सुगौली सन्धिको २०५ वर्ष : नेपालको भूगोल र स्वाभिमान खुम्च्याउने सन्धिको सक्कल प्रति नै छैन

  ।   २०७७ फाल्गुन २०, बिहीबार ०७:१३

सुगौली सन्धिको २०५ वर्ष : नेपालको भूगोल र स्वाभिमान खुम्च्याउने सन्धिको सक्कल प्रति नै छैन

काठमाडौं । नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारबीच सुगौली सन्धि भएको आज ठ्याक्कै दुई सय पाँच वर्ष पुगेको छ । नेपाललाई मेची र कालीबीच सीमित गर्ने यो संवेदनशील सन्धिको सक्कल प्रति नै नेपालसँग छैन ।

सुगौली सन्धिका आधारमा नेपालले ४० हजार वर्गकिलोमिटर (करिब एकतिहाइ) भूभाग गुमाएको छ । तर, बचेको भूभागमा पनि स्पष्ट सीमांकन नहुँदा नेपाल र भारतबीच सीमा समस्या तरल अवस्थामा छ । एकीकरण गर्दैै फैलिएको गोर्खाली सैनिक र भारतमा उपनिवेश बलियो बनाउँदै लगेको ब्रिटिस सैनिक आमनेसामने भएपछि सुगौली सन्धिको पृष्ठभूमि बनेको थियो । खासगरी गोर्खा राज्य विस्तार रोक्न सन् १८१४ नोभेम्बर १ मा बेलायतले नेपालविरुद्ध एकतर्फी युद्ध घोषणा गरेको थियो । सीमाविद् श्रेष्ठ भन्छन्, ‘खासगरी बुटवलको पालिही, स्युराज, माझखण्ड, खजहनीमा भारतले दाबी गर्यो । ती भूभाग लखनउको नबाबको भएकाले भारतको पर्छ भन्ने अंग्रेजको दाबी थियो । नेपालको भनाइ त्यो पाल्पाको सेन राजाको हो, सेन राज्य नेपालमा गाभिएपछि त्यो भूभाग स्वतः नेपालको हो भन्ने यताको तर्क थियो । यसैलाई लिएर अंग्रेजले सन् १८१४ मा युद्ध सुरु गर्यो ।’

दुई वर्ष चलेको युद्धपछि अंग्रेजले २ डिसेम्बर १८१५ मा शान्ति तथा मैत्री सन्धिको मस्यौदा पठाएको हो । ‘१५ दिनभित्र सन्धि अनुमोदन गरेर पठाउन भनिएको थियो, तर नेपालले मानेन । काठमाडौंमा भएका तत्कालीन भाइभारदारको बैठकमा मान्नुपर्छ र मान्नुपर्दैन भन्ने दुवै मत रह्यो । अन्योलबीच केही समय नेपालले हस्ताक्षर गरेन,’ श्रेष्ठ भन्छन्, ‘तर, अंग्रेजले अब काठमाडौं र पूरै नेपाल नै कब्जा गर्ने प्रचारबाजी गरेपछि बाध्य भएर नेपालले सन्धिमा हस्ताक्षर गरेको हो, राज्यको प्रतिनिधित्व सुगौली पुगेका चन्द्रशेखर उपाध्याय र गजराज मिश्रले सन्धिमा हस्ताक्षर गरेका हुन् ।’

हाल मकवानपुरको हेटौँडा नगरपालिका– ९ मा रहेको सुगौली भन्ने ठाउँमा सुगौली सन्धिमा नेपालले हस्ताक्षर भएको श्रेष्ठको दाबी छ । ‘भारतको रक्सौलभन्दा उतातिरको सुगौली भन्ने पनि छ, तर मेरो अध्ययनमा मकवानपुरको सुगौलीमा हस्ताक्षर भएको हो । यो सन्धिले नेपालको एकतिहाइ भूभाग गुम्यो, दुई खण्ड बच्यो । सन्धिबाट अंग्रेजलाई फाइदैफाइदा, नेपाललाई घाटैघाटा भयो,’ उनी भन्छन् ।

बेलायतले १८१५ डिसेम्बर २ मा पठाएको सन्धिमा नेपालले ९३औँ दिनमा सन् १८१६ मार्च ४ मा हस्ताक्षर गरेको थियो । सन्धिमा बेलायतका तर्फबाट २ डिसेम्बरमा कर्नेल पेरिस ब्राडसाले हस्ताक्षर गरेका थिए भने नेपाल सरकारका तर्फबाट राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले हस्ताक्षर गरेका थिए । सन्धिमा जम्मा नौवटा धारा छन्, अधिकांश धारा नेपालका लागि अपमानजनक छन् । सन्धिसँगै नेपालले पूर्वमा मेचीदेखि टिस्टासम्म र पश्चिममा महाकालीदेखि सतलजसम्मको जमिन गुमाएको थियो । त्यस्तै, बुटवलबाहेक कोसीदेखि महाकालीसम्मको सम्पूर्ण तराई पनि नेपालले गुमाएको थियो । सन्धिअनुसार पूर्वमा पनि कोसीदेखि मेचीसम्मको तराई नेपालको थियो ।

तर, सन्धिमा हस्ताक्षर भएको नौ महिनापछि नेपालले कोसीदेखि राप्तीसम्म तराईका भूभाग फिर्ता पाएको थियो । ‘अंग्रेजले सुगौली सन्धिबापत नेपालका असन्तुष्ट भाइभारदारका नाममा वार्षिक दुई लाख रुपैयाँ दिने भनेको थियो, त्यो कहिल्यै आएन । तर, सुगौली सन्धि भएको नौ महिनापछि ११ डिसेम्बर १८१६ मा अंग्रेजले राप्तीदेखि कोसीसम्मको भूभाग नेपाललाई फिर्ता दियो । मेरो अध्ययनमा अंग्रेजले दुई लाख रुपैयाँको दिनुभन्दा राप्तीदेखि कोसीसम्मको जमिन दिनु फाइदा ठाने,’ सीमाविद् श्रेष्ठ भन्छन् । नयाँ पत्रिका

Next Post

आइतबारदेखि सुरु हुने खोप अभियान २० दिनसम्म चल्ने

२०७७ फाल्गुन २०, बिहीबार ०७:१३
काठमाण्डाै | आउँदो आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान २० दिनसम्म सञ्चालन हुने भएको छ । पहिलो १० दिनमा ६५ वर्षभन्दा माथिका र त्यसपछिका १० दिनमा ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख डोज ‘कोभिशिल्ड’ […]