संवाददाता ।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
टोलीमा उदय चलाउने ‘दीपक’ सदस्य रहनुभएको पार्टी द्धारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
सरकारले विप्लव नेतृत्वको पार्टीसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा (बादल) को नेतृत्वमा वार्ता टोली गठन गरेको सार्वजनिक भएकै दिन भूमिगत पार्टीका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गरेर आफूहरुको तर्फबाट पनि वार्ता टोली बनेको जानकारी दिनुभएको हो ।
सरकारले बनाएको वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहनुभएको छ । सञ्चारमन्त्री पार्वत गुरुङले विप्लव माथिको प्रतिबन्ध पनि चाँडै फुकुवा हुने बताउनुभएको छ ।
विप्लव नेतृत्वको पार्टी हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै २८ फागुन २०७५ मा सरकारले प्रतिबन्ध लगाएको थियो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फुट आएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग वार्ताको प्रयास थाल्नुभएको थियो ।
यसअघि पनि सरकारले सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा भूमिगत समूहहरुसँग वार्ता गर्ने भन्दै समिति बनाएको थियो । तर, विप्लवसँग स्पष्ट संवाद हुन सकेको थिएन ।
जारी प्रेस बिज्ञप्ती…
अनलाइन खबरबाट