्टापछि मात्र नियन्त्रणमा लिन सकिएको उहाँले बताउनुभयो ।

करिब १५० किलोको भाले जातिको उक्त जरायो कसैले घरमा पालेको हुनसक्ने पार्धेले बताउनुभयो । “कसैले घरमा पालेको जरायो हुनसक्छ, हेर्दा घरमा पालेको जस्तो देखिन्थ्यो, घरबाट फुस्केर बाहिर निस्केपछि कुकुरले लखेट्दै ल्याउँदा खाडलमा खस्यो ।,” उहाँले भन्नुभयो, “करिब १ सय ५० किलोको सो जरायो भाले जातिको हो ।”

‘डार्ट’ प्रयोग गरी नियन्त्रणमा लिइएको उक्त जरायोलाई शनिबार नै राप्तीसोनारी ८, ओभरीस्थित बाँके राष्ट्रिय निकुञ्जमा बुझाइएको सहायक वन डिभिजन अधिकृत पार्धेले जानकारी दिनुभयो ।

Next Post

अखाद्य वस्तुमाथी निगरानी गर्न सुरु

२०८० मंसिर १०, आईतवार १४:३६
नेपालगन्ज। अखाद्य बस्तुमाथि निगरानी बढाइएको छ । लेवलिङ नगरिएका र म्याद गुज्रेका अखाद्य बस्तुको विक्री वितरण भइरहेको गुनासो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले निगरानी बढाएको हो । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख एवम् अनुगमन समिति संयोजक कमरुद्दिन राईको नेतृत्वमा आज बजार अनुगमन गरिएको छ । नगरका विभिन्न ५ वटा डेरी उद्योग/पसलहरुमा अनुगमन गरिएको अनुगमन […]